काठमाडौं । सन् १९२२ मा अल्बर्ट आइन्स्टाइन लेक्चर दिनका लागि जापान पुगेका थिए । उनले भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार जितेको समाचार भर्खरै थाहा पाएका थिए । त्यसैबेला टोकियोस्थित इम्पेरियल होटेलमा उनको एउटा कुरियर आइपुग्यो ।
कुरियर लिएर आउने मानिसलाई आइन्स्टाइन खालीहात पठाउन चाहँदैनथे । तर नोबेल जितेका आइन्स्टाइनसँग कुरियरवालालाई टिप्स दिने पैसा थिएन । त्यसैले पैसाको सट्टा उनले आफ्नो हस्ताक्षरयुक्त जर्मन भाषामा लेखिएको दुई ओटा नोट ती व्यक्तिलाई दिए । जसमध्ये एक नोटको सन्देश थियो, सफलताले खुसी दिन्छ नै भन्ने छैन ।
‘लामो खोजी र निरन्तरको बैचनीपछि प्राप्त हुने सफलताले भन्दा एक शान्त र विनयशील जीवनले धेरै खुसी दिन्छ,’ आइन्स्टाइनको नोटमा लेखिएको थियो ।
‘तिमी भाग्यमानी रहेछौ भने सामान्य टिप्सभन्दा यी नोट मूल्यवान् हुनेछन्,’ आइन्स्टाइनले सन्देश लिएर आउने मानिसलाई भनेका थिए, जो जर्मन सहर ह्याम्वर्गका बासिन्दा थिए ।
नभन्दै आइन्स्टाइनको त्यो नोट निकै मूल्यवान ठहरियो ।
खुसीको बारेमा लेखिएको उनको नोट इजरायलको जेरुसलेममा भएको एक लिलामीमा १३ लाख डलरमा बिक्री भएको छ। लिलामीकर्ताहरुले भने ती नोटले केही हजार डलर पाउने अपेक्षा गरेका थिए ।
आइन्स्टाइनले त्यहीबेला लेखेको अर्को नोट पनि २ लाख ४० हजार डलरमा बिक्री भएको छ । त्यो नोटमा एउटा प्रचलित भनाइ लेखिएको छ, ‘जहाँ इच्छा, त्यहाँ उपाय ।’
त्यस्तै आइन्स्टाइनले अन्य समयमा लेखेका अरु दुई नोट पनि मंगलबार भएको लिलामीमा बिक्री भएका छन् । त्यसमध्ये एक ३३,६०० र अर्को ९ हजार डलरमा बिक्री भएको जेरुसलेमको विनर्स अक्सनले जनाएको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया