बैंकको अबको मिशन : नम्बर वान बन्ने, साना वित्तीय संस्था गाभ्दै पूँजी बढाउँदै

लोकपथ
0
Shares

कमला अर्याल /काठमाडौं – केही वर्ष अघि मात्रै ८ अर्ब पूँजी पु-याएका बैंकलाई फेरि पूँजी बढाएर नम्बर वान बन्ने चुनौती देखिएको छ ।

गत वर्ष ग्लोबल आइएमई बैंक र जनता बैंक मर्ज भएर सबैभन्दा ठूलो वाणिज्य बैंकको रुपमा कारोबार सुरु गरेपछि प्रतिस्पर्धी बैंकहरु अब नम्बर वान कसरी बन्ने भन्ने होडमा देखिन्छन् ।

आर्थिक वर्ष २०७२/७३ मा मौद्रिक नीति मार्फत् ४ गुणा पूँजी बढाएका बैंकले अब नम्बर वान बन्न फेरि पूँजी बढाउनुपर्ने बाध्यता छ ।

मर्जरपछि ग्लोबल आइएमई बैंकको पूँजी अब केही समयमा २० अर्ब हाराहारीमा पुग्दैछ । त्यसकारण एक त पूँजीगत रुपमा नम्बर वान बन्ने होड र अर्को प्रतिस्पर्धा । त्यसका लागि पनि वाणिज्य बैंकहरु प्रतिस्पर्धात्मक बजारमा टिकिराख्न पूँजी २० अर्बको हाराहारीमा पु-याउनुपर्ने बाध्यता छ ।

राष्ट्र बैंकले पनि वाणिज्य बैंकको संख्या घटाउन खोजिरहेको छ । २०७२/७३ मा मौद्रिक नीति मार्फत् वाणिज्य बैंकको संख्या घटाउन चाहे पनि वाणिज्य बैंकहरु टसमस नै भएनन् । बरु साना वित्तीय संस्थाहरु घटे ।

ठूला बैंकहरु नघटेपछि गत वर्षको मौद्रिक नीतिमै बिग मर्जरको नीति ल्याउन लागिएको थियो । तर सफल भएन ।

बिग मर्जर नभएपनि बैंकलाई अब कुनै पनि बहानामा पूँजी बढाउनुपर्ने बाध्यता छ । त्यसैले पछिल्लो समय वाणिज्य बैंकहरुले साधारणसभा मार्फत् धमाधम मर्जर तथा एक्विजिशनको एजेण्डालाई अघि सारेका छन् ।

यसअघि हकप्रद शेयर निष्काशन तथा मर्जरका माध्यमबाट पूँजी वृद्धि गरेको भएपनि अब भने मर्जरमै जानुपर्ने दबाब छ । तर बैंकलाई २० अर्ब पु-याउन राष्ट्र बैंकले भने कुनै नीतिगत व्यवस्था गरेको छैन ।

त्यसैले तत्काल त्यसको दबाब नभएको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल शर्माले बताए ।

ग्लोबल आइएमई बैंक र जनता मर्जर गर्ने बेला तत्कालिन गभर्नर डा. चिरन्जीवी नेपालले सम्पूर्ण वाणिज्य बैंकलाई विग मर्जरका लागि जोडी खोजेर आउन सुझाएका थिए ।

मौद्रिक नीति आउनै लाग्दा नेपालले कुनै एक बैंकसँग मर्जरमा जाने गरी राष्ट्र बैंकलाई प्रस्ताव समेत पठाउन निर्देशन दिएका थिए । तर ग्लोबल आइएमई बैंक र जनता बैंक बाहेक कुनै पनि बैंकले जोडी खोज्न सकेनन् । किनकी एक त मर्जर छोटो र सजिलो प्रक्रिया होइन ।

अर्को कुरा वाणिज्य बैंकहरु बिग मर्जरमा जानै चाहँदैनन् । त्यसैले पनि विग मर्जर गर्ने कुरामा वाणिज्य बैंक अहिले पनि सहमत छैनन् । गत वर्षको मौद्रिक नीति तयार गर्दै गर्दा राष्ट्र बैंकले बजारमा राम्रोसँग टिकेर कारोबार गर्न नसक्ने बैंकहरुलाई मर्जर लैजाने गरी सूची तयार पारेको थियो ।

राष्ट्र बैंकले एनसीसी,नेपाल बंगलादेश, मेगा, सिभिल, प्राइम लगायतका लगभग एक दर्जन बैंकलाई दबाबपूर्ण रुपमा मर्जरमा लैजाने गरी सूची तयार पारेको थियो । तर अहिले भने बजारमा राम्रै कारोबार गरिरहेका भनिएका बैंकहरुलाई पनि मर्जरमा जानुपर्ने र पूँजी वृद्धि गर्नुपर्ने बाध्यता भएको छ ।

यसरी बढाउँदैछन्,पूँजी
वाणिज्य बैंक विग मर्जरमा जान पटक्कै चाहँदैनन् । त्यसैले साना बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गरेर धमाधम पूँजी वृद्धि गरिरहेका छन् ।

वाणिज्य बैंकले मर्जरका लागि सबैभन्दा बढी विकास बैंकलाई लक्षित गरेका छन् । हालै मात्रै पनि सिटिजन्स बैंकले तिनाउ डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने भएको छ । सिटिजन्स बैंकले विशेष साधारणसभामार्फत तिनाउ मिशन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव लगेको छ ।

नेपाल त्यसैगरी इन्भेष्टमेन्ट बैंकले सिटी एक्प्रेस फाइनान्सलाई प्राप्ति गर्न सैद्दान्तिक सम्झौताका लागि पुस २८ गते राष्ट्र बैंकमा निवेदन दिएको थियो ।

राष्ट्र बैंकले गत वर्षको चैत ३० मा यी वित्तीय संस्थालाई सैद्धान्तिक स्वीकृति दिइसकेको थियो । त्यसैगरी, सनराइज बैंकले गत माघ ८ गते स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिएको थियो ।

राष्ट्र बैंकले ती वित्तीय संस्थाहरुलाई गत चैत ४ गते सैद्दान्तिक स्वीकृति प्रदान गरेको थियो ।

यसअघि वाणिज्य बैंकहरुले कयौँ वित्तीय संस्थाहरुलाई प्राप्ती गरिसकेका छन् ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अहिले विभिन्न ३७ वटा बैंक तथा वित्तीय संस्थाहरु पाइप लाइनमा छन् । जसमा ३ वटा वाणिज्य बैंक, ३ वटा विकास बैंक तथा ३१ वटा लघुवित्त संस्थाहरु छन् ।

किन बैंकहरु चाहँदैनन् विग मर्जर :
वाणिज्य बैंकहरुले लामो समयदेखि बजारमा आफ्नो उपस्थिती जनाइरहे । विग मर्जरमा जाँदा एकातिर आफ्नो अस्तित्व गुम्ने डर छ भने अर्कातिर ती बैंकलाई नेतृत्व गरेकाहरु पनि हराउन सक्छन् । उनीहरु मध्येकै कयौँ बेरोजगार पनि हुन्छन् । त्यसैले बजारमा आफ्नो अस्तित्व बराइराख्न चाहन्छन्,वाणिज्य बैंक ।

त्यसैकारण विग मर्जर गर्नुभन्दा साना वित्तीय संस्था प्राप्ती गरेर पूँजी वृद्धि गर्न योजनामा छन्,वाणिज्य बैंक ।

संघले मर्जर तथा एक्विशनका सम्बन्धमा हरेक बैंकको आफ्नै योजना हुने भएकाले सोही अनुसार मर्जर तथा एक्विजिशन प्रक्रियामा जाने जनाएको छ ।

बैंकहरु पछिल्लो समय मर्जरमा जाने इच्छुक देखिएको संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए ।

‘मर्जरमा जानै नचाहने भन्ने छैन, लामो प्रक्रिया भएकाले विस्तारै हुने कुरा हो ।’ उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?