हालसम्मकै ठूलो आईपीओ निष्काशन गरेको ‘निफ्रा’को यस्तो छ प्रगति विवरण

काठमाडौं । नेपालमा हालसम्मकै सबैभन्दा ठूलो आईपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खासै राम्रो प्रगति गर्न नसकेको देखिएको छ ।

बैंकको वित्तीय विवरण अनुसार यस अवधीमा बैंकले नाफा, प्रतिशेयर आम्दानी, ब्याज आन्दानी, संचालन मुनाफा लगायत घटाएको देखिएको हो । बैंकको नाफा घटेसँगै प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको बैंकको वित्तीय विवरणले देखाएको छ ।

पछिल्लो समय ब्याजदरमा आएको गिरावटको असर निफ्राको मुनाफामा देखिएको छ । बैंकको प्रमुख आम्दानी ब्याज आम्दानी घटेपछि मुनाफामा धक्का लागेको हो ।

बैंकले चालू आवको दोस्रो त्रैमासमा ३५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्ष सोही अवधिमा बैंकले ४० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले गत वर्षको तुलनामा यस अवधीमा १२.५४ प्रतिशत नाफा घटाएको छ । त्यस्तै,बैंकले यस अवधीमा २७ करोड ६० लाख रूपैयाँ वितरण योग्य नाफा कमाएको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ५० करोड ३५ लाख रुपैयाँ रहेको छ । यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.३२ प्रतिशत कम हो । त्यस्तै,बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७१ पैसाबाट ५ रुपैयाँ ८७ पैसामा झरेको वित्तीय विवरणले देखाएको छ । त्यस्तै,बैंकले यस अवधीमा ५६ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.७२ प्रतिशत कम हो।भर्खरै आठ अर्बको आईपीओ जारी गरेको बैंकको शेयर पूँजीकृत हुन बाँकी नै रहेको छ । बैंकको जगेडा कोषमा १ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । यस अवधीमा बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । आईपओ पूँजीकृतपछि आठ अर्ब पुग्नेछ ।

यस अवधीसम्म बैंकले सो अवधिसम्ममा बैंकले ३४ करोड निक्षेप सङ्कलन गरेको छ भने १ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसका साथै बैंकले १३ अर्ब ४३ करोड रूपैयाँ बैंकहरूमा निक्षेप लगानी गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?