हिमाल आरोहण व्यवस्थित गर्न निर्देशिका, जथाभाबी फोटो/भिडियो खिच्न नपाइने

लोकपथ
0
Shares
तस्वीरःगूगल

काठमाडौं । सन् २०२१ को हिमाल आरोहण सिजन व्यवस्थित बनाउन पर्यटन विभागले निर्देशिका जारी गरेको छ । आज (मंगलवार) ११ बुँदे निर्देशिका जारी गर्दै विभागले हिमाल आरोहण सिजन थप व्यवस्थित बनाउन लागेको हो ।

निर्देशिका अनुसार अब पर्वतारोही दल र दलका सदस्यले सम्बन्धित आरोहण दलका गतिविधिबाहेक अरू फोटो भिडियो खिच्ने र प्रचारप्रसार नपाउने भएका छन् ।

आरोहण एजेन्सीका तर्फबाट पर्वतारोहणसम्बन्धी काम गर्नका लागि आधिकारिक व्यक्ति तोकेर पठाउनुपर्नेछ, पर्वतारोहणबाहेक अन्य गतिविधि गर्नुपर्ने भएमा विभागको अनुमति लिनुपर्नेछ, पर्वतारोहणमा जाने दल सम्बद्ध एजेन्सीले अनलाइन ब्रिफिङ भरेपछि मात्रै अनुमति पाउनेछन्, अनलाइन ब्रिफिङ भरेपछि मात्रै बल्ल डिब्रिफिङ प्राप्त हुने विभागले जनाएको छ ।

विभागका अनुसार अनुमतिपत्र जारी भएको मौसम समाप्त भएको १५ दिनपछि मात्रै आरोहणको प्रमाणपत्र जारी गर्ने काम शुरु हुनेछ, अनलाइन डिब्रिफिङ नभरेकाहरूले प्रमाणपत्र पाउने छैनन् ।

आरोहण दलका सम्पूर्ण सदस्यको यात्रा कार्यक्रम अनुमतिपत्र जारी गर्ने समयमा पेस गर्नुपर्नेछ, डिब्रिफिङ हुँदाका बखत आरोहण दलका सदस्य कुन माध्यमबाट काठमाडौं पुगे भन्ने जानकारी गराउनुपर्ने विभागद्वारा जारी निर्देशिकामा भनिएको छ ।

यस्तै आपत्कालीन उद्धार गरिएका पर्यटकलाई स्रोत साधनले भएको अस्पतालमा लैजानुपर्ने पर्यटन विभागले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?