सर्वोच्चको फैसलापछि पहिलोपटक बोले प्रधानमन्त्री: प्रचण्ड-नेपाललाई भने, ‘भाईहरुले लड्डु खाए रे..’

लोकपथ
0
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसलापछि खुसीयालीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले एक अर्कालाई लड्डु खुवाएको भन्दै भोलीबाट फेरि राजीनामा माग गर्ने त होला नी ! भन्दै कटाक्ष गरेका छन् ।

सर्वोच्च अदालतले प्रतिनीधिसभा पुनर्स्थापना गर्ने फैसला सुनाएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ”हिजोको अदालतको फैसलाले मेरा केही भाईहरुले लड्डु खुवाए रे । जित्यौँ रे । लड्डु खाएर के पाउँछन् ? त्यो मैले हेर्नुछ । भोलीतिरबाट फेरि राजीनामा माग्नुहुन्छ कि ! जस्तो छ । यतापट्टी चिन्ता गर्नु पर्दैन ।”

अघिल्ला भाषणभन्दा निकै संयम देखिएका प्रधानमन्त्री ओलीले कृषिको आधुनिकता, व्यवसायिकता, माटो, मलखाद, कृषि प्राविधीक, प्राविधीक शिक्षालय, अन्तराष्ट्रिय बजार, औजारीकरण, बजार, भूमिको प्रयोग, रोजगारी, युवा सहभागिता, उन्नत बिउविजन र उत्पादनबारे बोलिसकेपछि अन्तिममा केहि सेकेण्डमात्रै प्रचण्ड नेपालको विषयमा आफ्नो समय खर्चेका थिए ।

सर्वोच्चको फैसला र त्यसपछिको घटनाक्रमबारे उनले अर्थोक केहि बोलेनन् । बरु आध्यात्म जीवन र सकारात्मक सोचसँगै निरन्तर कर्मको विषयमा बोले । उनले भने, ”बाँचुन्जेल राम्रो गर्ने हो । मरेपछि न बेईमान न ईमान्दार । को मान्छे कतिबेला मर्नसक्छ ? जीन्दगीको केही ठेगान छैन । जबसम्म जुन जिम्मेवारी दिएको छ, तबसम्म केही गर्ने हो । त्यसमा निरन्तर गर्ने हो । म फरक हुनुपर्ने आवश्यकता नै छैन । स्वार्थबाट लपेटिएका मान्छेमा यस्ता कुराले धेरै असर गर्छ । मलाई गर्दैन । शास्त्रले भनेको छ राम्रो नराम्रो सजिलो अप्ठेरो सुख दुख सम्पत्ति होस् नहोस् तरपनि एक समान रहनुपर्छ । जस्तो की उदाउने खुसीयालीमा वा अस्ताउने बेलामा पनि मुस्कुराएर रातै भएर सूर्य बिदा हुन्छ । हामीले आफ्नो कर्तव्य पालना गर्ने हो । हामी दृढताको साथ यो देश बनाईछोड्ने संकल्पमा अघि बढ्छौँ । जनतालाई सुखी बनाई छोड्छौँ । कृषिमा उलटपुलट ल्याउँछौँ ।”

केहिदिनअघि उनको नाम भएको शिलालेख तोडफोड गरेको घटना (प्रधानमन्त्री केपी शर्मा ओलीले हालै उदघाटन गरेको दाङ देउखुरीको सिसहनिया महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको शिलालेख तोडफोड भएको थियो ।) सम्झँदै उनले थपे, ‘अस्तिताका शिलालेख तोडेछन् रे । किन पुल बनाउने शिलालेख राख्ने रे । धन्न पुल भत्काएनन् । धन्यवाद् । किन भत्काको भन्या मेरो नाम रहेछ रे । ईतिहासमा केहि मानिस हुन्छन् । तिनलाई कसैले बिर्सन सक्दैन । लामो कालखण्डमा त्यो ईतिहासमा एउटा मान्छे हुन्छ जसलाई ईतिहासले सम्झन्छ । त्यसैले मलाई अनन्तकालसम्म सम्झनुहुन्छ भन्नेमा भ्रम छैन मलाई । अनि भ्रमबाट मुक्त मान्छे हुँ । हामी हाम्रो कर्तव्यमा दृढ छौँ । जुटेर देश बनाउँछौँ । धेरै कुरा भनेर मान्छे तर्साउने काम ठिक छैन । यो सरकार छ सरकार रहन्छ । तपाईहरु विकासको मार्गमा अघि बढ्नुहोस् । नेपालमा छोटो समयमा विकासका धेरै सूचकांक सकारात्मक रहेको रिपोर्ट बाहिरिँदा केहि मानिसहरु आत्तिरहेका छन् । विकास देखेर। बाटोघाटो, पानीजहाज, रेल, सुरुङबारे मैले सुनाउँदा मलाई उडाए । अहिले सोच्नै नसकेको विकास हुँदा तर्सिए। विरोध गरिरहेको तपाईहरुले देख्नुभएकै होला ।’

आफ्नो पार्टीको किचलो मिलाउन नसकेपछि संसद विघटन गरेका प्रधानमन्त्री ओलीको सो निर्णयविरुद्ध मुद्धाको फैसला गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले हिजो मंगलवार १३ दिनभित्रै संसद बैठक बोलाउन आदेश दिएको छ ।

यो पनि पढ्नुहोस् : 
बालुवाटारको संकेत प्रधानमन्त्री ओलीले राजीनामा नदिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?