काठमाडौं । राष्ट्रिय समाचार समितिले आज शुक्रवार आफ्नो स्थापनाको ६० औ बर्षगाठ मनाएको छ । राष्ट्रिय समाचार समिति समाचार सेवा प्रदायक संस्था भएपनि सरकार नियन्त्रित छ ।
पछिल्लो समय नेपाली संचार क्षेत्रमा समाचार सेवा दिनेगरी राससको विकल्पमा न्यूज एजेन्सी नेपालले काम गर्दे आएको छ । समाचार सेवा प्रदायक संस्थाले जहिले पनि समाचारको विश्वसनियता र एकरुपतामा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । उनीहरुले राज्यद्धारा सञ्चालित वा निजी क्षेत्रबाट सञ्चालित दुवै समाचार सेवा प्रदायक संस्थाहरुबाट उत्पादित सामाग्री निश्पक्ष अनि विश्वसनिय हुनुपर्ने धारणा राखेका छन् । विभिन्न सञ्चार माध्यमको वृद्धि संगै एउटै कार्यक्रमका भिन्न भिन्न कोणका समाचारले सर्वसाधरण भ्रमित हुनेगरेको भन्दै उनीहरुले समाचारको विश्वसनियता तथा सत्यताका लागि न्यूज एजेन्सीहरुको भूमिका प्रभावकारी र महत्वपूर्ण रहेको बताए ।
बरिष्ठ पत्रकार भैरव रिसालले समाचार सेवा प्रदायक संस्थाले कसैको पक्षमा वकालत नगरि राज्य र जनता दुवैको विश्वास आर्जन गर्ने गरि सेवा दिनुपर्ने बताए । समाचार एजेन्सीहरुका मुख्य चुनौति नै जनता र सरकार दुवैको विश्वास जित्नु भएको उनले बताए ।
उनले भने “यसले कसैको पक्ष लाग्न हुदैन । यसले सरकार र जनतालाई बराबर हेर्नुपर्छ । दुवैलाई तातो काखमा राख्नुपर्छ । यसले सरकारमात्रै हेर्दा जनता पछि पर्छ । जनतालाई मात्रै हेर्दा सरकारले खर्च गरेर आफ्नो संस्था भनेको छ । यसैले दुवैको विश्वास आर्जन गर्नु नै मुख्य चुनौति हो । दुईवटैको विश्वास आर्जन गर्न सक्ने योग्यता र क्षमता हुनुपर्यो । ”
वरिष्ठ पत्रकार एकराज पाठकले समाचार एजेन्सीलाई संसारका कतिपय मुलुकहरुमा ‘ट्रष्ट’ र ‘अभावमा उपस्थिति’ को रुपमा न्युज एजेन्सीहरुलाई लिने गरिएको दृष्टान्त दिदै निश्पक्ष र सूचनामा एकरुपताका लागि न्युज एजेन्सीहरुको भूमिका महत्वपुर्ण रहेको बताए । एउटै इभेन्टमा समाचार फरक फरक कोणमा आउँदा सर्वसाधरण अन्यौल हुनुपर्ने अवस्था श्रृजना भएको भन्दै उनले सूचनामा एकरुपता ल्याउनका लागि एजेन्सीहरुमा समाचारले सहयोग पुर्याउने बताए ।
उनले भने “मानौ कुनै एउटा पत्रिकामा, कुनै एउटा अनलाईनमा ,कुनै एउटा टेलिभिजनमा कुनै एउटा रेडियोमा एउटै इभेण्टको फरक फरक किसिमका सुचनाहरु आए जनताले के पत्याउनु ? युनिफर्रमिटि अफ इन्फर्मेसन सुचनाको एकरुपता । जहाँ कन्फ्युजन हुन्छ त्यहाँ न्यूज एजेन्सीको उपस्थिति हुनुपर्छ । दुविधा भयो । नागरिकले यो पत्याउने कि उ पत्याउने भन्ने भयो । त्यस्तो बेला सही यो हो भनेर जनतालाई भन्नका लागि त्यो सूचनाको एकरुपताका लागि अथेन्टीक समाचारका लागि समाचार एजेन्सीको आवश्यकता पर्छ । त्यो जनतालाई पनि पर्छ । सरकारलाई पनि पर्छ । सरकारले कुनै एउटा रिलिज निकाल्नुपर्यो । कुनै एउटा नया जानकारी तत्काल मासमा पठाउनुपर्यो । कुनचाहीलाई दिनु ? न्युज एजेन्सीलाई दिईसकेपछि त्यो सबै तिर एकैपटक जान्छ । त्यसको प्रभावपनि सेवा प्रदायक संस्थाको रुपमा राज्यले गर्ने सुचना सम्प्रेषणको राज्यको सहयोगीको रुपमा समाचार एजेन्सीले काम गर्दा र गराउँदाखेरी त्यो बढी प्रभावकारी देखिन्छ । ”
नेपालको एक मात्र निजी क्षेत्रको समाचार सेवा प्रदायक संस्था न्युज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेलले समाचारको विश्वसनियता र एकरुपताका लागि न्युज एजेन्सीका समाचारको महत्व रहेको बताए । समाचार सेवा प्रदान गर्दा एजेन्सीले हरबखत तटस्थतालाईलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा उनले जोड दिए ।
उनले भने “ एजेन्सीहरुले तटस्थतालाई पहिलो प्राथमिकतामा राखेर सत्यतथ्य समाचार सम्प्रेषण गर्ने गरेका छन । त्यसैले ती समाचारहरुमा विश्वसनियता र एकरुपता हुन्छ । त्यसैले समाचार सेवा प्रदायक संस्थाले दिने समाचारहरु विश्वसनियता र एकरुपताको दृष्टिकोणबाट महत्वपुर्ण मानिन्छ । ”
राष्ट्रिय समाचार समितिका पुर्व प्रबन्धक श्रीराम सिंह बस्नेतले समाचार सेवा प्रदायक संस्थाहरुले आफुलाई तटस्थ राखि सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्ने आवश्यकता औल्याए । उनले न्युज कसले छिटो ब्रेक गर्ने भन्नेमा प्रतिष्पर्धाभए पनि विश्वसनियता र सन्तुलित सामाग्री निर्माणमा अझै पनि निकै सुधार गर्नुपर्ने स्थिति रहेको उल्लेख गरे ।
उनले भने “समाचार प्रदायक संस्थाहरुले फलो गर्नुपर्ने मुल सिद्धान्त भनेको स्पीड एण्ड एक्युरेसी हो । स्पीड पनि हुनुपर्यो । एक्युरेसी पनि हुनुपर्यो । एक्युरेसीमा चाही हामी कता कता ल्याकिङ छौ । तर अहिले स्पीडमा तदारुकता देखिन्छ । एक्युरेसीमा जुन परर्फेक्टनेस देखिनुपर्ने त्यो देखिएको छैन । स्पीडमा कसले न्युज छिटो ब्रेक गर्ने भन्ने भईरहेको छ । व्यवसायीक पत्रकारिताको इथिक्सअनुसार कन्टेनमा पनि सन्तोष गर्न सक्ने ठाउँ छैन । कन्टेन बायसनेस आईरहेको छ । स्टेटरन मिडियाको कन्टेन एककिसिमको छ । नीजि क्षेत्रको मिडियाको अर्को किसिमको छ । अहिले सर्वसाधरण पाठकमा गर्भरमेण्ट मिडियाले भनेको कुरा ठिक हो कि प्राईभेट मिडियाले भनेको ठिक हो भनेर ठ्याक्क छुट्याउन नसकिने अवस्था छ । गभरमेण्ट मिडियाको कन्टेन पोजेटिभ पोजेटिभ देखिन्छ भने प्राइभेट मिडियाको कन्टेन हेर्दा नेपाल त खतमै भईससक्यो । ध्वस्तै छ भन्ने देखिन्छ । गभरमेण्ट मिडिया हेर्दा एकदमै पोजेटिभ अनि प्राइभेट मिडिया एकदमै नेगेटिभ इमेज देखिन्छ । ती दुवै अर्थसत्य मात्रै हुन् मेरो बुझाईमा । प्राईभेट मिडिया र गभरमेण्ट मिडिया सत प्रतिशत सही छैनन् । प्राईभेट मिडियामा पनि पोजेटिभ दिन सक्ने कुराहरु पनि नदिएको कयौ उदाहरण छन् । गर्भरमेण्ट मिडियामा पनि राज्यका कमिकमजोरीहरु उजागर गर्न नसकेको अवस्था न्युटल पाठकले प्रष्ट बुझ्छ । कन्टेनको इम्पार्सियालिटीमा पछाडि छौ । स्पीडमा अगाडि देखिएपनि एक्युरेसीमा धेरै कुरा सुधार गर्नुपर्ने छ । ”
उनले समाचार सेवा प्रदायक संस्थाहरुले समाचार सामाग्री निर्माण गर्ने सन्दरभमा आफुलाई सधै निश्पक्ष राख्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया