कमला अर्याल /काठमाडौं । कोभिड १९ का कारण संकटमा परेको भन्दै बैंकहरुले सर्वसाधारणको निक्षेपमा आँखा लगाएका छन् ।
ब्याज खर्च घटाउने नाममा बैंकहरूले तीब्र रुपमा निक्षेपको ब्याजदर घटाएर निक्षेपकर्तालाई मारामा पारेका हुन् । तर निक्षेपकर्ताले भने आफ्नो निक्षेपको ब्याजदर घटेको जानकारी पाएका छैनन् ।
पछिल्लो समय बैंकहरुले धमाधम ब्याजदर घटाइरहेका छन् । कोरोना भाइसरको प्रभावका कारण बैंकमा लगानीयोग्य रकम(तरलता) थुप्रिएपछि बैंकहरुले धमाधम ब्याजदर घटाउन थालेका हुन् । जसको असर लगानीकर्तालाई परेको छ ।
अहिले बैंकहरुले धमाधम नयाँ ब्याजदर सार्वजनिक गरिरहेका छन् । बैंकले सार्वजनिक गरेको ब्याजरदरमा साधारण निक्षेपको ब्याजदर सबैभन्दा कम छ । बैंकिङ प्रणालीमा प्रशस्त तरलता भएका बेला आकर्षक र उच्च ब्याजदर दिएर निक्षेप तानातान गरेका बैंकले अहिले साधारण बचत खाताको निक्षेप घटाएर सबैभन्दा तल झारेका छन् । अहिले बैंकहरुले साधारण निक्षेपको ब्याजदर १.५ प्रतिशतसम्म झारेका छन् ।
बैंकहरुले गत वर्षतिर बैंकमा तरलता कम हुँदा मुद्दती निक्षेपको ब्याजदर १३ प्रतिशतसम्म पु-याएका थिए । कतिपय बैंकहरुले त बैंकर्स संघले तोकेको सीमा पनि नाघेर चर्काे ब्याजदरमा निक्षेप तानातान गरेका थिए । तर अहिले भने प्रणालीमा प्रशस्त पैसा भएपनि मुद्दती निक्षेपको ब्याजदर पनि ४ प्रतिशतभन्दा तल झारेका छन् । यो ब्याजदर छोटो अवधिको मुद्दती निक्षेपको भएको बैंकले जनाएका छन् ।
बैंकले लामो अवधिको मुद्दती निक्षेपको ब्याजदर अधिकतम ९ प्रतिशतसम्म तोकेका छन् । बैंकले ३ वर्ष भन्दा बढी समयावधिको मुद्दती निक्षेपलाई मात्र ९ प्रतिशतसम्म ब्याजदर दिएका छन् । बैंकहरुले निक्षेपको ब्याजदर घटाएसँगै कर्जाको पनि ब्याजदर घटाउनुपर्ने हुन्छ । त्यसका लागि बैंकले आधारदर घटाउनुपर्ने हुन्छ । तर बैंकले अहिले आधारदर घटाएका छैनन् । बैंकका यस्ता कामका कारण सर्वसाधारण मर्कामा परेका छन् । आधारदर नघटेपछि सस्तोमा पैसा उठाएर बैंकले महँगोमा लगानी गरेका छन् ।
बैंक मुद्दती निक्षेप साधारण निक्षेप
कृषि विकास बैंक ९.५ ३.५
सिभिल बैंक ८ ३
प्राइम बैंक ८ ३
नेपाल इन्भेष्टमेन्ट बैक ७.२५ २
सेञ्चुरी बैंक ७.५ २.५
हिमालयन बैंक ७.२५ २
नेपाल बंगलादेश बैक ७.२५ २.७५
एनएमबी बैंक ७.५ ३.१
प्रभु बैंक ७.५ २
एनसिसी बैंक ७.५ ३
लक्ष्मी बैंक ७.५ ३
एभरेस्ट बैंक ७ २
नेपाल बैंक ७ २.५
राष्ट्रिय वाणिज्य बैंक ७ २.५
कुमारी बैंक ७ ३
ग्लोबल आइएमई ७ २
माछापुच्छ्रे बैंक ७ २
सिद्धार्थ बैंक ७ २
मेगा बैंक ७ २
सनराइज बैंक ७ २
सिटिजन्स बैंक ७ २.५
बैंक अफ काठमाण्डु ७ २
एनआइसी एसिया बैंक ६.५ १.५
नबिल बैंक ६.५ १.५
सानिमा बैंक ६.५ ४
स्ट्यान्डर्ड चार्टर्ड बैंक ६ २
नेपाल एसबिआई बैंक ५.६ ३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया