हिमनदी विस्फोटपछिको बाढीले एनटीपीसी जलविद्युत् परियोजनाका दुईवटा सुरुङ हिलो र ढुंगाले भरिएका थिए । किरण विश्वकर्मा भारतको उत्तराखण्ड राज्यस्थित उक्त परियोजनाको निर्माणाधीन सुरुङबाट आइतबार जीवितै उद्धार गरिएका चार नेपालीमध्येका एक हुन् ।
प्यूठान गौमुखी–३ का उनी सुरुङभित्र वेल्डिङको काम गर्थे । परियोजनामा २५ नेपाली कार्यरत रहे पनि बिदाको दिन भएकाले बाढी आउँदा सुरुङभित्र चार नेपाली मात्र थिए । २५ जना सबै प्यूठानका हुन् । ज्यान जोगाउन सबै भागे पनि विष्णु मल्ल अझै सम्पर्कमा नआएको उद्धार गरिएका नेपाली कामदारले बताए । आयोजनाको सानो सुरुङमा फसेका चार नेपाली र अन्य ८ भारतीयलाई आइतबार साँझ इन्डो–तिब्बत बोर्डर पुलिस (आईटीबीपी) को टोलीले उद्धार गरेको थियो ।
बाढीले तपोवनस्थित ऋषिगंगा र एनटीपीसी परियोजनामा बढी क्षति पुर्याएको छ । ३४ जनाको मृत्यु पुष्टि भइसकेको छ । बेपत्ता १७० जनामध्ये ११ जना नेपाली रहेको चमोली जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाढी आउँदा सुरुङभित्र १२ मजदुर काम गरिरहेका थिए । उनीहरू बिहान ८ बजे ड्युटीमा पुगेका थिए । साढे ३ सय मिटरको सुरुङमा काम गरिरहेका बेला एक्कासि बाढी आएपछि भागाभाग भएको थियो । ‘मसहित सन्त गुरुङ, चित्रबहादुर विश्वकर्मा, वसन्तबहादुर सुनार थियौं । करिब सवा १० बजेतिर साथीहरूले एक्कासि भाग् भाग् भनेर कराए । त्यसपछि काम छाडेर सबै जना भाग्न थाल्यौं,’ ३४ वर्षीय किरणले टेलिफोनमा भने, ‘सुरुङभित्र पूरै पानी भरिएको थियो । भित्तामा भएको फलाम समातेर माथि उक्लियौं ।’
ढोका नजिक पुग्न करिब डेढ घण्टा लागेको उनले बताए । उनका अनुसार ढोका पूरै बन्द थियो । सास फेर्न गाह्रो हुँदै गएको थियो । अब बाँचिन्न भन्ने लागेर त्यसपछि गीत गाएर बसेको किरणले सुनाए । ‘हामीले नेपाली गीत गायौं, भारतीयले हिन्दी गाए,’ उनले भने, ‘के गर्नु, मन भुलाउनुको विकल्प थिएन ।’
डेढ घण्टापछि पानी र हिलो कम हुँदै गएपछि एउटा चेपबाट जुनकिरीको जस्तो थोरै उज्यालो देखिएको थियो । तर बाहिरका मान्छेलाई उनीहरूले खबर गर्न सकेनन्, किनकि सबैको मोबाइल बाढीमा बगिसकेको थियो । विनोद नाम गरेका कामदारको मोबाइल भने जोगिएको रहेछ । त्यही मोबाइलबाट उनीहरूले कम्पनीका मान्छेलाई सम्पर्क गरे । विनोद स्थानीय भएकाले गाउँलेले उद्धारका लागि बढी चासो देखाए । करिब ५ बजेतिर आईटीबीपीको टोलीले सुरुङबाट निकाल्न सफल भयो । त्यसपछि उनीहरूलाई आईटीबीपीकै अस्पताल लगियो । दुई दिनपछि उनीहरू डिस्चार्ज भएका छन् । बाहिरी चोटपटक नभए पनि शरीर दुख्ने र रिंगटा लाग्ने भइरहेको किरणले सुनाए । ‘छाती दुख्ने र रिंगटा लाग्ने भइरहेको छ । सायद सुरुङभित्र ८ घण्टाजति बिनाअक्सिजन बस्नु परेर होला,’ उनले भने ।कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया