आज धुम्बाराहीमा पूर्ववत् एमालेको साइनबोर्ड राखिने

लोकपथ
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन् । अदालतको फैसला लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली समूहले धुम्बाराहीमा नेकपा एमालेको नाम र साइनबोर्ड राख्ने भएको छ ।

सर्वोच्चको आइतवारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि पुराना दुई पार्टी ब्यूँतिएका छन् । २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गठन भएको थियो । तर त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताएको हो ।

(एमाले)को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ । एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो । कार्यालय सचिव ईश्वरी रिजालका अनुसार धुम्बाराहीस्थित एमालेको कार्यालयको नाम र साइनबोर्ड आज मंगलवार नै फेर्ने तयारी गरिएको छ । जिल्लास्तरमा पनि पहिले एमालेको कार्यालय भएको भवनमा एमाले कार्यालय नै रहने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?