काठमाडौं – डा. निलम तिमल्सिना (ढुंगाना) ले सायदै सोचेकी थिइन् होला, आफू कुनै दिन मुलुकको अर्थतन्त्र क्षेत्रको सल्लाहकारका रुपमा मानिएको नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर हुन्छु भनेर ।
मंगलवार (हिजो) मन्त्रिपरिषद्को बैठकले राष्ट्र बैंकका कार्यकारी निर्देशकद्वय निलम तिमल्सिना (ढुंगाना) र बमबहादुर मिश्रलाई डेपुटी गभर्नरमा नियु्क्त गरेपछि ढुंगानाले एउटा छुट्टै इतिहास रचेकी छन् । उनी खुसी हुँदै सरकारले आफ्नो कामको कदर गरेको प्रतिक्रिया दिएकी छिन् । उनी नेपालको इतिहासमा राष्ट्र बैंककै एक सशक्त र प्रभावशाली महिला कार्यकारी निर्देशक हुन् । जो प्रगतिपथमा लम्किरहेकी छिन् । डेपुटी गभर्नरका रुपमा ढुंगानाको नियुक्तिले एकातिर सरकारले माथिल्ला तहहरुमा महिलालाई समावेश गरेको चर्चा छ भने अर्कातिर ढुंगाना बैंकिङ क्षेत्रमा आवद्ध सम्पूर्ण महिला कर्मचारीहरुलाई एक आदर्श र हौसलाका रुपमा देखिएकी छिन् । नेपालको इतिहासमा अहिलेसम्म राष्ट्र बैंकमा कार्यरत कुनै पनि महिला कार्यकारी निर्देशक डेपुटी गभर्नरमा नियुक्ति भएका थिएनन् । यसअघि सरिता भट्ट अधिकारी कार्यकारी निर्देशकबाट सेवानिवृत भएकी थिइन् । उनी ३० वर्षे अवकाश नीतिका कारण सेवानिवृत भएकी थिइन् । यदि अधिकारी हालसम्म पनि कार्यरत भएको भए सायद उनी पनि डेपुटी गभर्नरका लागि दाबेदार मानिन्थिन् ।
पछिल्लो समय बैंकिङ प्रणालीमा महिलाको पहुँच माथिल्लो तहसम्म पुग्न थालेको छ। मेगाा बैंकले पनि अनुपमा खुञ्जेलीलाई पहिलो महिला सीईओ बनाएको थियो । अन्य महिलाहरु पनि बैंकको उच्च व्यवस्थापनमा क्रमिक रुपमा आइरहेका छन् । अझै त्यसैमाथि ढुंगाना डेपुटी गभर्नरको रुपमा आएपछि बैंकिङ क्षेत्रमा काम गर्ने आम महिला कर्मचारीले हौसला बढेको महसुस गरेका छन् ।
डेपुटी गभर्नर राष्ट्र बैंकको गभर्नर पछिको दोस्रो ठूलो र शक्तिशाली पद हो । जुन पद पछि गभर्नर नियुक्तिमा समेत दाबी गर्न सक्छ । यस्तो पदमा नियुक्ति पाएकी निलम साँच्ची नै राष्ट्र बैंककी भग्यमानी कर्मचारी हुन् । जीवनमा कहिल्यै पछाडि फर्कनु नपरेको उनलाई यसपालिको नियुक्ति भने विशुद्ध राजनीतिक भएको बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग डा. ढुंगाना नजिक थिइन् । राष्ट्रपति भण्डारीको सिफारिसमा उनलाई डेपुटी गभर्नर बनाइएको स्रोतको दाबी गर्छ । जे होस् ढुंगाना राष्ट्र बैंकको एक सफल र दक्ष जनशक्ति त हुँदै हुन् तमाम नेपाली नारीहरुको लागि सिंगो सन्देश हुन् । उनले नेतृत्व गरेको क्षेत्र सफल रहने अनुमान अधिकांशले गरेका छन् ।
को हुन् डा. निलम ?
राष्ट्र बैंकमा हाल एकमात्र महिला कार्यकारी निर्देशकको रुपमा कार्यरत डा. निलम तिमल्सिना ढुंगानाले २०५४ मंसिर २२ गतेदेखि राष्ट्र बैंकमा जागिर शुरु गरेकी थिइन् । व्यवस्थापनमा विद्यावारिधि गरेकी ढुंगाना २०७४ साल फागुन २५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएकी थिइन्। हाल उनी राष्ट्र ऋण व्यवस्थापन विभागमा कार्यरत छिन् । सोअघि उनी आन्तरिक लेखा परीक्षण विभागमा थिइन् । उनी वरियताको हिसाबले तेस्रो नम्बरको कार्यकारी निर्देशक हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया