कमला अर्याल /काठमाडौँ – बैंकिङ क्षेत्रको रोजगारी सबैभन्दा आकर्षक रोजगारीका रुपमा मानिन्छ ।
यो क्षेत्र आकर्षक भएकैले रोजगारीका लागि निकै प्रतिस्पर्धा समेत हुने गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने माथिललो देखि तल्लो तहका कर्मचारीको तलब सुविधा निकै आकर्षक रहेको हुन्छ ।
त्यसैले बैंकिङ क्षेत्रमा जागिर खान हर कोही लालायित हुन्छन् । अझ बैंकका प्रमुख कार्यकारी अधिकृत सिईओ को तलब सुविधा त झनै आकर्षक रहेको छ ।
नबिल बैंक :
गत वर्षसम्म नम्बर वानको ताज पहिरिएको नबिल बैंकमा अहिले सिईओको रुपमा अनिल शाह रहेका छन् । उनले गत वर्ष १ करोड ६२ लाख ३४ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।
अघिल्लो वर्ष शाहलाई १ करोड ९८ लाख १४ हजार रुपैयाँ भुक्तानी गरिएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष शाहको तलब सुविधा ३६ लाख रुपैयाँले घटेको छ ।
बैंकले यहि पुस २९ गते साधारणसभा बोलाएको छ । साधारणसभामा प्रस्तुत गर्न लागिएको वार्षिक प्रतिवेदनमा शाहको तलब सुविधा घटेको देखिएको हो । त्यस्तै,सो वार्षिक प्रतिवेदन अनुसार नबिलको सञ्चालक समिति खर्च पनि घटेको देखिएको छ । गत वर्ष संचालक समिति खर्च ५४ लाख ७६ हजार रुपैयाँ भएको थियो । अघिल्लो वर्ष यस्तो खर्च ७० लाख खर्च भएको थियो । नबिलले यसपाली आफ्ना सेयरधनीलाई साढे ३३ प्रतिशत बोनस सेयर दिने भएको छ । त्यस्तै, बैंकले कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरेको छ । त्यस्तै,बैंकले यसपाली पूँजी वृद्धिलाई पनि प्राथमिकतामा राखेको छ । पुष २९ गते हुन लागेको साधारणसभामा बैंकले पूँजी वृद्धिको योजना पनि लैजाँदैछ ।
नबिलले एनसीसी बैंक मर्ज गर्न प्रारम्भीक छलफल पनि थालेको चर्चा छ । हाल बैंकको चुँक्ता पूँजी १० अर्ब ९ करोड रुपैयाँ छ । अब पूँजी सवा तीन अर्ब रुपैयाँभन्दा बढीले बढ्ने छ । त्यसपछि बैंकको पूँजी १३ अर्ब नाघ्नेछ । बैंकको जगेडा कोषमा १६ अर्ब ८७ करोड रुपैयाँ छ ।
नेपाल बंगलादेश बैंक :
नेपाल बंगलादेश (एनबी) बैंकमा अहिले सिईओको रुपमा ज्ञानेन्द्रप्रसाद ढुंगाना छन् । उनले एक वर्षमा १ करोड ४१ लाख रुपैयाँ तलब सुविधा बुझेका छन् । अघिल्लो वर्षको तुलनामा उनको तलब सुविधामा कुनै हेरफेर भएको छैन । उनले पाएको तलब सुविधामा सञ्चय कोष तथा औषधि उपचारका साथै नाफाबाट पाउने बोनस, उपदान, वार्षिक तथा बीमा बिदा पाउने आर्थिक सुविधा लगायत समावेश भएको छैन ।
त्यस्तै,बैंकले प्रबन्धक तहका कर्मचारीलाई पनि तलब ४ करोड ७० लाख ९४ हजार रुपैयाँ उपलब्ध गराएको छ ।
त्यस्तै, भत्ता बापत ९ करोड १५ लाख रुपैयाँ उपलब्ध गराएको छ । बैंकको कुल कर्मचारी खर्च १ अर्ब २ करोड ४४ लाख रुपैयाँ रहेको छ ।
बैंकले यहि पुस २६ गते वार्षिक साधारणसभामा डाकेको छ । बैंकले गत वर्षको नाफाबाट २.४२ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयरको प्रस्तावलाई पनि अनुमोदन गर्ने जनाएको छ । बैंकले गत वर्ष ४४ करोड ९१ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो । चालू वर्षको पहिलो त्रैमासमा बैंकले यस्तो नाफा ५ करोड ८९ लाख रुपैयाँ कमाएको छ ।
माछापुच्छ्रे बैंक :
गत आर्थिक वर्ष माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृतले तलब भत्ता तथा अन्य सुविधाबापत २ करोड २३ लाख रुपैयाँ प्राप्त गरेका छन् । यो तलब सुविधा तत्कालिन सिईओ सुमन शर्मा तथा २०७७ वैशाख १ गतेदेखि नयाँ सिईओका रुपमा आएका सन्तोष कोइरालाले प्राप्त गरेको बैंकले जनाएको छ ।
तत्कालीन प्रमुख कार्यकारी अधिकृत शर्माले फागुन ३० गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए ।
बैंकले बैंक वैसाख १ गतेदेखि कोइरालालाई सिइओको रुपमा जम्मेवारी दिएको थियो । सिईओको सो तलब सुविधामा बोनस ऐनअनुसार प्राप्त गर्ने रकमलाई जोडिएको छैन । त्यस्तै, बैंकका अनुसार नायब महाप्रबन्धक तथा प्रबन्धकहरूले गत वर्ष १० करोड ७८ लाख रुपैयाँ परिश्रमिक भत्ता प्राप्त गरेका छन् । गत आर्थिक वर्षमा बैंकको कुल कर्मचारी खर्च १ अर्ब ५० करोड रुपैयाँ भएको छ । बैंकले यहि पुस २ गते पोखरामा २२ औँ वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट ३.३७ प्रतिशत नगद लाभांश र ७.०३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव साधारणसभा मार्फत पारित गरेको छ ।
एभरेष्ट बैंक :
एभरेष्ट बैंकले आफ्ना कर्मचारीलाई गत वर्ष ४ करोड ८८ लाख रुपैयाँ तलब सुविधा उपलब्ध गराएको देखिएको छ । अघिल्लो वर्ष यस्तो सुविधा ४ करोड ११ लाख रुपैयाँ दिएको थियो। बैंकले सिईओको तलब सुविधा भने छुट्याएको देखिएको छैन । प्रमुख कार्यकारी अधिकृत, तीन जना नायब महाप्रबन्धक र दुई जना सहायक महाप्रबन्धक गरी जम्मा ६ जनाले ४ करोड ११ लाख रुपैँया बराबरको तलब सुविधा प्राप्त गरेको बैंकले जनाएको छ । यो तलब सुविधा यस भन्दा अघिल्ला सिइओ सोमेश्वर सेठलाई दिइएको हो । अहिले बैंकमा गजेन्द्रकुमार नेगी सिइओको रुपमा कार्यरत छन् । नेगी हालै मात्रै सिइओको रुपमा बैंकमा प्रवेश गरेका हुन् । त्यस्तै, बैंकले नायब महाप्रबन्धकहरुमा राजिव जैन, गिरिश कोहली र डा सुधीर कुमारको पनि तलव सुविधा उल्लेख गरेको छ । त्यस्तै,सहायक महाप्रबन्धकमा आशुतोष शर्मा र केशव पौडेल रहेका छन् ।
एभरेष्टले पुष २७ गते वार्षिक साधारणसभा गर्दैछ । सो सभाले १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने भएको छ । बैंकले ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बोनस सेयर पारितपछि बैंकको चुक्ता पूँजी ४२ करोड ३५ लाख रुपैयाँले बढ्ने छ ।
बैंकले यो अवधिमा एक पटक ३३.३३ प्रतिशत हकप्रद सेयर वितरण गरेको थियो । एभरेष्टले गत वर्ष १ अर्ब ३६ करोड ८५ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो । बैंकले चालू वर्षको पहिलो त्रैमासमा १३ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष सोही बेला ३० करोड ८४ लाख रुपैयाँ कमाएको थियो । संस्थापक शेयरधनीतर्फ भारतको पञ्जाब नेशनल बैंकको हिस्सा २०.०३ प्रतिशत छ । कम्पनीको ३० प्रतिशत सेयर सर्वसाधारणको छ । त्यस्तै,प्रतिमा श्रेष्ठको १४.९१, होटल स्नो लायन प्रालिको ९.३१ प्रतिशत, र बीके श्रेष्ठको ९.१८ प्रतिशत शेयर रहेको छ ।
नेपाल एसबिआई बैंक :
नेपाल एसबिआई बैंकले सिइओका लागि १ वर्षमा १ करोड ७४ लाख ५९ हजार रुपैयाँ उपलब्ध गराएको छ । यो भुक्तानी घरभाडा, अन्य भत्ता तथा सुविधा बापत दिइएको हो।
यस बैंकका कर्मचारीले भारतबाट नै तलब सुविधा पाउने गर्छन । बैंकले गराएको यो सुविधा बैंकका सिईओ अनुकुल भटनागरले प्राप्त गरेका हुन् । तर अहिले बैंकका सिइओ परिवर्तन भइसकेका छन् ।
बैंकमा हालै दीपककुमार दे सिईओ का रुपमा आएका छन् । बैंकले अन्य पदाधिकारीहरुको तलबभत्ता तथा अन्य सुविधाबापत ३ करोड १७ लाख २० हजार रुपैयाँ अर्च गरेको देखिएको छ ।
बैंकले पुस २८ गते वार्षिक साधारणसभामा डाकेको छ । बैंकको वार्षिक प्रतिवेदन अनुसार, गत वर्ष कर्मचारी खर्च १ अर्ब ५४ करोड ७८ लाख रुपैयाँ भएको देखिएको छ । त्यस्तै, बैंकले यस वर्ष ६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद लाभांश दिने भएको छ ।
बैंकले मर्जर तथा प्राप्तिमा जाने गरी प्रतिवेदन तयार गरेको छ । बैंकले गत वर्ष ९८ करोड ६१ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया