नेपालमा ‘बर्ड फ्लू’को त्रास: नआत्तिन भन्दै पशुसेवा विभागले गर्‍यो यस्तो अनुरोध

काठमाडौं । छिमेकी राष्ट्र भारतमा बर्ड फ्लूको महामारीले उग्र रुप लिएपछि नेपालमा पनि यसको जोखिम बढेको थियो । खुल्ला सिमाना भएकाले पनि तराईका व्यापारिक क्षेत्रबाट नेपालमा बर्ड फ्लू भित्रिने उच्च सम्भावना रहेकाले सबै त्रसित थिए । यसैबीच काठमाडौंको तारकेश्वर नगरपालिकामा एकाएक घरपालुवा कुखुराहरु मर्न थालेपछि बर्ड फ्लू परीक्षण गरियो । र, यही माघ १६ गते उक्त क्षेत्रमा बर्ड फ्लू पुष्टि भएको थियो ।

सङ्क्रमण देखिएपछि सो क्षेत्रका झण्डै २५ सय घरपालुवा पन्छी नष्ट गरिएको थियो । तारकेश्वरमा बर्ड फ्लू देखिनुले अन्य स्थानमा पनि बर्ड फ्लू संक्रमण फैलिसकेको हो कि भन्ने प्रश्न खडा भयो । जसलाई समाधान गर्दै पशुसेवा विभागले तारकेश्वर नगरपालिकाबाहेक अरु ठाउँमा बर्ड फ्लूको सङ्क्रमण नदेखिएकोे जनाएको छ ।

अन्य स्थान बर्ड फ्लू रहित भएकाले मासुजन्य खानेकुरा खान डराउनु पर्ने अवस्था नरहेको समेत विभागले जनाएको छ ।

यद्यपि देशभित्रै पसिसकेको रोग फेरि देखा नपर्ला भनेर ढुक्क रहने अवस्था छ ? सरकारले सीमा क्षेत्रमा कडाई गर्नुका साथै बर्ड फ्लू भित्रिन नदिन सुरक्षा व्यवस्था सशक्त बनाएको दाबी गर्दागर्दै पनि बर्ड फ्लू भेटिनुले घटना फेरि नदोहोरिएला भन्न सकिन्न । त्यसैले आफ्नो स्थानबाट हरेकले सतर्कता अपनाउनै पर्छ ।

त्यसो त चिकित्सकले पनि बर्ड फ्लूबाट संक्रमित पन्छीको मासु निर्धक्क खान मिल्ने बताएका छन् । तर, राम्ररी पकाएर मात्र । चिकित्सक भन्छन्, ‘बर्ड फ्लू लाग्दा मासु खान डराउनु पर्दैन ।’ अहिलेसम्म मासु खाएर यस रोगको संक्रमण भएको पुष्टि नभएकाले पनि कुखुरा अथवा पन्छीहरुको मासु खाँदा रोगको जोखिम नभएको चिकित्सकहरु सुझाउँछन् ।

विश्व स्वास्थ्य संगठनले पनि राम्रोसँग पकाएर खाँदा बर्ड फ्लू भाइरस नष्ट हुने हुँदा कुखुरा वा अन्य पशुपन्छीको मासु खानु सुरक्षित भएको बताएको छ ।

मासु कसरी पकाउने ?

चिकित्सकहरु कुखुरा तथा अन्य पन्छीको मासु खान सुझाउँछन् तर, राम्रोसँग पकाएर मात्र । उनीहरुका अनुसार निम्नानुसारका विधि अपनाएर पकाएको मासु सुरक्षित हुन्छः

  • पकाउनुअघि सफा पानीले राम्रोसँग पखाल्ने
  • पकाउनु भन्दा अगाडि उमालियो भने अझै बेस हुन्छ
  • ७० डिग्री सेल्सियस भन्दामाथिको तापक्रममा मासुजन्य परिकार पकाउने
  • पकाउँदै गर्दा मासुको भित्र जाँचिरहने, रातो देखिनु हुँदैन
  • मासु पोल्दा सानो आगोमा धेरै बेर लगाएर राम्ररी भित्रैसम्म पकाउने
  • बर्ड फ्लूको जोखिम रहँदा हाफ बोइल्ड अण्डा नखाने बरु राम्ररी पकाएर वा उमालेर खाने

 

भारतमा बर्ड फ्लू

कोभिड १९ को महामारीसँग जुध्दै गरेको भारतलाई केही समय अघि बर्ड फ्लूले थिलथिलो बनाइदिएको थियो । कोरोना महामारीविरुद्ध लाखौँको सङ्ख्यामा खोप लगाउने अभियानको तयारी शुरु गरिरहँदा भारतमा बर्ड फ्लूको नयाँ सङ्कट आइपरेको थियो ।

राजस्थानबाट शुरु भएको बर्डफ्लू अहिले भारतको १२ वटा राज्यमा फैलिसकेको छ । उत्तरप्रदेश, राजस्थान, मध्य प्रदेश, हिमाचल प्रदेश, हरियाणा, केरला, गुजरात, महाराष्ट्र, पञ्जाब, जम्मु, कश्मीर र छत्तीसगढमा बर्ड फ्लू पुष्टि भएको छ । भारतको राजधानी दिल्लीमा समेत बर्ड फ्लू पुष्टि भइसकेको छ ।
पहिलोपटक राजस्थानमा सन् २०२० को डिसेम्बर २५ मा बर्ड फ्लू देखिएको थियो । एकाएक कुखुरा तथा हाँसको मृत्यु हुन थालेपश्चात् परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको थियो ।

पछिल्लो महिनाभित्रै हरियाणामा ४ लाख भन्दा बढी पन्छीहरुको मृत्यु भइसकेको छ । त्यस्तै केरलामा १२ हजार हाँसको मृत्यु भएपछि संक्रमण फैलिनबाट रोक्न राज्यको मापदण्डअनुसार विभिन्न ३६ हजार भन्दा बढी पन्छी मारिएको छ ।

राजस्थानका १७ वटा जिल्लामा बर्ड फ्लूको संक्रमण पाइएको छ भने करिब ७ हजार पन्छीहरुको मृत्यु भइसकेको छ ।

भारत सरकारले उच्च सतर्कता जारी गर्दै बर्ड फ्लू फैलिन नदिनका लागि आपत्कालीन उपायहरू अपनाउन भनेको छ । मानिसहरूलाई मरेका वा बिरामी देखिएका चराहरू नछुन भनिएको छ । केही जिल्लाहरूमा पंक्षी बिक्री गर्ने पसलहरू समेत बन्द गरिएका छन् भने अन्डा बिक्रीको काममा समेत रोक लगाइएको छ ।

विभिन्न प्रयासका बावजुत पनि परिस्थिति अझै नियन्त्रणमा भने आइसेको छैन ।

कहाँ चुक्यो नेपाल ?

भारतमा बर्ड फ्लूको आतंकले मच्चाएको भयावह अवस्थाबारे अपडेट रहेको नेपाल आफ्नो देशलाई बर्ड फ्लूबाट जोगाउन कहाँ र कसरी चुक्यो ? नेपालले सुरक्षा तयारी गरेको थिएन ?

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेका अनुसार भारतमा बर्ड फ्लू भयावह हुन थालेपछि मन्त्रालयले सीमा जोडिएका जिल्लाहरुमा सावधानी अपनाउन निर्देशन जारी गरिएको थियो ।

मन्त्रालयले भारतसँग जोडिएको प्रदेश २ का आठवटै जिल्ला पर्सा, बारा, रौतहट, सर्लाही, सप्तरी, सिराहा, धनुषा र महोत्तरीमा सुरक्षा सतर्कता अपनाउन जिल्ला पशु कार्यालयलगायत सम्बद्ध निकायमा खबर गरेको थियो । साथै स्थानीय निकायहरूलाई सुरक्षा व्यवस्थाका लागि थप जनशक्ति तथा मेशिनरी सामाग्र आवश्यक परेमा जानकारी गराउन समेत मन्त्रालयले निर्देशन दिएको डा.घिमिरेले लोकपथसँग बताए ।

नेपालमा बर्डफ्लू भित्रिन नदिन प्रदेश २ को आठवटै जिल्लाको दक्षिणी सीमासँग जोडिएको नाकामा रहेका सशस्त्र प्रहरीलाई निगरानी बढाई थप कडाइ गर्न भनेर परिपत्र गरिएको थियो ।

प्रदेश नं २ को सप्तरीदेखि पर्सासम्म ४६४ किलोमिटर दक्षिणी सीमा क्षेत्र भारतसँग जोडिएको छ र उक्त सीमा नाकामा ६७ वटा बिओपी र ३५ वटा एफओपी को पोष्ट रहेको छ । ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट पन्छीजन्य वस्तुको आयातमा रोक लगाउन भनी निर्देशनसमेत दिइएको थियो ।

यदि उल्लेखित उपायहरु कडाईका साथ लागू गरिएको थियो भने कसरी नेपाल भित्रियो त बर्ड फ्लू ?

प्रश्न जायज छ ।

नेपालमा बर्ड फ्लू पुष्टि भएपछि मन्त्रालयले जारी गरेको निर्देशन अनुरुप फिल्डमा कडाईका साथ पालना नगरिएको सरोकारवालाको ठम्याइ छ । बर्ड फ्लू फैलिएको खबरपछि भारतभर कुखुराको मूल्य सस्तो भएको मौका छोपी व्यापारीहरुले खुल्ला सीमाको फाइदा उठाएको हो कि भन्ने लख स्वभाविक हो ।
व्यापारीहरूले भारतबाट कम मूल्यमा कुखुरा ल्याएर नेपाली बजारमा महंगो मूल्यमा बेच्ने दुष्कर्म गरेका कारण नेपालमा रोग भित्रिएको हुनसक्ने अनुमान गरिएको छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयको अबको एक्सन के ?

नेपालमा बर्ड फ्लू पुष्टि भएपछि भारतबाट रोग सार्न सक्ने वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाइएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा निम्नानुसारका नियमहरु पालना गर्न अपिल गरिएको छः

– पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्न गराउन हुन
– फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न÷गराउन हुन
– सम्पूर्ण पन्छीपालक कृषकहरुले फार्म परिसरमा नियमित रुपमा निसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनु हुन
– कुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्रीस्थलमा अस्वभाविक रुपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना गरिदिनु हुन ।

विश्व कोरोना महामारीसँग लडिरहेका वेला बर्ड फ्लूको महामारीले थप तनावपूर्ण स्थिति निम्त्याउन सक्छ । विशेष गरेर भारतसँग खुल्ला सिमाना भएकाले नेपाल अझै बढी यसको जोखिममा छ । संक्रमण फैलिएपछि त्यसको रोकथामका लागि स्रोतसाधन जुटाउन हम्मेहम्मे पर्ने हाम्रो जस्तो राष्ट्रले यसबाट जोगिने एउटा मात्र भरपर्दो उपाय भनेकै पूर्वतयारी हो । सरकारले तत्काल यसको लागि ठोस कदम नचाले परिस्थिति भयावह हुनसक्ने विज्ञहरुको ठहर छ । सुरक्षा व्यवस्था कडाइ गरेको दाबीका बावजुत नेपालमा कसरी पस्यो बर्ड फ्लू ? गल्ती कहाँ, कसरी भयो ? र, फेरि त्यो गल्ती नदोहोरियोस् भनेर के गर्ने ? भन्ने विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण हुनैपर्छ ।

नेपालमा बर्ड फ्लूको संक्षिप्त इतिहास

नेपालमा पहिलोपटक सन् २००९ मा बर्ड फ्लू देखिएको थियो । त्यसपछि हरेक वर्षजसो अथवा केही वर्षको अन्तरालमा बर्ड फ्लू देखिइरहन्छ नेपालमा पनि ।
यसले सबैभन्दा ठूलो क्षति चाहिँ सन् २०१३ मा पु-याएको थियो । त्यसवेला काठमाडौं, चितवन, धादिङ, झापादेखि कैलाली गरी नेपालका २ सय १ वटा ब्रोइलर र लेर्यस कुखुराका फार्महरूमा यसको संक्रमण फैलिएको थियो ।

त्यसैगरी, बर्ड फ्लूकै कारण नेपालमा पहिलोपटक मानिसको ज्यान गएको घटना भने वि.सं २०७५ साल चैत १५ गते भएको थियो । ज्वरो र खोेकीको लक्षण देखिएपछि अस्पताल पुगेका २१ वर्षीय युवामा पछि श्वासप्रश्वासको समस्या पनि देखिएको थियो । उपचारका क्रममा उनको मृत्यु भयो । के कारणले मृत्यु भएको भनेर खुट्याउन नसकेपछि परीक्षणका लागि उनको -याल जापानको प्रयोगशालासम्म पु¥याइएको थियो । वि.सं २०७६ साल वैशाख १७ गते बल्ल नमूना परीक्षणको नतिजा आइपुगेको थियो जसमा उनी बर्ड फ्लू संक्रमित रहेको पुष्टि भएको थियो ।

के हो बर्ड फ्लू ?

इन्फ्लूएन्जा भाइरसको कारण चराहरुमा फैलिने एभिएन इन्फ्लूएन्जा नामक संक्रामक महामारी हो बर्ड फ्लू । इन्फ्लुएन्जा भाइरसका तीन समूह हुन्छन् जसमध्ये समूह ‘ए’मा पर्ने भाइरसको संक्रमणबाट चराहरुमा फैलिने महामारी रोगलाई बर्ड फ्लू भन्ने गरिन्छ ।

जंगली चराहरु त्यसमा पनि विशेषगरी सीमसारतिर बस्ने चराहरुमा यो भाइरस पाइन्छ । यसको संक्रमण भने सबै प्रजातिका चराहरुलाई हुने गर्छ । जंगली चराहरुको रोग प्रतिरोधात्मक क्षमता बलियो हुने भएकाले यस भाइरसले घर पालुवा पक्षीजस्तो तिनीहरुलाई थला पार्न सक्दैन । त्यस्ता चराहरुमध्ये पनि विशेष गरेर जंगली हाँसमा यो भाइरसलाई प्रतिरोध गर्ने क्षमता निक्कै बढी हुने गरेको पाइन्छ ।

यस भाइरसको संक्रमणले कुखुरा, टर्की, हाँस जस्ता घरपालुवा चराहरुलाई भने निकै असर पु-याउँछ । जसको परिणामस्वरुप घरपालुवा चराहरुमा छिट्टै नै यसको संक्रमणले महामारीको रुप लिन पुग्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?