काठमाडौं । नेपाल राष्ट्र बैंकले नवनियुक्त डेपुटी गभर्नरहरुको कार्यविभाजन गरेको छ ।
बुधवार अपरान्ह पदभार ग्रहण गरेसँगै राष्ट्र बैंकले डेपुटी गभर्नरहरुद्धय निलम ढुंगाना र बम बहादुर मिश्रको कार्य विभाजन गरेको हो ।
पहिलो बरियताका निवर्तमान डेपुटी गर्भर चिन्तामणि शिवाकोटीले सम्हाल्दै आएका विभागहरु ढुंगानाले सम्हाल्ने भएकी छिन् । त्यस्तै, दोस्रो बरियताका निवर्तमान डेपुटी गभर्नर शिवराज श्रेष्ठले सम्हालेका विभागहरु मिश्रलाई दिइएको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था नियमन विभाग, विदेशी विनिमय विभाग,राष्ट्र ऋण व्यवस्थापन विभाग,मुद्रा व्यवस्थापन विभाग, भुक्तानी प्रणाली विभाग,जनशक्ति व्यवस्थापन विभाग, सामान्य सेवा विभाग तथा संस्थागत योजना विभाग डेपुटी गभर्नर ढुंगानाको भागमा परेको छ । यी विभागमध्ये बैंक तथा वित्तीय संस्था नियमन विभाग सबैभन्दा शक्तिशाली विभाग हो ।
त्यस्तै,अर्का डेपुटी गभर्नर मिश्रले वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त संस्था गरी चारवटै क्षेत्रका सुपरिवेक्षण विभाग हेर्नेछन् । त्यस्तै,वित्त व्यवस्थापन विभाग,बैंकिङ विभाग,अनुसन्धान विभाग र प्रदेश कार्यालयहरुको जिम्मेवारी मिश्रलाई दिइएको छ । सूचना प्रविधि महाशाखा पनि मिश्रले नै हेर्ने छन् ।
ढुंगाना बरियतामा पहिलो र मिश्र दोस्रोमा रहेका छन् । पहिलो वरियतामा रहकी ढुंगाना गभर्नरको अनुपश्थितिमा कामु गभर्नर समेत हुन पाउने छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया