जब २६ डिसेम्बर सन् २००७ को रात बेनजिर भुट्टो पेशावरदेखि लङ ड्राइभ गरेर इस्लामावादस्थित आफ्नो घर जरदारी हाउस पुगिन् तब उनी निकै थाकेकी थिइन् । यद्यपि आइएसआइका प्रमुख मेजर जनरल नदीम ताजको सन्देश बेनजिरसम्म पुगिसकेको थियो कि उनी बेनजिरसँग केही महत्वपूर्ण कुरा गर्नका लागि भेट्न चाहन्थे ।
पूर्व प्रधानमन्त्री बेनजिरले २ घण्टा सुतेपछि राति नजीमलाई भेट्ने निधो गरिन् । सो बैठक राति डेढ बजे भयो जसमा बेनजिरसँगै उनका सुरक्षा सल्लाहकार रेहमान मलिक पनि उपस्थित थिए ।
नदीम ताजले बताए कि त्यस दिन कसैले बेनजिरको हत्या गर्ने प्रयास गर्नेछन् । मेजर जनरल नदीम ताज आफ्नो सुराकीका बारेमा यति विश्वस्त थिए कि उनी स्वयम् आधि रातमा यो खबर बेनजिरलाई दिन उनकै निवास पुगेका थिए ।
बीबीसीका पूर्व संवाददाता ओवेन बेनेट जोन्सले आफ्नो पुस्तक ‘द भुट्टो डाइनेस्टी, द स्ट्रगल फर पावर इन पाकिस्तान’ मा लेखेका छन् “यो सुनेर बेनजिर चकित भइन् । उनलाई लाग्यो आफ्नो कार्यक्रम रोक्नलाई मेजरले झुटो बोलिरहेका छन् । उनले ताजसँग भनिन् कि यदि ताजले त्यस्ता आत्मघाति हमला गर्न लागेका व्यक्तिलाई चिनेका छन् भने उनीहरुलाई सोझै गिरफ्तार किन गर्दैनन् ?” ताजको जवाफ यो थियो कि ‘यो असम्भव छ किनकी त्यसो गरेपछि मेरो स्रोतको पहिचान खुल्छ ।’
यस कुरापश्चात् बेनजिरले आफ्नो सुरक्षा व्यवस्था कडा बनाउन भनिन् । उनले आफ्नो मात्र नभएर समग्र जनता नै सुरक्षित हुनुपर्ने आदेश दिइन् ।
नदीमले वाचा गरे कि यस काममा उनले आफ्नो दिलो ज्यान दिएर लागी पर्नेछन् ।
बेनजिरको हत्याको तयारी
जब बेनजिर जनरलसँग भेटिरहेकी थिइन् तब उनका हत्याराहरु हत्याको अन्तिम तयारीमा जुटेका थिए ।
बेनेट जोन्स लेख्छन्, ‘आधिरात पश्चात् एक तालिबानी १५ वर्षका दुई किशोर बिलाल र इकरामउल्लालाई लिएर रावलपिण्डी पुगिसकेका थिए ।
यसैबीच थप दुई तालिबानीः हसनैन गुल र रफाकत हुसेनले रावलपिण्डीस्थित हुसेन पार्कको अवस्था अवलोकन गरिसकेका थिए जहाँ त्यस साँझ बेनजिर भुट्टोले भाषण दिने कार्यक्रम थियो ।
त्यो वेला पुलिसले प्रवेशद्वारको ३ तिर मेटल डिटेक्टर राखेर निगरानी गरिरहेका थिए । तर यसले केही फरक पर्नेवाला थिएन किनकी उनीहरुको योजनाअनुसार बेनजिरमाथि र्यालीबाट फर्किँदै गर्दा हमला गर्ने तयारी थियो ।
‘ती दुवैजना त्यहाँबाट सन्तुष्ट भएर फर्किए र उनीहरुले बिलाललाई केही कारतूस र एउटा पेस्तोल दिए भने इकरामुल्लालाई एउटा हेन्ड ग्रेनेड दिए । हसनैनले बिलाललाई ट्रेनर जुत्ता नलाउन सुझाए किनकी सुरक्षाकर्मीलाई जिहादीहरुले त्यस्तो जुत्ता लाउँछन् भनेर पहिल्यै सिकाइएको हुन्छ । त्यसैले उनीहरुलाई शंका हुनसक्छ । बिलालले सुझाव मानेर जुत्ता खोलेर चप्पल लगाए ।’
नमाज पढिसकेपछि बिलाललाई त्यस गेटमा लगियो जसलाई बेनजिरले प्रयोग गर्ने सम्भावना थियो ।
कार्यक्रममा जानुअघिको त्यो भेट..
भुट्टोको हत्याको अनुसन्धानका लागि बनाइएको संयुक्त राष्ट्र जाँच आयोगका प्रमुख र पछि यही विषयमा ‘गेटिङ अवे विथ मर्डर’ लेख्ने हेराल्डो मुन्योज लेख्छन्, ‘२७ डिसेम्बरका दिन बेनजिर बिहान साढे ८ बजे उठिन् । उनले ९ बजे नास्ता गरिन् । त्यसको साढे २ घण्टापछि उनी अमीन फहिम र पिपल्स पार्टीका पूर्व सिनेटरसहित अफगानिस्तानका राष्ट्रपति हामिद करजाईसँग भेट्न गइन् । करजई सेरीना होटलको चौथो तलामा बसेका थिए । त्यस भेटवार्तापछि उनी एक बजे जरदारी हाउस फर्किइन् । उनले खाना खाइन् र आफ्नो टिमसँग मिलेर साँझमा दिने भाषणको अन्तिम ड्राफ्ट तयार पारिन् ।’
त्यसपछि बेनजिर सुरक्षाकर्मीहरुको स्कर्टिंग सहित भाषणका लागि निस्किइन् । सबैभन्दा अगाडि थियो टोयोटा ल्यान्ड क्रूजर जसमा सवार थिए पीपीपीका सुरक्षा प्रमुख तौकीर कैरा । त्यसको ठीक पछाडि बेनजिरको सेतो ल्यान्ड क्रूजर चलिरहेको थियो जसलाई दुवैतर्फबाट कैराका थप दुई सवारी साधनले छेकेका थिए । यी सवारीको पछि जरदारी हाउसका दुई टोयोटा विगो पिकअप ट्रक चलिरहेका थिए । त्यसको अझै पछि जरदारी हाउसकै कालो मर्सिडिज बेन्ज पनि थियो जुन बुलेट प्रुफ थियो । आवश्यकता परेमा बेनजिरले त्यसलाई ब्याक अपको रुपमा प्रयोग पनि गर्न सक्थिन् ।
बेनजिरको कारको अगाडिको सिटमा बायाँतर्फ उनका ड्राइभर जावेदुर रहमान र दायाँतर्फ मेजर इमतियाज हुसेन बसेका थिए । बीचको सिटको बायाँतर्फ पीपीपीका वरिष्ठ नेता अमीन फहीम, बीचमा बेनजिर र दायाँतर्फ बेनजिरकी राजनीतिक सचिव नाहीद खाँ बसेका थिए ।
सुरक्षाको नजरअन्दाज
दुई बजेर १५ मिनेटमा बेनजिर फैजाबाद जक्सन पुगिन् जहाँबाट उनको सुरक्षाको जिम्मेवारी रावलपिण्डी जिल्ला पुलिसको थियो । २ बजेर ५६ मिनेटमा बेनजिरको गाडी लियाकत रोड जक्सनमा पुग्यो र भिआइपी पार्किंङ गर्ने स्थानतिर बढ्न थाल्यो । यसैबीच बेनजिर उठिन् र उनको गाडीको ‘स्केप हेच’ बाट उनको अनुहार देखिरहेको थियो ।
उनी जनताको अभिवादनलाई हात हल्लाएर स्वीकार गर्दैथिइन् । बेनजिरको सुरक्षामा तैनाथ कसैले उनलाई एकपटक पनि यसो गर्दा उनको ज्यानलाई खतरा हुनसक्छ भनेर सचेत गराएनन् ।
हेराल्डो म्युनिज आफ्नो किताब ‘गेटिंग अवे विथ मर्डर’मा लेख्छन्, ‘३ बजेर १६ मिनेटमा बेनजिर र उनको सवारीलाई ५ देखि ६ मिनेटसम्म पार्किंङ क्षेत्रको भित्रपट्टिको गेटमा पर्खिनुपर्ने भयो किनकी पुलिसले सो गेटको चाबी नै भेटेनन् । यस दौरान पनि बेनजिर आफूलाई जोखिममा राखेर गाडीमा त्यसैगरी उठिरहेकी नै थिइन् ।
एक सेकेन्डमा तीन गोली
यसपछि बेनजिरले १० हजार मानिसका बीच करिब आधा घण्टासम्म भाषण दिइन् । जसमा उनले १७ पटकसम्म आफ्ना पिताको नाम लिइन् । भाषण सकिनासाथ ‘बेनजिर जिन्दावाद’ नाराले सारा सभा गुञ्जायमान भयो ।
भाषणपश्चात् बेनजिर आफ्नो गाडीमा बसिन् । गाडी निकै बेर रोकिनुप-यो किनकी उनका समर्थकले चारैतिरबाट घेरेका थिए । भीड देखेर बेनजिर फेरि उठिन् । गाडीको स्केप हेचबाट उसैगरी उनको शिर र काँध देखियो । त्यसवेला ५ बजेर १० मिनेट गएको थियो ।
ओवेन बेनेट जोन्स लेख्छन्, ‘बिहानैदेखि प्रतीक्षारत बिलाललाई लाग्यो कि उसको समय आयो । ऊ पहिला बेनजिरको गाडीसामू उभियो त्यसपछि छेउतिर गयो जहाँ मान्छे कम थिए । उसले पेस्तोल निकाल्यो र बेनजिरको शिर ताक्यो । एक सुरक्षा गार्डले बिलाललाई रोक्ने प्रयास गरे तर, अलिक टाढा भएकाले उनले बिलालाको हात छुन मात्र भ्याए । त्यतिन्जेल एक सेकेन्ड भन्दा कम समयमा बिलालले ३ गोली फायर गरिसकेका थिए । तेस्रो गोली चल्नासाथ बेनजिर चट्टानजस्तै आफ्नो सिटमा बजारिइन् । उनी ढल्नासाथ बिलालले आत्मघाती बम विस्फोट गरे ।
‘गेटिङ अवे विथ मर्डर’ का लेखक हेराल्डो मुन्योज लेख्छन्, “बेनजिरकी सचिव नाहीद खाँ जो गाडीमा उनको दायाँतर्फ बसेकी थिइन् उनले मलाई भनिन् कि जब उनले ३ गोलीको आवाज सुनिन् तब बेनजिर उनको काखमा ढलिन्, उनको कान र टाउकोबाट निकै रगत बगिसकेको थियो जसले मेरो सबै कपडा भिजाएको थियो । बायाँतिर बसेका फहीमका अनुसार बेनजिर ढल्दाखेरि उनको शरीरमा कुनै प्राण बचेको थिएन तर, गाडीमा सवार अरुलाई कुनै गम्भीर चोट लागेन ।”
कारको चारैवटा टायर पड्कियो
त्यहाँ एउटा पनि एम्बुलेन्स उपलब्ध थिएन । बम विस्फोट भएकाले बेनजिर सवार गाडीको चारैवटा टायर पड्किएको थियो । त्यस्तै अवस्थामा गाडी लिएर चालक रावलपिण्डी जनरल अस्पतालतिर हुइँकिए ।
लियाकत रोडमा ३०० मिटर अघि बढिसकेपछि उनले गाडीलाई बायाँ मोडे । केही दूरीसम्म चलेपछि गाडी चल्नै सकेन । घटनास्थलमा भएका दुई कमान्डो वाहनहरुले बेनजिरको गाडी पछि लाग्ने प्रयास गरे तर, विस्फोटबाट मृत्यु भएकाहरुको लाश र घाइतेको भीडबाट उम्किनै सकेनन् ।
नाहीद खाँ ले ओवेन बेनेट जोन्ससँग भनिन्, ‘हामीसँग बेनेजिरलाई ट्याक्सीमा अस्पताल लग्नुबाहेक कुनै विकल्प थिएन । पुलिसको अत्तोपत्तो थिएन । हामी ट्याक्सीको प्रतीक्षा गरिरहेका थियौं २, ३ मिनेटपछि एउटा जीप आएर रोकियो । त्यसैमा हामीले बेनजिरलाई अस्पताल पु¥यायौं । त्यो जीप बेनजिरका प्रवक्ता शेरी रेहमानको थियो ।’
रेकर्डका अनुसार उनीहरु हमला भएको ३४ मिनेट पश्चात् मात्र अस्पताल पुगेका थिए ।
बेनजिरको घाँटीमा ट्युब राखियो
अस्पतालमा पु¥याउनासाथ बेनजिरलाई पार्किंङ एरीयाबाटै स्ट्रेचरमा राखेर भित्र लगियो । यतिवेलासम्म न त उनको नसा चलेको थियो न त उनको श्वास नै ।
उनका आँखाका नानी एकैठाउँ स्थिर थिए । टर्च बाल्दा पनि उनका आँखाले कुनै प्रतिक्रिया दिएका थिएनन् । उनको टाउकोबाट रगत सँगसँगै एउटा सेतो पदार्थ पनि बगिरहेको थियो । उनको ज्यान गइसकेको लगभग प्रमाणित भइसक्दा पनि चिकित्सकहरुले उनलाई बचाउने पूर्ण प्रयास गरे । घाँटीमा ट्युब हाल्नेदेखि शल्यक्रिया मार्फत् मुटुको मसाज गर्नेसम्मको प्रयासपछि अन्ततः उनलाई ६ बजेर १६ मिनेटमा मृत घोषित गरियो ।
बेनजिरको पछ्यौराको बारेमा अहिलेसम्म पत्ता लागेको छैन
सबै पुरुषहरुलाई अपरेशन थिएटरबाट बाहिर जानका लागि भनियो । डा.कुनसिया अन्जुम कुरेशी र नर्सहरुले उनको मृत शरीर सफा गरे र टाउकोको घाउमा पट्टी बाँधिदिए । रगतमा लतपतिएको उनको कपडा उतारेर अस्पतालको कपडा पहिराइयो ।
डाक्टरहरुले बताए कि जब बेनजिरलाई अस्पताल ल्याइएको थियो तब उनको शरीरमा पछ्यौरा थिएन । अहिलेसम्म त्यो पछ्यौरा कहाँ गयो भनेर पत्ता लाग्न सकेको छैन ।
उनको मृत्यु दर्तामा पनि मृत्युको कारणमा ‘पोस्टमार्टमपछि थाहा हुन्छ’ लेखिएको छ ।
डाक्टर मुसद्दिक खाँ ले ३ पटक पुलिस प्रमुख सऊद अजिजसँग पोस्टमार्टमको अनुमति मागे तर उनले अनुमति दिएनन् । पछि सऊदले बेनजिरको परिवारबाटै यसको अनुमति नदिन भनिएको भन्दै आफ्नो बचाऊ गरे ।
बेनजिर मृत घोषित भएपछि अस्पतालबहिर लागेको घुइँचोले एउटै कुरा भनिरहेको थियो ‘आज फेरि अर्को भुट्टोले हिंसक मृत्युको सामना गर्नुप¥यो’ ।
बेनजिरका पिता जुल्फीकर अलि भुट्टोलाई सैनिक सरकारले फाँसी दिएको थियो । उनका एक भाइ शहनवाजको मृत्यु विषबाट र अर्का भाइ मुर्तजाको मृत्यु गोली लागेर भएको थियो ।
बेनजिरलाई आफ्नो मृत्युको बारेमा पहिल्यै थाहा थियो ?
एकपटक उनी अमेरिकाको कोलोराडोस्थित अस्पेन शहर जाँदै थिइन् । हवाइ जहाजमा उनीसँगै अमेरिकाका राजदूत जालमे खलिलजाद र उनकी पत्नी पनि थिए ।
एयर होस्टेसले बेनजिरसामू सिधै ओभनबाट निकालिएको फ्रेस कुकिज ‘सर्भ’ गरिन् । आफू वजन घटाउने प्रयास गरिरहेको भन्दै शुरुमा बेनजिरले विनम्रतापूर्व उक्त प्रस्ताव नकारिन् । तर, त्यसको एक सेकेण्डमै उनले एयर होस्टेसलाई फेरि बोलाउँदै भनिन्, “ल्याउनुस् दिनुस् । के फरक पर्छ र ? आखिर केही महिनामा मैले मर्नु नै छ ।”
(एजेन्सीको सहयोगमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया