जलवायु परिवर्तनः विश्वभर बहँदैछ तातो हावा, यसकारण तपाईले मतलब राख्नैपर्छ

‘विश्वको औसत तापक्रममा तीन डिग्रीले बढ्यो’

काठमाडौं । संयुक्त राष्ट्र वातावरण कार्यक्रम (यूएनईपी)ले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार पृथ्वीमा ग्रीन हाउस ग्यास उत्सर्जन अहिले उच्च स्तरमा पुगेको छ ।

विश्वको विगत एक सय वर्ष (सन् १९०६–२००५) को तापक्रम हेर्दा पृथ्वीको औसत तापक्रममा ०.७४ डिग्री सेल्सियसले वृद्धि भएको छ र २१ औं शताब्दीसम्ममा १.४ डिग्री सेल्सियसदेखि ५.८ डिग्री सेल्सियससम्मले बढ्ने अनुमान गरिएको छ । सो प्रतिवेदन अनुसार विश्वको औसत तापक्रम तीन डिग्री सेल्सियसले वृद्धि भएको छ ।

यूएनईपीका अनुसार विश्व तीव्र गतिमा नयाँ र उच्च जलवायु परिवर्तनतर्फ बढिरहेको छ । जानकारहरु भन्छन्– यो विश्वको लागि खतरा हो ।

यसअघि सार्वजनिक एक रिपोर्टले विश्वभरका एक सयभन्दा धेरै वैज्ञानिकहरूले गरेको अनुसन्धानले पहिले ठानिएभन्दा तीव्र गतिले समुद्रको सतह बढिरहेको देखाएको छ । ‘विश्वमा जलवायु परिवर्तन तीव्र गतिमा बढ्दै गएको कारण यसको नतिजा पनि भयानक हुँदै गएको छ । जस्तै मौसम अचानक परिवर्तन हुनु, आर्कटिकमा हिउँ कम हुँदै जानु र पश्चिमी अमेरिका वा साइबेरियाको जंगलमा ठूलो आगलागी तथा तातो हावा बहनु रहेको छ,’ यूएनईपीको प्रतिवेदनमा लेखिएको छ ।

अध्ययनकर्ताहरुका अनुसार नोभेम्बर महिना पूरै विश्वमा अहिलेसम्मको सबैभन्दा गर्मी भएको थियो । राष्ट्रसंघका वैज्ञानिकहरूका अनुसार ग्रिनल्यान्ड तथा अन्टार्टिकाका बरफ अभूतपूर्व गतिले पग्लिरहेको छ ।

बीबीसीले लेखेको छ – ‘जलवायु परिवर्तन कम नभए हामीले हाम्रा केही प्रिय खाना तथा पेयलाई बिर्सनुपर्ने हुनसक्छ । जब तापक्रम र मौसमी लय बदलिन्छन्, बाली राम्ररी उब्जाउ हुँदैन भने माछा र जनावरहरू मर्न सक्छन् । सन् २०५० सम्ममा विश्व तापमानका कारण कफी उत्पादनका लागि उपयुक्त भूमि आधा घट्ने देखिएको छ । सन् २०८० सम्ममा कफीका कतिपय प्रजाति एकसाथ लोप हुनसक्ने ठानिएको छ ।

कफी निर्यात गर्ने एउटा प्रमुख देश तान्जानियाले समेत गत पचास वर्षमा आफ्नो उत्पादनमा पचास प्रतिशत ह्रास आएको बताएको छ । चियाका बिरूवा उम्रने समय मनसुन तीव्र भइरहेको छ जसले चियाको स्वादमै प्रभाव पारेको छ ।

के छ पेरिस सम्झौतामा ?

सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी २१ औं अन्तर्राष्ट्रिय सम्मेलनको सम्झौता कार्यान्वयन गर्न कार्यविधि तयार भएको छ । पेरिस सम्झौताले जलवायु परिवर्तनको प्रमुख कारक मानिएको हरितगृह ग्यास उत्सर्जन कम गर्न प्रोत्साहित गरेको छ । यसलाई सहज भाषामा एउटा ‘रुल बुक’ जस्तै मानिएको छ ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्षराष्ट्रले १२ डिसेम्बर २०१५ मा फ्रान्सको राजधानी पेरिसमा यो सम्झौता गरेका थिए । तेल उत्पादक देशहरु १.५ डिग्री सेल्सियस तापक्रम कायम राख्नमा सहमत नहुनु र अन्य मुलुकले भने १.५ डिग्रिसेल्सियस नै तापक्रम राख्नुपर्छ भन्ने अडान लिएका थिए ।

अहिले १ सय ९७ मध्ये ६३ मुलुकले यसलाई अनुमोदन त गरेका छन् तर प्रदूषण प्रतिशत ५२.११ प्रतिशत मात्र पुगेको छ । यो प्रतिशत मात्रा ५५ पुग्यो भने यो सम्झौता लागु भएको मानिन्छ । सो सम्झौताको मूख्य उद्देश्य विश्व तापमान वृद्धिलाई २ डिग्री सेल्सियसभन्दा कम कायम गर्नु हो ।

यद्यपी अहिले विश्वभर कार्बनडाइअक्साइडको उत्सर्जनमा ऐतिहासिक कमी आएको छ । यसअघिका कुनै पनि युद्ध, आर्थिक मन्दी र महामारीमा पनि कार्बन उत्सर्जनमा अहिलेको जस्तो कमी देखिएको थिएन । तर, कोभिड १९ को असरबाट जोगिन विश्वका धेरै देशले लकडाउनको नीति कडाइका साथ लागू गरेपछिको केही महिनामा नै कार्बन उत्सर्जनको ग्राफ ऐतिहासिक रुपमा तल झरेको देखिन्छ ।

जलवायु परिवर्तनका प्रभावसँग जुध्न नीतिगत प्रक्रिया र पद्धति निर्माणमा विश्वभर सहयोगी मानिएको ‘पेरिस सम्झौता’ नेपालले अनुमोदन गरेको छ । तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सरकारका तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका थिए । विश्वका अन्य ठूला प्रदूषण मुलुकको तुलनामा नेपालले गर्ने प्रदूषण नगण्य छ । सरकारी तथ्याङ्कअनुसार प्रदूषणमा ०.०२७ प्रतिशत मात्र नेपालको हिस्सा छ । विगत ३६ वर्ष (सन् १९७५–२०१०) को तापक्रम तथ्याङ्क विश्लेषण गर्दा नेपालको अधिकतम औसत तापक्रम वार्षिक करिब ०.०६ डिग्री सेल्सियसले वृद्धि भएको छ ।

के कारण हुन्छ तापक्रम वृद्धि ?

तापक्रम वृृद्धि हुनुको मुख्य कारण कार्बनडाइअक्साइड, नाइट्रसअक्साइड, मिथेन, हाइड्रोकार्बन आदि जस्ता हरितगृह ग्यासको वायुमण्डलमा बढ्दो उत्सर्जन नै हो ।

मानवउत्सर्जित हरितगृह ग्यासमध्ये कार्बनडाइक्साइड, मिथेन, नाइट्रसअक्साइड र अन्य ग्यासले क्रमशः करिब ७२, १८, ९ र १ प्रतिशत अंश ओगटेका छन् ।
सन् १७५० यता वायुमण्डलमा हरितगृह ग्यासमध्ये कार्बनडाइक्साइड, मिथेन र नाइट्रस अक्साइडको मात्रा क्रमशः ३६, १४८ र १८ प्रतिशतले बढेको छ ।

हरितगृह ग्यास उत्पादनमा चीन सबैभन्दा अघि

सन् २०१९ को तथ्याङ्क अनुसार उद्योग, खानी र मानवीय क्रियाकलापबाट चीनले ३० प्रतिशत हरितगृह ग्यास उत्सर्जन गर्दछ जुन सबैभन्दा बढी हो । चीनलाई पच्छ्याउँदै अमेरिकाले विश्वमै दोस्रो बढी अर्थात् १५ प्रतिशत हरित गृह ग्यास उत्पादन गर्दछ । यता नेपालको अवस्था हेर्ने हो भने जम्मा उत्पादनको ०.०२५ प्रतिशत मात्र नेपालबाट उत्पादन हुन्छ । नेपालजस्ता अन्य अविकसित देशहरुको अवस्था लगभग उस्तै छ । यसर्थमा ‘ग्लोबल वार्मिङ’ सिर्जना गर्ने मूख्य दोष औद्योगिक र सम्पन्न राष्ट्रहरुको रहेको देखिन्छ ।

आजैदेखि हरितगृह ग्यासको उत्सर्जन शुन्यमा झार्ने हो भने पनि औद्योगिकरण हुनुभन्दा अगाडिको अवस्थामा पु¥याउन अझै १ सय वर्ष लाग्ने जनाइएको छ ।
नेपालमा कस्ता असर देखिएका छन् ?

हरितगृह ग्यासको बढ्दो उत्सर्जनले वायुमण्डल तात्दै जाँदा स्थानविशेषको जलवायुमा पनि परिवर्तन हुँदै गएको छ । नेपालको परिप्रेक्षमा जलवायु परिवर्तनका कारण वार्षिक वर्षा–चक्रमा हेरफेर, कहिले लामो समयसम्म खडेरी तथा कहिले एकैदिन धेरै परिमाणमा पानी (मुसलधारे वर्षा) हुने गरेको छ ।

२४ घण्टाभित्र सय मिलिमिटर वा सो भन्दा बढी परिमाणमा पानी पर्ने दिनहरुको सङ्ख्या बढ्दै गएका छन् । दिन र रात दुवै पहिलेको भन्दा ताता हुने गरेको अर्थात् ठण्डा दिन र रातको सङ्ख्या कम हुँदै गएका छन् । तीव्र गतिमा हिमस्खलन हुँदै जानाले हिमनदी पातलिँंदै र सानो हुँदै गएको र हिमतालको आकार बढ्दै गएको छ । जलवायु परिवर्तनको असर विशेष गरेर नेपालजस्ता गरिब, विकासोन्मुख, भूपरिवेष्टित तथा पर्वतीय मुलुकमा बढी देखिएको छ । अतिवृष्टि, अनावृष्टि, सघनवृष्टि, बाढी, पहिरो, डढेलोजस्ता प्रकोपमा वृद्धि भएको छ ।

भविष्यमा तपाईको खाना खाने टेबलमा के नहुन सक्छन् ?

यही सन् २०२० मा अहिलेसम्मको सबैभन्दा अधिक गर्मी बढेको रेकर्ड भएको छ । संयुक्त राष्ट्र वातावरण कार्यक्रमका कार्यकारी निर्देशक इनगर एन्डरसनले बताएका छन् ।

यसको परिणामस्वरुप जंगलमा आगलागी, आँधीबेहरी र खडेरीको कहरको रुप देखिनेछ । यस्तो अवस्थामा भविष्यमा हुने संकटको सामना गर्नको लागि सन् २०१५ मा भएको पेरिस सम्झौतालाई लागू गर्न जरुरी छ ।

‘तपाईले चकलेट खान पाउनुहुने छैन’

चकलेट बनाउने कच्चा पदार्थ कोकोआको बिउ कोको पड्स उच्च तापक्रम र अत्याधिक आद्रताबीच राम्ररी हुर्कन्छ । तर उनीहरूका लागि स्थिरता चाहिन्छ । कोकोका बिरूवाहरूको माग कफीका बिरूवाजत्तिकै उच्च छ । र, तापक्रममा आएको परिवर्तन, वर्षा, माटोको गुणस्तर, सूर्यको प्रकाश वा वायुको गतिको उत्पादनमा ठूलो प्रभाव हुन्छ । इन्डोनेसिया र अफ्रिकाका उत्पादनकर्ताहरूले कोकोआका बिरूवा छाडेर अडीर र रबर जस्ता अलि भरपर्दा बालीहरूतर्फ लागेका छन् ।

४० वर्षको अवधिमा घाना र आइभरी कोस्टले आफ्नो औसत तापक्रम थप दुई डिग्रीले बढेको महशुस गर्ने अपेक्षा गरिएको छ । तिनै दुई देशहरूबाटै विश्वभर दुईतिहाई भन्दा बढी कोकोआ निर्यात हुन्छ ।

‘माछा पनि पाइने छैन’

कार्बनडाइअक्साइड सोस्नुले पनि समुद्रको पानीलाई अझ बढी अम्लीय बनाएको छ । जसको अर्थ शेलफिस(शंखे माछा)लाई आफ्ना शरीरमा कवचहरू उमार्न गाह्रो हुनु हो । सबैभन्दा राम्रो प्रमाण माछा मार्ने जालोमा भेटिन्छ । विश्वव्यापी रूपमा त्यस्ता जालोमा माछा पर्ने दर ५ प्रतिशतले घटेको छ । यही क्रममा बढ्ने हो भने उत्तरी समुद्रमा माछा मार्नेहरूले आफ्नो व्यवसायमा एक तिहाइसम्म ह्रास महसुशुस गर्नेछन् ।

‘आलु उब्जिरहन्छ तर तिनले धेरै खडेरीहरूको सामना गर्नेछन्’

सन् २०१८ को एउटै तातो गर्मीयामले आलुको उब्जनी एक चौथाईले कम गरिदियो । ब्रिटिश सञ्चारमाध्यमहरूले जनाए अनुसार प्रत्येक आलु तीन सेन्टिमिटरले साना भइदिए ।

दक्षिण–पश्चिम फ्रान्समा रहेको ६ सय वर्ष पुरानो कोन्याक उद्योग अहिले संकटमा छ । बढ्दो तापक्रमले त्यहाँका प्रसिद्ध अङ्गुरहरू प्रशोधन गर्नका लागि निकै गुलियो भइदिए । उत्पादकहरूले व्यग्रतापूर्वक त्यसलाई विस्थापित गर्न खोजिरहेका छन् । उनीहरूले वर्षेनी अनुसन्धानमा लाखौं युरो खर्च गरे पनि अहिलेसम्म निकै कम सफलता हात लागेको छ ।

त्यसमाथि उत्तरतर्फ स्कटल्यान्डमा ह्विस्की उत्पादकहरू सोचमग्न छन् । बढ्दो तापमानले गर्दा सिर्जना हुने खडेरीले कञ्चन पानीको आपूर्तिमा कमी ल्याइरहेको छ । बीबीसीले लेखेको छ– ब्रिटेन र आयरल्याण्डले अब हरेक आठ वर्षको अन्तरालमा चरम मौसम सामना गर्न सक्छन् ।

के यो मेरो समस्या होइन ?

यी कुनै उत्पादनले आफूलाई असर पार्दैन भन्ने तपाइलाई लाग्न सक्ला । तर के कुरा बुझ्न जरुरी छ भने विश्वव्यापी खाद्य चक्रमा देखिएको यो नाटकीय परिवर्तनले लाखौं मानिसको जीवनयापनमा असर पार्नेछ ।

कम उत्पादनसँगै वस्तुको मूल्य बढ्नेछ । खाद्य अभावले सहजै मानवीय सङ्कट सिर्जना गर्नेछ । त्यसैले जलवायु परिवर्तनले निम्त्याउने समस्या झेल्नका लागि तयार रहनुको विकल्प एउटै छः वायुमण्डललाई सफा राखौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?