काठमाडौं । केही दिनसम्म धुमिलिएको काठमाडौं आज आंशिक रुपमा उघ्रिएको छ । सोमवारदेखि घाम देखिएको थिएन । आज देखिएको छ । त्यसैले सामान्य दिनहरु जस्तै उज्यालो छ दिन ।
यससँगै केही दिनदेखि अत्याधिक रुपमा बढेको काठमाडौं उपत्यकासहित अन्य शहरी क्षेत्रको वायु प्रदूषणमा कमी आउने क्रम शुरु भएको छ । बादल हटेर आकाश केही खुलेसँगै काठमाडौं लगायतका स्थानमा प्रदूषण घट्न थालेको मौसमविदहरुले बताएका छन् ।
हिजो र अस्तीको तुलनामा प्रदूषण कम भए पनि जाडोमा धेरै हावा नचल्ने र पानी पनि नपर्ने भएकाले प्रदूषण पुरै हट्न अझै केही समय लाग्ने विज्ञको भनाइ छ । बिहीबारदेखि भने मौसम विस्तारै खुल्दै जानेछ । बिहीवार दिउँसो पहाडी भेगमा घाम लाग्दै बादल लागेपनि अरु भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
त्यसैले चिकित्सकले बालबालिका, वृद्धवृद्धा तथा रोगको जोखिम भएका व्यक्तिहरुलाई अत्यावश्यक काम वाहेक घरबाट ननिस्किन आग्रह गरेका छन् ।
विश्वकै प्रदूषित शहर काठमाडौं ?
सोमवार काठमाडौंको वायु प्रदूषण ह्वात्तै बढेर विश्वमै नम्बर एकमा पुग्यो । यूरोपमा अवस्थित आइक्यू एयरका अनुसार हावाको गुणस्तर देखाउने एक्यूआई अर्थात् एयर क्वालिटी इन्डेक्सको मान बढेर ४८७ पुगेको देखियो काठमाडौंमा ।
त्यस्तै, प्रदूषणका हिसाबले दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोई रहेका छन् ।
काठमाडौं सबैभन्दा प्रदूषित शहर भएको मात्र होइन दोस्रो र तेस्रो स्थानको भन्दा यहाँको एक्यूआई झण्डै दोब्बर पुगेको थियो ।
हावाको गुणस्तर अनुसार शहरहरुलाई रंग दिने गरिएको छ जसमा ० देखि ५० सम्म मान भएका शहरलाई हरियो(राम्रो), ५१ देखि १०० भएकालाई पहेंलो(मध्यम), १०१ देखि १५० लाई सुन्तला(संवेदनशील समूहका लागि अनुचित), १५१ देखि २०० सम्मलाई रातो(अस्वस्थ्य), २०१ देखि ३०० लाई बैजनी(धेरै जोखिमपूर्ण) र अन्त्यमा ३०१ देखि माथिलाई खैरो(खतरनाक) दिइन्छ ।
अहिले नेपालले खैरो रंग पाएको छ ।
नेपाल सरकारले काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजनामा एक्यूआई ३०० भन्दा माथि पुग्यो भने विपदकाल घोषणा गर्ने उल्लेख गरेको छ । यद्यपि, सरकारले यस्तो केही घोषणा गरेको छैन । न त यसको नियन्त्रणका लागि कुनै ठोस कदम नै चालेको छ ।
बालबालिका, वृद्धवृद्धा तथा संवेदनशील समूहलाई भने घरबाट सकेसम्म ननिस्किन र सामान्य व्यक्तिहरुलाई पनि केही दिनसम्म बिहान मर्निङ वाकमा नजान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपिल चाहिँ जारी गरेको छ ।
नेपालमा वायू प्रदूषणका कारण वर्षेनी जान्छ ४२ हजार भन्दा बढी ज्यान
वायू प्रदूषणले क्यान्सर, मुटुको रोग, दम, निमोनिया, मस्तिष्कघात, आँखा सम्बन्धि समस्या आदि निम्त्याउँछ ।
विश्वव्यापी रुपमा भएको रोगव्याधीको भार (बर्डेन अफ डिजिज)को २०१७ को प्रतिवेदनअनुसार नेपालमा उक्त वर्ष कुल १ लाख ८२ हजार ७ सय ५१ जनाको मृत्यु भएको थियो । जसमध्ये ६६ प्रतिशत मृत्यु मुटु रोग, श्वासप्रश्वास सम्बन्धि रोग, मस्तिष्कघात, क्यान्सर आदिजस्ता नसर्ने रोगहरुबाट भएको छ । र, यी रोग लाग्ने मूख्य कारण मध्ये एक हो, वायू प्रदूषण ।
‘स्टेट अफ ग्लोबल एयर–२०२०’ को तथ्याङ्क अनुसार नेपालमा वायु प्रदूषणका कारण वर्षेनी ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको छ । सन् २०१८ मा वायु प्रदूषणकै कारण नेपालमा करिब ३७ हजारको मृत्यु भएको डब्लूएचओको तथ्याङ्कले पनि देखाउँछ ।
अझ विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले गर्दा मृत्यु हुने धेरैजनामा वायू प्रदूषणका कारण लाग्ने रोग भएको पाइएको छ ।
चार महिनाअघि अमेरिकाको हार्वड युनिभर्सिटीका वैज्ञानिकहरूले अमेरिका र चीनमा गरेको अध्ययनअनुसार कोरोनाबाट भएका मृत्युमध्ये १५ प्रतिशतको मूख्य कारण वायु प्रदूषण नै रहेको थियो ।
‘काठमाडौंमा स्वास्थ्य जोखिम बढेको छ’
चारैतिर पहाड, डाँडाकाँडा भएकाले काठमाडौंको भूसंरचना कचौराजस्तो छ जसकारण प्रदूषित हावा डाँडा काटेर जान नपाउने र यहीँ जम्मा भएर बस्ने बताउँछन् त्रिवि शिक्षण अस्पतालका पल्मोनोलोजी एण्ड क्रिटिकल केयर मेडिसिन विभागका उप–प्राध्यापक डा. निरज बम । उनका अनुसार सफा, सुरक्षित वातावरण हुनलाई विश्व स्वास्थ्य संगठनले तोकेको न्यूनतम आँकडा भन्दा २५ गुणा प्रदूषित छ काठमाडौं ।
‘ईटा भट्टा, थोत्रा सवारी साधन, निर्माण कार्य आदिबाट उत्पादन हुने १० पिएम साइजका धुवाँ धेरै छ काठमाडौंमा,’ उनी भन्छन्, ‘विश्व स्वास्थ्य संगठनअनुसार यहाँ सास फेर्नु भनेको चुरोट सेवान गर्नु बराबर हो ।’ त्यसैले काठमाडौंमा फोक्सोसम्बन्धि रोगको बढी जोखिम भएको उनको भनाइ छ । डा. बमका अनुसार शिक्षण अस्पतालमा भर्ना हुने बिरामीमध्ये सबैभन्दा बढी बिरामीहरु दम या फोक्सोका रोगी छन् । त्यसै त प्रदूषणले दपेटेको काठमाडौंमा झन् चिसो बढ्दै गएको र त्यसमाथि अझै कोभिड १९ महामारीको जोखिम पनि रहेको हुनाले निमोनिया, दम लगायत फोक्सोसम्बन्धि रोगका बारेमा सबैजना सतर्क हुनु आवश्यक भएको उनी बताउँछन् ।
वायु प्रदूषण बढ्ने कारणहरु ?
कलकारखानाबाट उत्पादन हुने धुवाँधुलो
पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनले उत्पादन गर्ने धुवाँ
विकास निर्माणका कार्यबाट उत्पादन हुने धुलो
फोहोर जलाउँदा निस्कने धुवाँले
डढेलो
वायु प्रदूषणका स्वास्थ्य असरहरु ?
तत्काल देखिने असर ?
श्वासप्रश्वासमा समस्या
छाला चिलाउने
आँखा चिलाउने
खोकी लाग्ने
हाच्छिउँ आउने
रुघा लाग्ने
छाती दुख्ने
दीर्घकालीन असर
श्वासप्रश्वास र रक्तनलीमा समस्या
दम, निमोनिया लगायत फोक्सोको समस्या
क्यान्सरको जोखिम
मुटु रोग, हृदयघात
मस्तिष्कघात
रगत जम्ने समस्या
वायु प्रदूषणबाट बच्ने उपायहरु ?
घरबाहिर निस्कदा मास्कको प्रयोग गर्ने
फोहोरको उचित व्यवस्थापन गर्ने
मानववस्ती छेउछाउ उद्योग, कलकारखानाहरु स्थापना नगर्ने
ढल निकासको उचित व्यवस्थापन
पुराना, बिग्रिएका वा धेरै धुँवा निकाल्ने सवारी साधन प्रतिबन्धित गर्ने
सडक साथै नदी, खोला, ताल, पोखरी जस्ता जलस्रोतमा फोहोर नफाल्ने
बाँझो जमिनमा वृक्षरोपण गर्ने
घर वरिपरि स्वच्छ हावाका लागि रुखहरु रोप्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया