जन्ती बोकेको गाडी दुर्घटना : १२ घाइते, २ जनाको अवस्था गम्भीर

लोकपथ
0
Shares

काठमाडौं । सप्तरी बर्साइन नगरपालिका ३ गौरामा जन्ती बोकेको गाडी दुर्घटना भएको छ । डेरीको पर्खालमा ठोक्किएर ना १ ज ८९३८ नम्बरको गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका ४५ वर्षीय बच्चालाल दास र २९ वर्षीय देवनारायण दासको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा र अन्य घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गाडी चालक २५ वर्षीय मुकेशकुमार चौधरी, ५० वर्षीय राम दास, ३५ वर्षीय शिवकुमार दास, २२ वर्षीय शंकर साह, २५ वर्षीय विजयकुमार यादव, २३ वर्षीय रबिनकुमार दास,, ३० वर्षीय जयप्रकाश साह, २३ वर्षीय चन्देश्वर साह, १७ वर्षीय तेजकुमार दास, १८ वर्षीय दीपककुमार यादव, सोही उमेरका कृष्णकुमार दास, १९ वर्षीय उमेशकुमार यादव घाइते भएका छन् ।

प्रहरीका अनुसार बिष्णुपुर गाउँपालिका १ बाट जन्ती बोकेर गएको गाडी बोदे बर्साइन नगरपालिका ८ तर्फ फर्किने क्रममा बोदे बर्साइन नगरपालिका ३ मा आफैं अनियन्त्रित भएर गाडी दुर्घटना भएको थियो ।

त्यस्तै, मंगलवार मध्यराती धादिङको बेनिघाट रोराङ गाउँपालिकाको तिङग्राङखानीबाट काठमाडौं आउँदै गरेको लु१ख ७७६२ नम्बरको ट्रक त्रिशुली नदीमा खस्दा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रक चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिकाको नाला घर भएका ४५ वर्षीय विष्णु घिमिरे र सोही ठाउँमा घर भएको ट्रकको सहचालक २८ वर्षीय सुमन सञ्जेल रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?