कमला अर्याल /काठमाडौँ – कोरोना भाइरस ‘कोभिड – १९’ ले थला पारेका व्यवसायीहरुको सावा ब्याज तिर्ने समय थप गर्न राष्ट्र बैंकले आनाकानी गरेको छ । ऋणको साँवा र ब्याज तिर्ने समय नथप्ने मनशायले राष्ट्र बैंकले आनाकानी गरिरहेको हो ।
पुस मसान्तसम्म ऋण असुली गर्न बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई झनै कस्न थालेका छन् ।
बैंकले ऋणीलाई ऋण तिर्न दबाब दिने, कालो सूचीमा राख्ने तथा धितो लिलामी गर्ने गरिरहेकाले उद्योग वाणिज्य महासंघको टोलीले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर ऋणको साँवा ब्याज तिर्ने समय थप गरिदिन माग गरेका थिए ।
पुस सकिनै लागेको छ । व्यवसायीहरु अझै पनि ऋण तिर्ने अवस्थामा नभएकाले व्यवसायीले सरकार गुहारेका थिए । तर राष्ट्र बैंक भने समय थप गर्ने विषयमा सकारात्मक देखिएको छैन । यदि राष्ट्र बैंक सकारात्मक देखिएको भए यसअघि नै बैंक तथा वित्तीय संस्थाका नाममा निर्देशन आइसक्ने थियो ।
राष्ट्र बैंकले यसअघि नै मौद्रिक नीति मार्फत ऋणीहरुलाई वर्गिकरण गरी पर्याप्त व्यवस्था गरिसकेको छ । त्यस्ता ऋणीलाई सहुलियत तथा ऋण तिर्ने समय थप गरिसकेको छ । त्यसैले पनि राष्ट्र बैंकले अहिले अलमल गरिरहेको छ । ‘ऋणीलाई सहुलियत पनि कति दिनु,बैंकलाई पनि हैरान भइसक्यो ।’ राष्ट्र बैंकका उच्च अधिकारीले भने । उनका अनुसार चालु आर्थिक वर्षको मौद्रिक नीतिले नै कर्जा भुक्तानीमा सहुलियत दिएको तथा वर्गिकरण अनुसार म्याद थप गरिएकाले धेरै पटक सहुलियत दिन बैंकलाई पनि समस्या पर्छ ।
बैंकले पनि सर्वसाधारणको पैसा चलाएकाले जिम्मेवारपूर्ण तरिकाले चलाउनुपर्नेमा उनको जोड थियो । तैपनि यस विषयमा राष्ट्र बैंकले माघ लागेपछि छलफल गर्ने ती उच्च अधिकारीको भनाई छ ।
उद्योगी व्ययवसायीले अझै पनि व्यवसायी कोरोनाले पु-याएको असरबाट माथि उठ्न नसको भन्दै ऋणको सावाँ ब्याज तिर्ने समय माग गरेका थिए । उनीहरुले कम्तीमा ३ महिना समय थप गर्न माग गरेका थिए । यदि राष्ट्र बैंकले ऋणको सावाँ ब्याज तिर्ने समय थप नगर्ने हो भने करिब ५० प्रतिशतको हाराहारीमा साना तथा मझौला उद्योग तथा व्यवसायहरु बन्द हुने व्यवसायीले बताएका छन् । ती साना तथा मझौला व्यवसाय बचाउन पनि सरकारको थप सहयोग आश्यक रहेको व्यवसायीको माग छ । तर धेरैपटक सम्म समय थप्दा ऋणी तथा बैंक दुबैलाई पछि समस्या पर्छ ।
बैंकले साँवा ब्याज तिर्ने अवधिमा दिएको छुटले केहि समय राहत भएपनि पछि त्यसले समस्या तिम्त्याउने राष्ट्र बैंकका अधिकारी बताउँछन् । ऋणीलाई ऋण खप्टिएर तिर्नै नसक्ने अवस्था हुन्छ भने बैंकहरुको खराब कर्जाको दर बढ्छ । त्यसैले पनि राष्ट्र बैंकले अब समय थप गर्ने मनसायमा देखिँदैन ।
राष्ट्र बैंकले उत्पादनमा रही राष्ट्रिय प्रसारणमा जोडिएका जलविद्युत आयोजना, खाद्यान्न उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण, दैनिक उपभोग्य अत्यावश्यक वस्तुको बिक्री वितरण, अनलाइन (इकमर्स) मा संलग्न व्यवसाय, आयात जन्य व्यापार, पानी संबन्धी व्यवसाय, पेय पदार्थ प्रशोधन तथा बिक्री वितरण गर्ने उद्योग व्यवसाय,पेट्रोल पम्प, ग्यास तथा पानी सम्बन्धित व्यवसाय, औषधि बिक्री वितरण, विज्ञापन सेवा, दुरसञ्चार सेवा प्रदायक कम्पनी, इन्टरनेट, मदिरा तथा सूर्तिजन्य उद्योग व्यापार, व्यवसाय, ट्रक, ढुवानी व्यवसाय, सुन, चाँदीका गहना तथा बहुमुल्य पत्थर सम्बन्धी व्यवसाय लगायत न्यून प्रभावित वर्गमा वर्गिकरण गरेको छ ।
यी क्षेत्रलाई मौद्रिक नीति मार्फत् ऋणको साँवा ब्याज तिर्न पुस मसान्तसम्मको अवधि थपिदिएको थियो । त्यसैले यी व्यवसायीले पर्सी बुधबार (पुस ससान्त) सम्म ऋण तिरिसक्नुपर्नेछ । तर व्यवसायीहरुले भने कोरोनाको असर अझै व्यवसायमा रहिरहेकाले ऋण तिर्न नसक्ने बताउँदै आएका छन् ।
राष्ट्र बैंकको वर्गिकरण अनुसार मध्यम प्रभावित तथा अति प्रभावित व्यवसायीलाई ऋणको सावाँ ब्याज तिर्न क्रमशः चैत मसान्त र असार मसान्तसम्मको समय दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया