काठमाडौं । हाल जारी राष्ट्रिय महिला लिग फुटबलमा सोमवार उदयपुरको चौदण्डीगढी नगरपालिकाको पोस्टमा साविक विजेता एपीएफले २२ गोल गर्यो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमवार भएको खेलमा एपीएफकी सावित्रा भण्डारी (साम्बा) एक्लैले १२ गोल गरिन् । यस्तै कप्तान अनु लामाले ५ गोल गर्दा उपकप्तान अनिता बस्नेतले ३ गोल गरिन् । रेनुका नगरकोटी र सरु लिम्बुको नाममा एक एक गोल रह्यो ।
उक्त खेलमा सावित्रा भण्डारी ‘प्लेयर अफ दि म्याच’ भएकी थिइन् । एपीएफले खेलेको कूल ६ खेलमध्ये ३ खेलमा साम्बाले आफूलाई उत्कृष्ट खेलाडी अर्थात् ‘प्ल्यर अफ दि म्याच’का रुपमा उभ्याइसकेकी छिन् ।
यस सँगै जारी राष्ट्रिय महिला लिग फुटबलमा एपीएफ शीर्ष स्थानमा रहेको छ । ६ खेल खेलेको एपीएफले १८ अंक जोडिसकेको छ ।
अन्तिम मिनेटमा गरेकोएक गोलले समेत कायापलट गरिदिने यस खेलमा एउटा समूहले एउटै म्याचमा २२ गोल हान्नुले के सङ्केत गर्छ ? प्रतिस्पर्धा गर्न लायक टिम नै तयार नभएको हो ?
सोही खेलमा १२ गोल वर्षाउने एपीएफकी ‘स्टार’ खेलाडी साम्बासँग लोकपथले प्रश्न गर्यो, ‘१२ गोल गर्दा कस्तो अनुभव भयो ?’
साँच्चै भन्नु पर्दा त्यस्तो धेरै खुशी लागेन किनभने जुनियर टिममसँगको खेलमा मैले १२ गोल गरेकी हुँ । हिजो भएको खेलमा धेरै गोल गर्न मन थिएन । जुनियर टिम भयो भन्दैमा धेरै गोल गर्नु राम्रो होइन । यो महिला लिग हो त्यसैले नगरपालिकाहरु पनि सहभागी भएका छन् । धेरै गोल हान्यो भने उनीहरु डिमोटिभेट हुनसक्छन् । त्यसो नहुन् भन्ने मेरो उद्देश्य हो ।’ साम्बा अगाडि थप्छिन्, ‘एउटा इतिहास नै बन्यो मेरो १२ गोल तर भित्रबाट म खुशी छैन ।’
उपाधिमा नजरः
यस लिगमा आफ्नो टार्गेट के हो भन्ने प्रश्नमा साम्बा भन्छिन्, ‘अब जुनसुकै लिग खेल्दा पनि टार्गेट भनेको त उपाधि नै हो । जित हात पार्न नै खेल्ने हो । तर आफूसँगका प्रतिस्पर्धी कस्ता छन् भन्ने कुराले फरक पार्छ । खेल्ने आफूले हो, आफूले सत प्रतिशत दिने हो ।’
अन्य टिमको नजर पनि ट्रफीमै हुने बताउँदै उनी भन्छिन्, ‘मलाई लाग्छ हरकोहीको नजर उपाधिमा हुन्छ र त्यो स्वभाविक पनि हो ।’
‘यस पटकको महिला लिग कसले जित्ला जस्तो लाग्छ ?,’ लोकपथले फ्यानहरुको जिज्ञासालाई शान्त पार्न अर्को प्रश्न राख्यो ।
अलि डिप्लोम्याटिक हुँदै साम्बाले भनिन्, ‘अहिले नै कसले जित्छ भनेर ठ्याक्कै भन्न सकिन्न किनभने भर्खरै फस्ट राउण्ड सकियो । अहिलेसम्म त हामी नै अगाडि छौँ तर अब राउण्ड २ को खेलले महत्व राख्छ । हेरौं कसले कस्तो खेल्नुहुन्छ ।’
को हुन् सावित्रा भण्डारी साम्बा ?
नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी भन्नासाथ हाम्रो दिमागमा आउने नाम हो सावित्रा भण्डारी । सावित्रा भण्डारी भन्दा पनि आफ्नो उपनाम ‘साम्बा’ले चिनिने गरेकी छिन् उनी ।
राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर साम्बा देशमा मात्र नभइ दक्षिण एशियामै चर्चित छिन् । गोल मेसिन उनको अर्को उपनाम हो ।
जब साम्बा मैदानमा उत्रिन्छिन् तब उनका नाम लिएर दर्शकहरु ‘हुटिङ’ गर्न थाल्छन् । साम्बाको खेलले उनको व्यक्तिगत छविलाई मात्र नभएर सारा राष्ट्रकै छविलाई चम्काएको छ । राष्ट्रिय टिमसँगको ६ वर्षको छोटो खेल यात्रामा ३८ अन्तर्राष्ट्रिय गोल गर्नुले यही प्रमाणित गर्छ ।
५ फिट ५ इन्च उचाइ, पातलो शरीर जसमा ‘कर्भ’ भनेको उनको मुस्कान मात्रै हो जुन कमै देखिन्छ किनकी उनी विरलै मुस्कुराउँछिन् । चट्ट ब्वाइजकट स्टाइलमा छाँटिएको कपालको बीच भाग गोल्डेन रङ्गले हाइलाइट गरिएको छ । कपाल मात्रै होइन साम्बाको बोलीचाली, हाउभाउ, लवाइखवाइ सबै केटाकै जस्तो छ । पहिल्यैदेखि । जसकारण साम्बा भीडबाट छुटिन्छिन् ।
भलै लमजुङको सिमापानी नामक सानो गाउँमा निम्न आय भएको परिवारमा जन्म भएको होस् तर, आफूले सपना पूरा गर्नलाई सपोर्टको अभाव कहिल्यै झेल्नु परेन । हो, फुटबल खेल्ने जुत्ता नहुँदा उनले चप्पल लगाएरै खेलिन्, धेरै खेलेर त्यही चप्पल चुट्टिँदा खाली खुट्टै खेलिन् । खेल्ने साथी नहुँदा एक्लै खेलिन् । फुटबल नहुँदा मोजामा कागज खाँदेर आफैले बल बनाएर खेलिन् । तर, यी सबै अभाव गौण भए उनको अदम्य साहसका अगाडि । किनकी माया र पारिवारिक साथको अभाव उनले कहिल्यै झेल्नुपरेन ।
‘बुबाले सधैं साथ दिनुभयो, आमाले चाहिँ धेरै नखेल् भनेर गाली गर्नुहुन्थ्यो,’ साम्बा आफू एपिएफ क्लबमा छानिएर काठमाडौं आउने वेलाको क्षण स्मरण गर्दै अगाडि थप्छिन्, ‘तर, मैले घर छोड्दा सबैभन्दा बढी दुखी आमा नै हुनुहुन्थो ।’
यो पनि पढ्नुहोस् : महिला फुटबल स्टार साम्बासँग रोचक कुराकानी : प्रेम सम्बन्धदेखि मनपर्ने फुटबल खेलाडीसम्म
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया