नेपाल टेलिकमलाई फाइभ जी सेवामा लैजान तयारी शुरु गरिने

लोकपथ
0
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमले फाइभ जी सेवामा लैजानको निम्ति तयारी गर्नुपर्ने बताएका छन् ।

आज (बिहिवार) नेपाल टेलिकमको १७ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपाल टेलिकमले तुरुन्तै फाइभ जीमा जानको लागि तयारी गर्नुपर्ने बताएका हुन् । फोर जी सेवाको व्यवस्थापन, कार्यान्वयन तथा लगानी गर्दाको प्रभावकारीता समिक्षा गर्दै फाइभ जी तर्फ जानुपर्ने आवश्यकता रहेको उनको भनाई छ । नेपाल टेलिकमको फ्रिक्वेन्सीहरुलाई प्रयोगहिन नबनाउन उनले आग्रह समेत गरे ।

मन्त्री गुरुङले नेपाल टेलिकमलाई पूर्वाधार कम्पनीको रुपमा अघि बढाउनुपर्ने पनि बताए । टेलिकमलाई पूर्वाधार कम्पनीको रुपमा व्यवस्थापन गर्ने पहलकदमी मन्त्रालयले लिने उनको भनाई छ । उनले कर्मचारीको नियमावली पास गरेर कर्मचारी व्यवस्थापनको क्षेत्रमा नयाँ ढंगले सुधार गर्नुपर्ने पनि बताए । कर्मचारीहरुले फिल्डमा जान मन नगरेको भन्दै उनले कार्यविधि बनाएर कर्मचारी एकपल्ट फिल्डमा जानैपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।

टेलिकम सञ्चालक समितिका अध्यक्ष तथा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले विनियमावली कार्यान्वयनसँगै कर्मचारीको माग सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा टेलिकमबारे गुनासो नआउने गरी समस्या भएका स्थानमा जतिसक्दो चाँडो टावर निर्माण गरिने जानकारी दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जनतालाई प्रत्यक्ष लाभ हुने गरी गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई आग्रह गरेका छन् । वार्षिकोत्सवका अवसरमा २० वर्ष काम गरेका ५० कर्मचारीलाई पदक प्रदान गरिनाका साथै व्यावसायिक साझेदारी सङ्घसंस्थालाई सम्मान गरिएको थियो ।

मुलुकमा दूरसञ्चार सेवाको शुरुवात, विकास र विस्तारको एक शताब्दीभन्दा लामो गौरवशाली इतिहास बोकेको संस्था विसं २०६० माघ २२ गते कम्पनीमा रुपान्तरण भएपछि बनेको नेपाल टेलिकम आज बिहीवार आफ्नो स्थापनाको १७ वर्ष पूरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ । सत्र वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करीब चार लाख २२ हजार रहेकामा अहिले दुई करोड नौ लाख पुगेका छन् ।

करीब ७० प्रतिशत जनसङ्ख्यामा टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ । आर्थिक वर्ष २०७६-०७७ मा टेलिकमको आय ४२ अर्ब ९८ करोड तथा खुद मुनाफा नौ अर्ब ७४ करोड पुगेको छ । कम्पनीले मुलुकका ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित फोरजी मोबाइल र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटिटिएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर वृद्धि भइरहेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?