काठमाडौं । सिभिल बैंकको ओरालो यात्रा कायमै रहेको देखिएको छ । बैंकको नेतृत्व सक्षम नहुँदा बैंकको प्रगति हुन सकेको छैन ।
बैंकले पटक-पटक खराब प्रदर्शन गरिरहे पनि सुधार आउन सकेको छैन । बैंकका अध्यक्ष समेत रहेका घरजग्गा व्यवसायी इच्छाराज तामाङले आफ्नै बैंकको खाताबाट शंकास्पद कारोबार गरेका थिए ।
यस विषयमा सम्पत्ति शुद्धिकरण विभागले तामाङको सम्पत्ति छानबिन गरेको थियो भने अध्यक्ष तामाङको सम्पत्ति विवरण पठाउन नेपाल राष्ट्र बैंक र सिभिल बैंकलाई विभागले पत्र समेत पठाएको थियो ।
तामाङ र उनका व्यवसायिक पार्टनर केशवलाल श्रेष्ठले सिभिल बैंकबाट सीमा भन्दा बढी वित्तीय कारोबार गरेको भन्दै विभागले छानविन गरेको थियो ।
उनीहरुले सिभिल बैंकको चेकबाट सिभिल होटलमार्फत् सिभिल अर्पाटमेन्टलाई पटक – पटक गरी १ अर्ब २ करोड रुपैयाँ स्रोत नखुलेको र सीमा भन्दा बढी भुक्तानी गरेको प्रमाण विभागले फेला पारेपछि अध्यक्ष तामाङ छानबिनमा परेका थिए ।
बैंकको ओरालो यात्रा कायमै :
बैंक कसरी ओरालो यात्रामा लागेको छ भन्ने हेर्न टाढा जानु पर्दैन । यसको पछिल्लो उदाहरण हो चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण । यतिबेला सबै बैंक तथा वित्तीय संस्थाहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।
सिभिलले पनि केही दिन अगाडि दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरणले बैंकको ओरालो यात्रालाई स्पष्ट पारेको छ । यस अवधीमा होस या गत वर्षतिरका वित्तीय विवरणमा होस् बैंकका अधिकांश सुचक नकारात्मक देखिएका छन् ।
बैंकले यस अवधीमा ३५.८६ प्रतिशतले नाफा घटाएको छ । बैंकले यस अवधीमा २० करोड २८ लाख रुपैयाँ मात्रै नाफा कमाएको हो । गत आवको दोस्रो त्रैमाससम्ममा बैंकले ३१ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
वाणिज्य बैंकहरुलाई २०/२५ अर्ब रुपैँया चुँक्ता पूँजी पु-याउनुपर्ने बाध्यता भइरहेका बेला बैंकले साढे ८ अर्ब रुपैँया पनि पु-याउन सकेको छैन ।
हाल बैंकको चुँक्ता पूँजी ८ अर्ब ३३ लाख रुपैँया मात्रै छ । बैंकको रिजर्भमा १ अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।
बैंकले यसपाली निक्षेप संकलनमा भने केही सुधार गरेको देखिन्छ । यस अवधीमा बैंकको निक्षेप संकलन ७६ अर्ब ८४ करोड रुपैयाँमा निक्षेप संकलन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५७ अर्ब ५१ करोड निक्षेप संकलन गरेको थियो ।
बैंकले अवधिमा ६५ अर्ब ६३ करोड कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधीमा बैंकले ५२ अर्ब २० करोड कर्जा प्रवाह गरेको थियो । बैंकले खराब कर्जाको दर भने केही घटाएको छ । गत आवको दोस्रो त्रैमासमा २.६९ प्रतिशत रहेको खराब कर्जा चालु आवको सोही अवधिमा १.७० प्रतिशतमा झरेको छ । बैंकको आधारदर(वेसरेट) ८.४५ प्रतिशत छ । त्यस्तै, सिसिडि रेसियो ७५.३२ प्रतिशत छ भने पुँजीकोष अनुपात १३.७३ प्रतिशत रहेको बैंकले जनाएको छ ।
बैंकले वर्षको दोस्रो त्रैमासमा मात्रै होइन, पहिलो त्रैमासमा पनि नाफा घटाएको छ । बैंकले पहिलो त्रैमासमा गत वर्षको सोही अवधीको तुलनामा ३९.१७ प्रतिशतले नाफा घटाएको छ । बैंकले यस अवधीमा ९ करोड ६६ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधिमा १५ करोड ८९ लाख ५० हजार रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, बैंकको वितरणयोग्य नाफामा पनि धक्का लागेको देखिएको छ ।
यस अवधीमा सिभिलको वितरण योग्य नाफा १२ करोड ९९ लाख ७ हजार रुपैयाँ ऋणात्मक छ ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चलान मुनाफामा आएको गिरावटले नाफा खुम्चिएको बैंकको वित्तीय विवरणले देखाएको छ ।
यस अवधीमा बैंकको खुद ब्याज आम्दानी ४९ करोड ७६ लाख ७५ हजार रुपैयाँ मात्रै छ । जबकी गत आर्थिक वर्षको सोही अवधीमा बैंकले ६० करोड २९ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यसैगरी,बैंकले संचालन मुनाफा पनि घटाएको छ । बैंकको संचालन मुनाफा २२ करोड ५९ लाख ५४ हजार रुपैयाँबाट घटेर १३ करोड ८२ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।
बैंकको जगेडा कोषमा १ अर्ब ६६ करोड १४ लाख ४९ हजार रुपैयाँ रहेको छ । कुनै पनि कम्पनीको जगेडा कोष जति बलियो छ,कम्पनी पनि त्यति नै बलियो हुन्छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चलान मुनाफामा आएको गिरावटका कारण बैंकको प्रगतिमा धक्का लागेको हो । बैंकले खराब कर्जा भने घटाएको छ ।
बैंकको खराब कर्जा २.९३ प्रतिशतबाट घटेर १.५० प्रतिशतमा झरेको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश दिने घोषणा गरिसकेको छ । हाल ८ अर्ब ३३ लाख रुपैयाँ रहेको बैंकको चुँक्ता पूँजी बोनस सेयर वितरणपछि ८ अर्ब ६४ करोड पुग्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया