काठमाडौं । विवाह एउटा महत्वपूर्ण संस्कार हो । यो संस्कार कुन उद्देश्यले गरिन्छ भन्ने कुरा बुझेर संस्कारका कर्महरुको अनुष्ठान गर्दा विवाह संस्कारको गरिमा बढ्ने कुरामा कुनै सन्देह छैन । यहाँ उक्त संस्कारका केही उद्देश्य निरुपण गरिँदैछ ।
विवाहको अर्थ पवित्र विधिद्धारा स्रीत्व र पुंस्त्वको सम्मेलन गराउनु हो प्रकृतिका अणु–अणुमा उक्त दुवै शक्ति रहेका छन् । सृष्टि विस्तारका लागि प्रत्येक जङ्गमको प्राकृतिक सम्मेलन हुँदा यो पाञ्चभौतिक सृष्टि सोभायमान हुन्छ ।
आफ्नो धर्म र सम्प्रदाय अनुसार उत्तम कन्या र वरको चयन गरी नियम एंव अनुशासनमा रहेर सृष्टिधर्ममा प्रवृत हुँदा आ–आफ्नै विधिअनुसार विवाहसंस्कार सम्पन्न गर्दछन् ।
१. ८४ लाख पशु–पक्षी,कीट–पतङ्ग आदि योनीहरुको भोग गरेपछि जीवले मानव शरीर प्राप्त गर्दछ । मानव योनिमा विवेक गर्नका लागि परमात्माले जीवलाई वुद्धि प्रदान गर्नुहुन्छ । वुद्धि प्राप्त गरे पनि अनेकौं योनीमा भ्रमण गर्दा संस्कारमा आएका भावना र विचार सजिलै छुट्दैनन् ।
त्यसैले जीवन स्वच्छन्द आहार–विहारको भावना प्रवल हुन्छ । प्रत्येक पुरुष र नारीमा एक–अर्कामा आकर्षण र भोगभावना प्राकृतिक रुपमा रहेको हुन्छ ।
अतः नरनारीहरुमा रहने निर्बाध कामभावनालाई एउटा पुरुष वा एउटी नारीमा सीमित गराई शनैःशनै निवृत्तिमार्गमा अग्रसर गराउनु विवाहको उदेश्य हो ।
२. शास्त्र अनुसार मनुष्यमाथि देवऋण,पितृऋण एवं ऋषिऋण गरी तीन ऋण रहेका हुन्छन् ।
यज्ञ,याग,पूजा,व्रत,उपवासद्धारा देवऋणबाट मुक्ति प्राप्त हुन्छ । सन्तानको उत्पादनद्धारा पितृऋणबाट मुक्ति प्राप्त हुन्छ । सन्तान उत्पादन गर्नुभनेको सन्तानको रुपमा आफू बाँच्न चाहनु हो त्यसैले सन्तान उत्पन्न हुँदा नरनारीले सन्तोस प्राप्त गर्दछन् ।
यसै प्रवृत्तिका कारण वंशपरम्परा अनन्तकालसम्म अग्रसारित हुँदै जान्छ । वंश परम्परा कायम गर्न अनेकौं धार्मिक प्रयासहरु जारी रहन्छन् । सन्तानद्धारा मानिसले पितृऋणबाट मुक्ति प्राप्त गर्दछ । शास्त्र र वेदको स्वाध्यायबाट ऋषिऋणबाट मुक्ति प्राप्त हुन्छ ।
३. मानवले आफूलाई सबैभन्दा धेरै माया गर्दछ । विवाहपछि एउटा व्यक्तिमा केन्द्रित रहेको स्नेहले क्षेत्रविस्तार गर्ने अवसर पाउँछ ।
सन्तानको उत्पत्ति हुँदा स्नेह तत्वको विस्तार हुँदै जान्छ । पहिले एउटा व्यक्तिमा सीमित स्नेह विवाह र सन्तानोत्पत्तिपछि विशाल पारिवारिक प्रेमका रुपमा परिणत हुन्छ ।
असल चरित्रले सम्पन्न भई समाज र राष्ट्रको सेवामा समर्पित हुँदा एउटा व्यक्ति वा परिवारमा सीमित प्रेमले व्यापक आयाम लिन्छ ।
त्यसपछि ईश्वरको कृपाले त्यस व्यक्तिमा संस्कारका प्राणीहरुप्रति प्रेमको उदय हुँदा वसुधैव कुटुम्बकमको भावनाले प्रतिष्ठा प्राप्त गर्दछ ।
अन्तमा मानव जीवन परोपकारद्धारा बिताएर ईश्वरमा श्रदाभक्ति गर्दै एउटा सामान्य व्यक्ति आत्मालाई विस्तार गरी महात्माको रुपमा परिणत हुने कार्यमा सफल बन्दछ ।
यसरी श्रद्धा,प्रेम,स्नेह,भक्ति आदिको सोपानको क्रमले विकास गर्दै मानिसलाई उन्नतिको चरम क्षितिजमा पु-याउने विवाह संस्कारको निकै महत्व छ ।
४. विवाहसंस्कारको उदेश्य उदात्त मानवीय गुणहरुको आधान गराई व्याक्तिलाई संस्थाको रुपमा परिणत गराउनु हो ।
दाम्पत्यधर्ममा आवद्ध पुरुष एंव नारीले एक–अर्काका हितको लागि स्वार्थत्याग गर्दै प्रतिकूल व्यवहार हुँदा क्षमा दिने,कष्टमा धैर्यधारण गर्नेजस्ता गुणहरुको विकास गर्नुपर्ने हुन्छ ।
यसरी एक अर्काप्रति श्रद्धा र स्नेहका साथ उत्तम गुणहरुको विकास र सदाचारको पालना गर्ने काममा अभ्यस्त भएका दम्पत्तीले उदात्त गुणहरुको परिपाक हुँदा आफ्नो व्यक्तित्वमा आकाश–पाताल जस्तै परिवर्तन भएको पाउँछन् । जव ती मानवीय उच्चतम मूल्यले समन्वित हुन्छन् त्यसबेला ईश्वरीय आस्थामा आवद्ध हुँदा दैवी गुणहरुको विकास गर्न पनि समर्थ हुन्छन् ।
यस्तो स्थितिमा दम्पतिबाट जन्मिने सन्तान,तिनका परिवार एंव समाजको समेत रुपान्तरण हुन्छ । तसर्थ विवाह संस्कार मानवीय मूल्य र ईश्वरीय दिव्यतालाई प्रवर्धन गर्ने उच्चतम संस्कार हो ।
ज्यो.दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया