बिग मर्जर : नबिल र सेञ्चुरी बैंकमा प्रारम्भिक छलफल शुरु

लोकपथ
105
Shares

काठमाडौँ – नबिल बैंक र सेञ्चुरी कमर्सियल बैंकले एक आपसमा मर्जरमा जान प्रारम्भिक छलफल थालेका छन् ।

पछिल्लो समय वाणिज्य बैंकहरु नम्बर वान बन्ने दौडका कारण नबिल बैंक र सेञ्चुरी बैंक पनि एक आपसमा मर्जरमा जाने तयारी गर्न लागेका हुन् ।

पछिल्लो समय नेपाल क्रेडिट एण्ड कमर्ज (एनसीसी) बैंक मर्जरमा जाने हल्ला भएपपनि नबिलले भने सेञ्चुरीलाई नै छानेको विशेष स्रोतले जनाएको छ । अहिले कति स्वामा मर्जर गर्ने, कर्मचारी व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा विस्तृत छलफल भएको छैन ।

‘अहिले सेञ्चुरीसँग प्रारम्भीक छलफल हुँदैछ ।’ विशेष स्रोतले लोकपथसँग भन्यो ।

यसअघि एनसीसीसँग मर्जमा जाने विषयमा एकाध कुरा भएपनि नबिल भने सेञ्चुरी बैंकसँग मर्जमा जान इच्छुक रहेको स्रोतको भनाई छ ।

प्रारम्भीक छलफलमा कुन कुन विषयमा छलफल हुन्छ भन्ने तत्काल जानकारी भएको छैन । ‘तर नबिलले भित्रैदेखि सेञ्चुरी मन पराएको बैंक हो ।’ स्रोतले भन्यो । अहिले नबिल बैंक अनिलकेशरी शाहले हाँकिरहेका छन् भने सेञ्चुरी कमर्सियल बैंक तुलसीराम गौतमले ।

त्यसो त सेञ्चुरी कमर्सियल बैंकलाई नेपाल राष्ट्र बैंकले बजारमा राम्रो ‘पर्फमेन्स’ गर्न र प्रतिस्पर्धा गर्न नसक्ने भन्दै दबाबपूर्ण मर्जरमा लान खोजिरहेको थियो ।

त्यसैले पनि नबिल बैंकले सेञ्चुरीलाई पच्छ्याइरहेको स्रोतको दाबी छ । कारोबारका हिसाबले एनसीसी भन्दा सेञ्चुरी नै उपयुक्त भएकाले नबिलको चासो त्यता देखिएको स्रोतको दाबी छ ।

यसअघि उद्योगी विनोद चौधरीले एनसीसीको करिब १० लाख कित्ता शेयर किनेर बैंकमा प्रवेश गरेका थिए । उनी एनसीसीमा प्रवेश गर्नुलाई नबिलसँगको मर्जरको विषयलाई जोडेर हेरिएको थियो । चौधरीको नबिल बैंकमा ५० प्रतिशत शेयर हिस्सा छ । ठूलो शेयरको हिस्सा भएका चौधरीले एनसीसीको शेयर किन्दा नबिल र एनसीसी मर्ज हुने अड्कल गरिएको भए पनि नबिलले भने सेञ्चुरीलाई नै मर्ज गर्न चाहेको स्रोतको दाबी छ ।

नेपाल राष्ट्र बैंकका तत्कालिन गभर्नर डा चिरन्जीवी नेपालले आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थाको पूँजी वृद्धि गर्ने नीति लिएका थिए । डा।नेपालको मुख्य उद्येश्य भनेकै ठूला बैंकहरुको संख्या घटाउनु थियो । तर ठूला बैंक टसमस नभएपछि गत वर्षको मौद्रिक नीतिमार्फत् पनि ठूला बैंकहरुको मर्जरको नीति ल्याउने प्रयास गरेका थिए ।

बिग मर्जर मौद्रिक नीतिमा आएन । तर निवर्तमान गभर्नर नेपालले आफ्नो कार्यकालमा बिग मर्जरको सुरुवात भने गरीछाडे ।

जुन बेला ग्लोबल आइएमई बैंक र जनता बैंक मर्ज भएका थिए ।

राष्ट्र बैंकले दबाबपूर्ण रुपमा मर्ज नगराए पनि ठूला बैंकलाई कसरी पूँजीगत रुपमा बलिया र ठूला बन्ने भन्ने नैतिक दबाब परेको छ । त्यसैले पनि बैंकहरु धमाधम मर्जरमा गइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?