काठमाडौं – आफूमाथि अभद्र व्यवहार गर्ने विनयजंग बस्नेतलाई प्रहरीले पक्राउ परेपछि विश्वको प्रभावशाली १०० महिलाको सूचीमा परेकी सपना रोका मगरले नेपाल प्रहरी प्रशासनलाई धन्यवाद् दिँदै आफ्नो अप्ठेरोमा अदम्य साहस दिने सबैसँग कृतज्ञता व्यक्त गरेकी छिन् ।
विश्वको प्रभावशाली १०० महिलाको सूचीमा परेकी सपना रोका मगरको नग्न तस्वीर र भिडियो ‘लिक’ गराउने भन्दै बस्नेतले बारम्बार उनलाई धम्की दिएका थिए । सपनाले विनयजङ्ग बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध गत शुक्रवार काठमाडौं प्रहरी परिसरमा किटानी जाहेरी दिएकोमा काठमाडौं जिल्ला अदालतले विनयजंग बस्नेतविरुद्ध आइतवार पक्राउ पुर्जी जारी गरी आज (मंगलवार) काठमाडौंको बसपार्कबाट पक्राउ गरेपछि उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट यस्तो प्रतिक्रिया दिएकी हुन् ।
विनयजङ्ग बस्नेत पक्राउबारे जानकारी दिँदै सपनाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् :
धेरै जनाको जिज्ञासा थियो म किन बोलीरहेको छैन भनेर ।
कानून भन्दा माथि हामी कोहि पनि थिएनौँ।
सम्पुर्ण प्रहरी प्रशासनको अथक प्रयासपछि काठमाडौबाट फेरि फरार हुने क्रममा काठमाडौँ बसपार्कदेखि बिनयजंग बस्नेतलाई पक्राउ गरिएको छ अब सत्यतत्थ कानूनी प्रक्रिया अनुसार नै बाहिर आउँछ ।
धेरै नै कोशिश गर्नु भयो मेरो चरित्र हत्या गर्नको लागि र कतिपय त सफल पनि हुनु भयो तर सबै जना लाई अवगत नै छ अराजकहरु क्षणिकको लागि विजय हुन्छन् र सत्य ढिलो नै सहि बाहिर पक्कै आउँछ ।
मलाइ हौसला दिनुहुने सबैप्रती धेरै आभारी छु र सम्पुर्ण प्रहरी प्रशासन प्रती नमन
बेवारिसे शव जलाउने किशोरी सपनालाई बीबीसीले यस वर्ष विश्वको १०० प्रभावशाली महिलाको सूचीमा राखेको थियो । उनीसँगै शव जलाउने बस्नेतले सपना लाई छोरीका रुपमा चिनाउँदै आएका थिए । ‘जन्म दिने बाबुआमा अरु नै भएपनि म सपनाको कर्म दिने बुबा हुँ’ भन्दै विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिएका बस्नेतले सपनामाथि पटकपटक दुर्व्यवहार, यौन हिंसा गर्ने गरेको, अपमानित गरेको, चोरीको आरोप लगाएको भन्दै सपनाका आमाबुबाले समेत न्यायको लागि सञ्चारमाध्यमबाट अनुनय गरेका थिए ।
एक अन्तर्वार्तामा त बस्नेतले सपनाको नग्न तस्वीर भिडियो आफूसँग ‘पेनड्राईभ’मा भएको भन्दै जुनकुनै बेला देखाईदिने किसिमको धम्किपूर्ण अभिव्यक्ति समेत दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया