कमला अर्याल /काठमाडौँ – केही समय अघि मात्रै घटेको ब्याजदर फेरि बढ्ने भएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार तिव्र रुपमा भइरहेकाले बैंकिङ प्रणालीमा लगानी योग्य रकम तरलता घट्दै गएको छ । बैंकहरुको पछिल्लो तथ्यांक हेर्ने हो भने पनि निक्षेप संकलनको तुलनामा कर्जाको विस्तार तिब्र रुपमा भएको देखिन्छ । जसले गर्दा बैंकहरुलाई अब निक्षेप संकलनमा जोड दिनुपर्ने देखिन्छ ।
निक्षेप संकलनमा केन्द्रित हुँदा ब्याजदर स्वतःपर्ने हुन्छ । विगतका वर्षहरुमा झै बैंकहरुले निक्षेप संकलनका लागि ब्याजदरमा फेरी पनि चर्को प्रतिस्पर्धा गर्न सक्ने अवस्था आउने देखिएको छ । ब्याजदर बढ्ने बित्तिकै कर्जा र निक्षेप स्वतः महँगो हुन्छ । ब्याजदर बढेपछि बैंकले महँगोमा निक्षेप उठाउनुपर्छ । महँगोमा उठाएको निक्षेप सस्तोमा लगानी गर्न बैंकहरुले सक्दैनन् । त्यसैले कर्जा स्वभाविक रुपमा महँगो हुन जान्छ ।
बैंकहरुको पछिल्लो तथ्यांक अनुसार माघ महिनामा मात्र २७ वाणिज्य बैंकहरुले ७४ अर्ब रुपैयाँ ऋण विस्तार गरेको देखिएको छ । निक्षेप भने ५ अर्ब रुपैयाँले मात्र बढेको छ । यस अवधिसम्म वाणिज्य बैंकहरुले कुल ३३ खर्ब १७ अर्ब रुपैयाँ ऋण विस्तार गरेका छन् भने ३७ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन पुगेको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चालू आर्थिक वर्षको छ महिनाको समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा हेर्दा यस अवधीमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.९ प्रतिशतले बढेको देखिन्छ । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ११.३ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १५.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.३ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकको यो तथ्यांक समग्र बैंक तथा वित्तीय संस्थाको हो । माघ अन्तिम साता वाणिज्य बैंकहरुले २९ अर्ब रुपैयाँले ऋण लगानी बढाएका छन् । निक्षेप भने २ अर्ब रुपैँयाले मात्रै बढेको छ ।
यसो भन्छन् सरोकारवाला :
बैंकिङ विज्ञ अनलराज भट्टराईका अनुसार यो त्रैमाससम्म खासै तरलतामा दबाब पर्ने देखिँदैन । त्यसपछि मात्रै अलि दबाब पर्ने देखिन्छ । जेठ र असारमा सरकारको खर्च २ सय खर्ब जस्तो देखिन्छ । त्यसबेला पूँजीगत खर्चको ठूलो रकम पेन्डिङ हुने र प्रणालीमा त्यसको असर देखिन थाल्ने उनले बताए । आगामी चैत र वैशाखमा तरलताको दबाब देखिन सक्छ । तरलतामा माग बढ्नु र सप्लाई कम हुनु, सरकारको राजश्व बढ्नु,खर्च घट्नु, सरकारले ऋण पनि उठाउनु यी सबैका कारण तरलतामा दबाब हुने र त्यसले ब्याजदरमा असर पर्ने विज्ञ भट्टराईले बताए । ‘त्यसले ब्याजदरमा पनि केही दबाब पक्कै आउँछ ।’ उनले भने । भट्टराईका अनुसार अहिलेको अवस्थालाई आँकलन गर्ने हो भने बढीमा १.५ प्रतिशतको हाराहारीमा ब्याजदर माथि जान सक्ने संभावना देखिन्छ । तर जेठ र असारमा सरकारले कति पूँजीगत खर्च गर्छ भन्ने कुरामा निर्भर रहने भट्टराईले बताए ।
ब्याजदरलाई सीमामा राख्न बैंकहरु सहमतिमा रहनै पर्नेमा उनको जोड थियो । साथै नेपाल राष्ट्र बैंकको पनि यसमा महत्वपूर्ण भूमिका हुनुपर्ने उनको जोड थियो ।
नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले अहिलेको बैंकहरुको कर्जा प्रवाहको अवस्था हेर्दा ब्याजदरमा थाप पर्न सक्ने संकेत गरेका छन् । ‘ ब्याजदर विस्तारै बढ्न सक्छ ।’ उनले भने । तर तत्काल त्यस्तो अवस्था नदेखिएको उनले बताए । अध्यक्ष दाहालका अनुसार बैंकहरुसँग स्रोतहरु छ । त्यसको सदुपयोग गर्दै बैंकहरुले लगानी गर्नेछन् । जुन बेला बैंकको कर्जा बढेको छ,त्यो बेला तिब्र रुपमा आर्थिक विकास भएको भन्दै कर्जा लगानी बढ्नु सकारात्मक संकेत भएको उनले बताए । राम्रोसँग कर्जा प्रवाह भइरहँदा मुद्रा स्फितिमा केही बदाब दिन सक्छ । अहिलेको अवस्थामा मुद्रा स्फिती सन्तुलनमै छ । चैतमा कति पैसा सरकारको राजश्व बापत जान्छ र कति खर्च हुन्छ भन्ने कुरासँग ब्याजदरको सम्बन्ध भएकाले फागुन र चैतमा ब्याजदर त्यति बढ्ने संभावना नभएको अध्यक्ष दाहालले बताए ।
नियामक निकाय राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले तरलता घटेर ब्याजलरमा चाप पर्न गए राष्ट्र बैंकले फण्डको व्यवस्था गर्ने बताए । ‘तरलताको संकेत आएर ब्याजदरमा चाप पर्न थाल्यो र त्यसलाई मत्थर पार्नुप¥यो भने राष्ट्र बैंकले फण्ड उपलब्ध गराइहाल्छ ।’ सहायक प्रवक्ता पोखरेलले भने । कर्जा लगानी बढ्दै जाँदा ब्याजदरमा स्वभाविक रुपमा दबाब पर्छ । तर तत्काल आत्तिहाल्नु पर्ने अवस्था नरहेको उनको भनाई थियो । त्यसलाई व्यवस्थापन गर्न राष्ट्र तयार अवस्थामा रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया