काठमाडौं – सरकार र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहबीच भएको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय सभा गृह पुगेका छन् । उनी निकै उत्साहित र खुसी मुद्रामा देखिन्छन् । प्रधानमन्त्री र विप्लव समूहका महासचिव विप्लवसँगै मञ्चमा उक्लिएका थिए ।
अस्ती बुधवार बिहान र साँझ गरी दुई चरणमा र बिहिवार बिहान भएको सरकार र विप्लव समूहको बैठकमा ३ बुँदे सहमति भएसँगै आज सो सहमतिमा हस्ताक्षर गर्न प्रधानमन्त्री ओली राष्ट्रिय सभा गृह पुगेका हुन् ।
तीन चरणमा भएको वार्तामा सरकार र विप्लव समूहबीच विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई, मुद्दा खारेजी लगायतका विषयमा सहमति जुटेको छ । आज सो सहमतिपत्रमा हस्ताक्षरसँगै राष्ट्रिय सभा गृहमा भव्य समारोहका बीच नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका तर्फबाट दुई वर्षदेखि भूमिगत महासचिव नेत्र विक्रम चन्द विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ ।
लामो समयको कसरतपछि हिंसात्मक गतिविधिमा संलग्न सो समूहलाई शान्तिपूर्ण वार्ता र राष्ट्रिय राजनीतिमा ल्याउन सरकार सफल भएको छ । सरकारका तर्फबाट गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र विप्लव समूहको तर्फबाट प्रवक्ता समेत रहेका खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने ‘दिपक’ ले वार्ताको नेतृत्व गरेका थिए।
हिंसात्मक गतिविधिमा संलग्न समूहलाई वार्तामा ल्याई सहमति गराउन सफल भएको भन्दै यतिबेला सरकारको चौतर्फी प्रशंसा भइरहेको छ । यसअघि सरकारले तराईमा भूमिगत विखण्डनवादी समूह सिके राउतसँग पनि वार्ता गरी मूलधारको राजनीतिमा ल्याएको थियो ।
निरन्तर भइरहेको थियो विप्लवसँग वार्ताको प्रयास
वि.सं २०७५ फागुनदेखि प्रतिबन्ध लगाएर धरपकडको निर्देशन दिइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई वार्ताको लागि अनौपचारिक रुपमा आह्वान गर्दै आएको भएतापनि औपचारिक रुपमा भने सरकार र विप्लव समूहको वार्ता हुन सकेको थिएन । तर पछिल्लो केही दिनदेखि प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रमकाबीच दिएको अभिव्यक्तिले निकट भविष्यमा विप्लव समूह शान्तिपूर्ण बाटोमा फर्कन सक्ने संकेत गरेको थियो । पछिल्लो समय वार्ताको टेबलमा बस्न दुवै पक्ष तयार देखिएका थिए। स्रोतका अनुसार गृहमन्त्री थापाले परिचालन गरेको सूत्रमार्फत् यो वार्ता सम्भव भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया