कहिले आउँछ मेलम्ची ? आशै आशमा बित्यो जुनी !

लोकपथ
0
Shares

कमला अर्याल/ काठमाडौं ।  राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको कामको प्रगति हेर्ने हो भने सर्वसाधारणलाई पट्यार लाग्दो भएको छ । मेलम्चीको पानी कुरेर बसेका काठमाडौं उपत्यकाबासीको जुनी पानी कुर्दै बितिसक्यो । तर मेलम्ची आएको छैन । आयोजनाले काम सकियो अब पानी आउन लाग्यो भनेको पनि वर्षौ बितिसक्यो । तर पनि पानी आएन ।

किन आएन पानी ? 

आयोजनाको सुरुङमा पुनः पानी पठाएर परीक्षण गर्ने काम सुरु भएकै छैन । कहिले हुन्छ परिक्षण त्यसको पनि अझै टुंगो लागेको छैन । जर्मनको विज्ञ टोलीलाई पाइपको सुरुङमा पानी हाल्नुपूर्व परिक्षण गराइएको थियो । सो टोलीले जनवरी अन्तिमसम्म प्रतिवेदन बुझाउने भनेपनि अझै नबुझाएका कारण ढिलाई भएको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।‘ कुनै समस्या छैन भनेर अन्तिम प्रतिवेदन आएपछि मात्रै पुनः परीक्षणको काम शुरु हुन्छ ।’ प्रवक्ता पन्तले भने ।

सो अध्ययन टोलीले कहिलेसम्म प्रतिवेदन बुझाउँछ भन्ने टुंगो अझै लागेको छैन । उनीहरुको प्रतिवेदन आएपछि मात्रै पाइपमा पानी हालेर पक्षिण गरिने कार्यक्रम रहेको छ । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–१ स्थित आयोजना स्थलमा असार २१ मा पानी पठाइएको थियो । असार ३० मा दुर्घटना भएको थियो । त्यसपछि निर्माण कम्पनीले त्रुटि सच्याएको थियो । सुरुङमा पानी परीक्षणका लागि पठाउनु पूर्व चार द्वारको सुधार समेत गरेको छ ।

गत वर्ष खाने पानी मन्त्री बिना मगरले कुनै पनि हालतमा आफूले मेलम्चीको पानी ल्याई छाड्ने दाबी गरेकी थिईन् । तर उनले पनि पानी उपत्यका ल्याउन सकिनन् । मगर जस्तै कयौ पटक कयौँ खानेपानी मन्त्री आए गए । तर उनीहरु कसैले पनि काठमडौँका सर्वसाधारणको खानेपानीको समस्या समाधान गर्न सकेनन् । जुनसुकै मन्त्री आएपनि उपत्यकामा मेलम्चीको पानी ल्याएनन् । सर्वसाधारणमाथि सधै खाने पानीका नाममा झेल मात्रै भइरह्यो । आज भोली गर्दै मेलम्चीमा राजनीति गरियो । निर्माणको काम लगभग सबै सम्पन्न भएको छ ।

पाइपमा पानी हाल्नुपूर्व थर्ड पार्टीबाट परिक्षण गराउनुपर्ने भएकाले जर्मनबाट विज्ञ टोली मगाएर परिक्षण गर्ने काम समेत भएको छ । यो काम गत डिसेम्बर मा नै सम्पन्न भइसकेको छ ।

जर्मनी विज्ञ टोलीले नयाँ अंग्रेजी वर्षको जनवरी अन्तिमसम्म नेपाल सरकारलाई प्रतिवेदन बुझाउने छन् । विज्ञहरुको प्रतिवेदन आएपछि पानी खन्याउन शुरु गरिने मेलम्ची आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । तर केही काम भने अझै बाँकी रहेको उनको भनाई छ । ‘सानातिना काम अझै बाँकी छन् ।’ प्रवक्ता पन्तले भने । उनका अनुसार नदीमा बाँध बाँध्ने काम अझै १० प्रतिशत बाँकी छ । ९० प्रतिशत सम्पन्न भइसकेको छ ।

वैकल्पिक प्रणालीबाट पानी ल्याउन खोजिएकाले पनि केही बिलम्ब भएको उनले बताए । वैकल्पिक बाटोबाट पानी ल्याउन सुरुङ खन्नै अझै दुई महिना लाग्नेछ । सो सुरुङको काम अझै सकिएको छैन । गत असारमा भएको दुर्घटनाको कारण काममा केही ढिलाई भएको पन्तको भनाई छ । उनका अनुसार आयोजनाको कुल बजेट ३१ अर्ब ३६ करोडमध्ये हालसम्म ३० अर्व रुपैँयाकोे हाराहारीमा खर्च भएको छ ।

कहिले आउला त पानी ?

जनवरी महिनाको अन्तिमसम्म अध्ययन टोलीले सरकारलाई प्रतिवेदन बुझाउने भनेपनि त्यसको टुंगो अझै लागेको छैन ।

फेब्रुअरीको अन्तिमसम्म पानी पठाउने तयारी आयोजनाले गरेको थियो । तर पुनः परिक्षणको कामै शुरु भएको छैन । त्यसैले कहिलेसम्म पाउने आउँछ भन्ने टुंगो छैन ।

आयोजनाले प्राकृतिक विपत्तिले पनि पानीलाई असर नगरोस् भनेर वैकल्पिक प्राणली बनाएको भन्दै काममा ढिलाई गरिरहेको छ । प्रवक्ता भन्छन्, ‘छिट्टै पठाउने प्रयास गरिरहेका छौँ ।’

यसरी भयो आयोजनाको शुरुवात

यो आयोजनाको सम्भाव्यता अध्ययन वि. स. २०४१ तिर नै भएको थियो । वि.स.२०५२ सालमा पहिलो पटक मेलम्ची खानेपानी लिमिटेड स्थापना भएको थियो । यससँगै आयोजनाको कामको थालनी गरिएको थियो । यसले लगानीकर्ता खोज्न नसकेपछि वि.स.२०५५ सालमा विकास समितिमा लगिएको थियो । त्यसपश्चात यस आयोजनाको काम अगाडि बढाउन वि.स.२०५७ मा एसियाली विकास बैंक (एडीबी) लगायतका दातृ निकायसँग ऋण सम्झौताको काम समेत भएको थियो । सो ऋण सम्झौता गर्दा ६/७ वर्ष अर्थात (२०६४) भित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएकोे थियो । तर काम भने अझै सम्पन्न भएको छैन । २०६१ सम्म आइपुग्दा यस योजनाबाट नोर्डिक र सिडा लगायतले सम्झौता गरेको लगानी पनि नगर्ने भए । यस आयोजनामा वि.स.२०६५ सालमा चिनियाँ ठेकेदार कम्पनीले भित्रियो । यसले ५ वर्षका काम सक्ने लक्ष्य राखे पनि निकै सुस्त काम गरेपछि सरकारले एतर्फी रुपमा ठेक्का तोडेको थियो । त्यस्तै २०७० सालमा इटालियन कम्पनी सीएमसीले बाँकी गर्ने गरी सम्झौता भयो ।

सीएमसीले आयोजनाको काम तीन वर्षमा गर्ने सम्झौता भएको थियो ।

सो कम्पनीले पनि विचमै काम छाडेपछि आयोजनाको काम फेरी प्रभावित भएको थियो ।

एक पछि अर्को कम्पनी परिवर्तन गरिहनु परेकाले पनि उपत्यकामा पानी ल्याउन ढिलो भएको प्रवक्ता पन्तले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?