कमला अर्याल/ काठमाडौं –पछिल्लो समय हरेक दिनजसो सुनको मूल्यमा गिरावट आइरहेको छ। कोरोना भाइरस ‘कोभिड – १९’ को खोप बनेपछि विश्वका लगानीकर्ताहरु अन्य क्षेत्रमा आकर्षित भएपछि सुनको मूल्यमा लगातार गिरावट आएको हो ।
गत फागुनको अन्तिम ताका सुरु भएको कोरोना भाइरस महामारीका रुपमा फैलिएका कारण विश्वको व्यापार व्यवसाय पूर्ण रुपमा प्रभावित भयो। अन्य क्षेत्रमा लगानी गर्ने अवसर नहुँदा सुनतर्फ आकर्षित भएका कारण सुनको मूल्य एकाएक आकासिएको थियो ।
पछिल्लो समय सुनको मूल्य ओरालो लाग्ने क्रमसँगै सुनको मूल्य १० महिना पहिलेकै मूल्यको हाराहारीमा आउन लागेको छ । गत वर्षको यसै अवधिमा सुनको मूल्य ८५ हजारको हाराहारीमा थियो । कोरोनाको खोप आएसँगै कोरोनाको प्रभाव पनि कम हुँदै गइरहेकाले विश्व बजारमा लगानीकर्ताहरु अन्य क्षेत्रतर्फ पनि आकर्षित बन्दै गइरहेकाले सुनको मूल्य ओरालो लाग्दै गएको छ।
कतिसम्म घट्छ मूल्य ?
विश्वमा सुनको भाउ ओरालो लागेसँगै नेपालमा पनि ७०/७५ हजारको हाराहारीमा झर्ने आँकलन गरिएको छ । तर सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले भने सुनको मूल्य ८० हजार भन्दा तल नझर्ने दाबी गरेका छन् ।‘मेरो व्यक्तिगत अध्ययनका आधारमा ८० हजार भन्दा तल घट्ने संकेत छैन ।’उनले भने ।
कोरोनाको बेला सबै क्षेत्रको लगानी सुनमा थुप्रिएका कारण मूल्य उच्च रुपले वृद्धि भएको र पछिल्लो सिनारियो परिवर्तन भएकाले सुनको मूल्यमा गिरावट आइरहेको उनले बताए ।
अमेरिकारका नवनिर्वाचित राष्ट्रपति जोय बाइडेनले पहिलो लगानी अमेरिकी जनतालाई कोरोना मुक्त बनाउन गरे ।
अमेरिकाले करिब एकहप्ता अघि मात्रै अमेरिकी अर्थतन्त्रलाई उच्चतम बिन्दुमा पु-याउन ग्रिन इनर्जी सोलार इनर्जी, मेडिकल इनर्जी, आर्थिक विकासका लागि आणविक विकासमा लगानी गर्ने योजना सार्वजनिक गरेको छ । त्यसका लागि चाँदी अत्याधिक रुपमा आश्यक पर्छ । त्यसैले अमेरिकाले सुन छोडेर चाँदीमा लगानी गर्ने योजना बनाएको छ ।
अमेरिकारको यस्तो निर्णयसँगै सुनको मूल्य घट्ने र चाँदीको मूल्य बढ्ने आँकलन व्यवसायीले गरेका छन् । त्यस्तै, ल्याक रक कम्पनी (सुन,चाँदी लगायत खानी अन्वेषण गर्ने कम्पनी) ले ७७५ मिलियन डलर हाराहारीको सुन बिक्रि गरेको थियो । ब्याक रक कम्पनीले सो सुन चाँदीमा लगानी गर्न बिक्री गरेको थियो । त्यसैले सुन सस्तो र चाँदी महँगो बन्दै जाने संकेत देखिएको व्यवसायीहरुको विश्लेषण छ । पछिल्लो समय यी कारणहरु अलि गौण बनेका छन् ।
अहिले बजारमा ठूलोमा मात्रामा सुन उठाउने कम्पनीहरु (बैंक लगायत) अन्य कम्पनीहरुले धमाधम सुन बेचिरहेका छन् । उनीहरुले परल मूल्य भन्दा पनि सस्तैमा सुन बेचिरहेका छन् । अहिले कोही सुन किन्न चाहँदैनन्,बेच्न चाहन्छन् । त्यसैले सुनको मूल्यमा लगातार गिरावट व्यवसायीहरु विश्लेषण गर्छन् ।
उपभोक्तालाई राहत
विश्वमा सुनको मूल्य ओरालो लागेसँगै त्यसको असर नेपाली बजारमा परेको छ । मूल्य घटेसँगै उपभोक्ताहरु राहत महशुस गर्न थालेका छन्। कोरोनाका बेला १ लाख नाघेको सुनको मूल्य ८० हजारको हाराहारीमा आएपछि उपभोक्ता सुन किन्न बजारमा भिड लाग्ने गरेका छन् । चर्को मूल्यका कारण विवाहमा समेत कम सुनले काम चलाउने गरेका उपभोक्ता मूल्य सस्तो हुने बित्तिकै सुन खरिद गर्न थालेको व्यवसायीको भनाई छ । सुन सस्तो हुँदा उपभोक्तालाई मात्रै होइन । व्यवसायीलाई पनि यसले फाइदा पु-याएको छ । कोरोनापछि खुलेको बजारमा मुस्किलले १० केजी बिक्री हुने सुन अहिले २०/२५ केजीको हाराहारीमा बिक्री भइरहेको छ । बजारमा बिक्री बढेपछि व्यवसायीले सरकारसँग सुनको कोटा बढाउन समेत माग गर्दै आएका छन् ।
सुनको मूल्य आज पनि गिरावट
नेपाली बजारमा आज (मंगलवार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
सोमवार प्रतितोला छापावाला सुनको मूल्य ८६ हजार २ सय रहेको थियो । त्यस्तै आज प्रतितोला सुनको मूल्य ६ सयले गिरावट आइ प्रतितोला ८५ हजार ६ सय कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ८५ हजार १ सय ५० रहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले गिरावट आएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य १२ सय ६५ रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य गिरावट आइ प्रतितोला चाँदी १२ सय ५५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया