काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
हिजो (सोमवार)बिहानबाट अवस्थामा सुधार भएपछि भेन्टिलेटरको फूल सपोर्ट हटाई भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिएका छन् ।
नेता जोशीले हिजो देखि आफैले सास फेरिरहेकोले मेसिनले सास फेराउनु नपरेको डा. झाले बताए । रक्तचाप नर्मलभन्दा पनि राम्रोतर्फ गइरहेको साथै श्वासप्रश्वासमा सजिलो होस् भनेर भालि बुधबार बिहान घाँटीमा सानो प्वाल पार्ने सर्जरी (ट्रयाकियोसटोमी) गरिने डा. झाले जानकारी दिए । सर्जरी पछि उनलाई बिस्तारै भेन्टिलेटरबाट निकाल्न सक्छौं कि भन्ने आशा पलाएर आएको पनि डा. झाले बताए ।
नेता जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहे पनि खतरामुक्त भने नभएको डा. झाले बताए । उनले भने ‘मष्तिष्कघात हुने व्यक्ति उपचारपछि खतरामुक्त हुन ३ देखि ४ हप्ता समय लाग्छ ।’‘
जोशीलाई बिहीवार राति १२ बजेतिर बाँया शरीरमा समस्या देखिएको थियो । राति परिवारले वीर अस्पताल पुर्याइएकोमा चिकित्सकले जोशीलाई नर्भिक अस्पताल रिफर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया