जनकपुरधाम। नेपाललाई संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गर्दै राष्ट्रिय एकता अभियानले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा वृहत प्रदर्शन गरेको छ ।
जनकपुरधामको रेलवे स्टेशनबाट सयौंको संख्यामा निस्केको र्याली नगरको विभिन्न ठाउँ परिक्रमा गर्दै जनक चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।
सो कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले विदेशी डलरको लालचमा दलाल नेताहरुको संघीयताको नाममा सनातन हिन्दु राष्ट्रबाट हटाई धर्म निरपेक्ष बनाइएको आरोप लगाए ।
उनले भने- हामी संघीयता विरोधी होइनौं तर संघीयताको नाममा हाम्रो हिन्दु धर्म, सभ्यता, संस्कृति र पहिचानमाथिको प्रहार कुनैपनि हालतमा स्वीकार्य छैन । हामी लोकतन्त्र पक्षधर भएको हुनाले संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्रका लागि अभियान मार्फत हाम्रो आन्दोलन जारी रहनेछ ।
अध्यक्ष यादवले संघीयताको नाममा हिन्दु राष्ट्रलाई मात्र समाप्त पारिनुका साथै मुलुकमा भ्रष्टाचारलाई समेत प्रश्रय दिएको बताए । भ्रष्टचारमुक्त, विकासशील र हिन्दु राष्ट्रका लागि आपूहरुको आन्दोलन जारी रहने पनि उनले बताए ।
कार्यक्रममा अभियानका उपाध्यक्ष सुनिता साहले संघीयता अवसरबाट वंचित रहेका मधेशी, आदिवासी जनजाति, दलित पिछडिएको वर्गको स्तरोन्नति, विकासमा पहुँचका लागि भनेर ल्याइयो तर अहिले त्यसको ठीक उल्टो तिनीहरुको नाममा सत्तामाथि आफ्नो अधिपत्य जमाउन प्रयोग गर्दै आएको आरोप लगाइन् ।
त्यस्तै अभियानका मार्गदर्शक मण्डल सदस्य खेमराज आचार्यले धर्मनिरपेक्षको नाममा हिन्दुत्वलाई समाप्त पार्ने खेल भएको भन्दै विरोध जनाए ।
यसअघि शुक्रवार राष्ट्रिय एकता अभियानले जनकपुरधाममै प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया