कमला अर्याल /काठमाडौँ – कोरोना भाइरस ‘कोभिड – १९’ का कारण मानिसको क्रय शक्तिमा ह्रास आएका कारण सुन कारोबारमा मन्दी आएको छ ।
मानिसहरुले सुन किन्नै छाडेपछि नबिकेका कारण कोरोनापछि खुलेको सुन बजारको कारोबारमा मन्दी आएको हो । कोरोना भाइरसका कारण गत चैत ११ गतेदेखि सरकारले पटक पटक लकडाउन तथा निषेधाज्ञा गरेको थियो ।
त्यस समयमा विभिन्न उद्योग, व्यवसाय,पर्यटन क्षेत्र, सुन बजार लगायत सम्पूर्ण क्षेत्रको कारोबार पूर्ण रुपमा ठप्प भएको थियो । काम ठप्प भएपछि कयौँ मानिसहरुको रोजगारी गुम्यो भने कयौँ कामदारको तलब तथा सुविधा कटौती भयो । जसका कारण अधिकांश मानिहरुको क्रय क्षमतामा ह्रास आयो । क्रय क्षमतामा ह्रास आएपछि मानिसहरु अत्यावश्यक बाहेकका कुनै पनि सामानहरु खरिद गर्न छाडे ।
सुन विलासीताको वस्तुमा पर्छ । बाँच्नका लागि सुन अनिवार्य नभए पनि आफ्नो पहिचान र आर्थिक अवस्था दर्शाउन मानिसले सुनको प्रयोग गर्ने गरेको देखिन्छ । तर एकातिर कोरोनाको असर र अर्कोतर्फ उच्च रुपमा मुल्य बढ्नुले सुनको कारोबारमा निकै मन्दी आएको सुन व्यवसायीहरुको भनाई छ ।
‘कोरोनाले सुन बजारमा निकै मन्दी आएको छ ।’सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले भने । पुसमा लगन नहुने भएकाले लगन तथा चाडवाडका समयको तुलनामा सुन कम विक्री हुने गर्छ । तर यसपाली भने कोरोना र मूल्य वृद्धिका कारण सुन विक्रीमा झनै कमी आएको छ । कोरोना अघि चाडवाड र लगनका बेला बाहेक दैनिक ३५ केजीको हाराहारीमा सुन विक्री हुन्थ्यो । लगन तथा चाडवाडका बेला ६० केजीको हाराहारीमा दैनिक सुन बिक्री हुन्थ्यो । तर अहिले १० केजीको हाराहारीमा पनि मुस्किलले विक्री हुने गरेको छ ।
सामान्यता साउन ,भदौ, कार्तिक,पुस र चैतमा विवाहको लगन हुँदैन जुन बेला सुनको कारोबार पनि कम हुन्छ । तर यसपाली भने माघ र फागुनमा पनि विवाहका लगन नभएकाले सुन बजारमा अझै मन्दी आउने व्यवसायीहरुको आँकलन छ ।
अहिले कोरोनाको उपचार पनि राम्रोसँग नभइरहेको अवस्थामा नयाँ कोरोना भाइरसको हल्लाले सुन कारोबारमा अझै गिरावट आउने देखिन्छ । कोरोनाका बेला अन्य क्षेत्रमा लगानीको संभावना कम भएका कारण लगानीकर्ताहरु सुनमा आकर्षित भएकाले सुनको मुल्य उच्च रुपले बढेको थियो । सुन महँगो भएसँगै कारोबारमा गिरावट आएको छ ।
अब के हुन्छ ? सुन बजार
कोरोना भाइरस कहिले सकिन्छ भन्ने यकिन छैन । एक पछि अर्को महामारी रोग फैलिरहेका कारण विश्व अर्थतन्त्रमा कसरी र कहिले सुधार आउँछ भन्ने एकिन छैन । जबसम्म आम मानिसको क्रय शक्तिमा सुधार आउँदैन,तबसम्म सुन बजारमा पनि सुधार आउने संकेत देखिँदैन । त्यसकारण सुन बजारको भविष्य पनि अन्योलपूर्ण भएको व्यवसायी बताउँछन् ।
यस्तो छ, सुनको पछिल्लो भाउ
बिहिबार सुनको मुल्यमा तोलाको १०० रुपैयाँ घटेको थियो । बिहीबार तोलाको ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार तोलामा १ सय रुपैयाँ बढेको थियो । बिहीबार चाँदीको मुल्य पनि घटेको छ । तोलामा ५ रुपैयाँ घटेर तोलाको १३ सय रुपैयाँमा कारोबार भएको थियो । साताको अन्तिम दिन आज/सन् २०२१ को पहिलो दिन जनवरी १ तारिखका दिन सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बृद्धि भएको छ । आज सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया