स्थान : कञ्चनपुरको बेलौरी नगरपालिका – ७
समय : (हिजो) बिहिवार बेलुका साँझ ६: ३० बजे
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बेलौरीको प्रहरी टोली नियमित गस्ती गरिरहेको थियो । नेपाल भारत सिमानाकाबाट ४ जना भारतीय पैदल नेपाल आउँदै थिए ।
प्रहरीलाई उनीहरुको गतिविधि शंकाष्पद लागेपछि प्रहरीले उनीहरुलाई चेकजाँच गर्न खोज्यो । सोहि क्रममा उनीहरुले प्रहरीमाथि अन्धाधुन्ध गोली चलाए । गोली चलेपछि प्रहरीले जवाफी फायरिङ गर्यो ।
प्रहरी र तस्करबीच केही राउण्ड फायरिङ पछि एकजना भारतीयको मृत्यु भयो । फायरिङमा नेपाल प्रहरी जवान विर सिंह साउद घाइते भए । घाइते साउदको घुँडा र खुट्टामा चोट लागेको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य छ ।
प्रहरीको गोली लागेर ४ जना भारतीय मध्ये एक जनाको मृत्यु भएपछि बाँकी ३ जना भागेका थिए । मुत्यु भएका अन्दाजी २०/ २२ वर्षीय गोबिन्द सिंहको शव पोष्टमार्टमका लागि कञ्चनपुरको बेलबारीस्थित स्थानीय अस्पताल लगिएको छ । उनको पोष्टमार्टम पछि शव आफन्तलाई बुझाउने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले लोकपथलाई बताए ।
उनीहरुको साथबाट लागूऔषध ब्राउन सुगर ६.५ ग्राम, ह्वाइट सुगर २.५ ग्राम ब्ल्याक पाउडर ४ ग्राम र नक्कली नोट बनाउने मेसिन २ थान, ५०० को नक्कली भारतीय नोट ३ थान बरामद गरेको डीएसपी थापाले बताए ।
फरार ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया