एकल बीमामा विकृति बढेपछि ‘एक्सन’मा उत्रियो बीमा समिति : कडा कारवाही गर्ने अध्यक्षको चेतावनी

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले एकल बीमा शुल्कका नाममा बढी शुल्क लिएर विकृति फैलाउनेलाई कडा कारवाही गर्ने बताएका छन् ।

पछिल्लो समय बीमा कम्पनीहरुले व्यवसाय बढी देखाउन बीमा कम्पनीहरुले कृतिम बीमा व्यवसाय खडा गरी व्यवसाय विस्तार गर्ने होडबाजी गरेकाले विकृति आएको भन्दै समितिमा समेत उजुरी परेपछि समितिका अध्यक्ष सिलवालले कडा कारवाही गर्ने चेतावनी दिएका हुन् । यस्तो समस्या देखिएपछि समितिले उचित छानबिन गरी कारवाही गर्ने जनाएको हो । ‘हामी अध्ययन गर्दैछौँ,दोषी ठहरीए कारवाही हुन्छ ।’ अध्यक्ष सिलवालले लोकपथसँग भने ।

समितिका अनुसार केही वर्षअघि एकल बीमा शुल्कलाई प्रथम बीमा शुल्कमा गणना गर्न दिने व्यवस्था गएको थियो । यसै व्यवस्थाको फाइदा उठाउँदै केही बीमा कम्पनीहरुले कृतिम बीमा व्यवसाय खडा गरी व्यवसाय विस्तार गर्ने होडबाजी चलेकाले अहिले जीवन बीमा क्षेत्रमा विकृति देखिएको हो । ‘एकल बीमा व्यवसायमा विकृति देखिएको छ ,त्यसलाई हामीले कुनै पनि हालतमा सुधार गर्छौँ ।’ अध्यक्ष सिलवालले लोकपथसँग भने ।

समितिले यस्तो कार्य तत्काल बन्द गर्न जीवन बीमा कम्पनीका नाममा निर्देशन समेत जारी गरेको छ । समितिको निर्देशन पालना नगर्ने जो कोहीलाई पनि कडा कारवाही गर्ने अध्यक्ष सिलवालको चेतावनी छ । त्यसका साथै समितिले एकल बीमामा भएको विकृति रोक्न निर्देशिका समेत ल्याउने भएको छ ।

स्तो बीमा योजना बीमा कम्पनीहरुका लागि त्यति फदायी हुँदैन । एक पटक बीमा गरेपछि त्यसबाहेक कम्पनीलाई अरु कुनै फाइदा हुँदैन । यस्तो बीमा पोलिसीले विकृति ल्याएको आँफुले पनि सुनेको भन्दै त्यस्तो विकृति हटाउनुपर्ने प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद पौडेलले बताए । बीमा व्यवसाय गर्दा कम्पनीहरुले विभिन्न शीर्षकमा खर्च गर्नुपर्छ । एकल बीमा पोलिसी ल्याउँदा त्यसमा कमिशन पनि कम हुन्छ । सँधै प्रिमियम आइरहने हो भने मात्रै कम्पनीलाई फाइदा हुन्छ । एक पटक मात्रै प्रिमियम आउने हुनाले कम्पनीलाई खासै फाइदा हुँदैन । यस्तो बीमाले बीमा कम्पनीहरुलाई आर्थिक रुपमा ठुलो घाटा हुने र एजेन्टलाई फाइदा हुने गरेको छ । खासगरी जीवन बीमा शुल्क एकै पटक तिर्ने र आकस्मिक रुपमा कमाएका व्यक्तिले मात्रै यस्तो बीमा गराउने गरेका छन् ।

एकल बीमा गर्दा शुरुमा प्रिमियम आउने भएका कारण बीमा कम्पनीहरुको कारोबार पनि राम्रै देखिन्छ । यस्तो पोलिसी जारी गरे पछि अभिकर्तालाई कमिसन लगायतका इन्सेन्टिभका विभिन्न शीर्षकमा बीमा कम्पनीहरुले ठुलो रकम खर्च गरिरहेका हुन्छन् । तर एक वर्षपछि यस्तो पोलिसी बन्द गरिने भएकाले विकृति आएको देखिन्छ । यस्तो गर्दा बीमा कम्पनीको खर्च मात्रै हुने फाइदा नहुने हुन्छ भने उता अभिकर्तालाई कमिसन तथा प्रोत्साहन गरी ठुलो धनराशी प्राप्त हुने हुन्छ । यस कारण अभिकर्ताहरु यसतर्फ आकर्षित भएको देखिन्छ ।

जीवन बीमामा एकल बीमा शुल्क, प्रथम बीमा शुल्क र नविकरण बिमा शुल्क गरी तीन प्रकारका बीमा शुल्क हुने गर्छन । एक करोडको बीमा गर्दा एकल भुक्तानी व्यवस्थामा जाँदा अभिकर्ताले कम्पनी हेरी ५ देखि ६ प्रतिशत कमिशन लिन्छन् । समितिको हालको व्यवस्था अनुसार एकल बीमा ६ प्रतिशत कमिशन र १८ प्रतिशत इन्सेन्टिभ गरी २४ प्रतिशत अभिकर्ताले पाउने व्यवस्था छ ।

एकल बीमा गर्दा एकै पटक ठुलो धनराशी आउने गर्छ । मानौँ कसैले १ करोड रुपैयाँ बराबरको यस्तो बीमा गरेको छ भने छुटसहित सरदर ८० लाख रुपैयाको बीमा हुन्छ । जसको २४ प्रतिशत अभिकर्ताले प्राप्त गर्छ । एकै चोटी यतिका धेरै रकम प्राप्त गर्ने भएपछि अभिकर्ताहरु यसतर्फ आकर्षित हुँदा विकृति बढेको देखिन्छ । यस्तो बीमाबाट बीमा कम्पनीहरुको अर्बौ व्यवसाय देखाइने गरिएको छ । जुन कार्यले बीमा कम्पनी खोक्रिदै जान सक्ने सम्भावना छ भने अभिकर्ताहरु अनाश्यक रुपमा मोटाउने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?