काठमाडौं – सहरी विकास राज्यमन्त्री एवम् सत्तारुढ नेकपाका केन्द्रीय सदस्य रामवीर मानन्धरले केही नेताको सिमित स्वार्थका कारण नेकपा विभाजनको मुखमा पुगेको बताएका छन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्वर – ७ स्तरिय कार्यकर्ता भेलामा मन्त्री मानन्धरले केही नेताको स्वार्थका कारण पार्टी फुटको मुखमा पुगेको बताउँदै अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले चार महिना कुर्ने धैर्यता कायम गर्न नसक्दा पार्टीमा समस्या पैदा भएको दाबी गरे ।
पार्टीका प्रथम अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महाधिवेशनपछि नेतृत्वमा दाबी नगर्ने बताएको अवस्थामा दुई शीर्ष नेताले धैर्यता कायम गर्न नसक्दा पार्टी दुर्घटनाको मुखमा पुगेको नेता मानन्धरको मत छ ।
प्रचण्ड र नेपाल चार महिना कुर्न नसक्ने अवस्थामा किन पुग्नुभयो भन्दै मन्त्री मानन्धरले चैत्रमा हुने भनिएको महाधिवेशनमा उहाँहरुले नेतृत्व नपाउने देखेपछि पार्टी फुटाउन खोजेको आरोप समेत लगाए । चैत्रमा महाधिवेशन भए युवा पुस्तामा नेतृत्व पुग्ने अवस्था आएकाले पुसमै पार्टी फुटाउन खोजिएको मन्त्री मानन्धरको दाबी छ ।
कार्यकर्तालाई विश्वास दिलाउन सकेको भए अबको चार महिनापछि उहाँहरुकै नेतृत्वमा सिंगो नेकपा अघि बढ्ने अवस्था आउने भन्दै मन्त्री मानन्धरले तर शीर्ष नेताहरुले ध्रैयता गुमाउँदा समस्या आएको बताए ।
नेकपा अध्यक्ष ओलीले पार्टी नेतृत्व युवा पुस्ताले गर्दा उपयुक्त हुने धारणा राखेपछि नेपाल र प्रचण्डमा छटपटी शुरु भएको भन्दै नेता मानन्धरले भने, ठूला नेताहरुको चित्त सानो भएका कारण पार्टी र सरकारमाथि प्रहार भएको मानन्धरको तर्क छ ।
अझै पनि ताजा जनादेशमा जाने सरकारको घोषणा स्विकार गर्दै आएमा पार्टी एक ढिक्का हुने भन्दै मन्त्री मानन्धरले प्रचण्डले स्थायी कमिटीमा पेश गरेको आरोप पत्र भने फिर्ता हुनुपर्ने बताए ।
पार्टी कार्यकर्ता एकताको पक्षमा रहेको बताउँदै मन्त्री मानन्धरले अलग गतिविधि गर्न थाले आगामी चुनावमा जनताले माधव नेपाल र प्रचण्डलाई मतमार्फत् कारबाही गर्ने बताए ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा समृद्धी हासिल गर्ने जनताको चाहनालाई नेकपाका केही नेताले अवरोध सिर्जना गर्न खोजेपछि बाध्यात्मक रुपमा संसद विघटन गर्नुपरेको बताउँदै मन्त्री मानन्धरले जनताले प्रधानमन्त्रीको बाध्यता राम्रोसँग बुझेको दाबी गरे । आफ्नाबाटै निरन्तर असहयोग भएपछि सरकारले सोचे अनुसार काम गर्न नपाएको बताउँदै मन्त्री मानन्धरले नयाँ जनादेशमार्फत् प्रधानमन्त्री ओलीले समृद्ध नेपाल निर्माणको नेतृत्व गर्ने दाबी गरे ।
अध्यक्ष ओली नेतृत्वको वर्तमान सरकारले मुलुक र जनताको दीर्घकालीन हितमा काम अगाडि बढाएका बेला मुलुकमा अस्थिरता सृजना गर्ने प्रयत्न भएको भन्दै मन्त्री मानन्धरले अस्थिरताको खेती गर्न चाहनेलाई जनताले ठेगान लगाइदिने चेतावनी दिए । मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा पार्टी भित्रबाटै व्यवधानहरूको सामना गर्दै सरकार अघी बढीरहेको बताउँदै मन्त्री मानन्धरले चुनावबाट समेत भाग्न खोज्नेहरुलाई जनताले चिन्ने बताए ।
मन्त्री मानन्धरले आगामी दिन थप चुनौतीपुर्ण भएको बताउँदै सुझबुझपुर्ण ढंगले सरकारका राम्रा काम जनताको बीचमा लैजान पनि कार्यकर्तालाई निर्देशन दिए ।
कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य एवं खानेपानी मन्त्री मणि थापाले प्रचण्ड र माधवनेपालमा बिचलन देखिएको बताए ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा मुलुक समृद्धितर्फ अघि बढेका बेला पार्टी भित्रबाटै बेइमानी शुरु भएको बताउँदै एक भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन समेत दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया