जसपा सत्ता समीकरणको ‘मुसादौड’मा नभएको भट्टराईको स्पष्टोक्ति

लोकपथ
0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइले आफ्नो पार्टी नयाँ सत्ता समीकरणको दौडमा नरहेको स्पष्ट पारेका छन् । जसपाका अन्य शीर्ष नेता सत्ता गठबन्धनका लागि दौडधूप गरिरहेका बेला बिहीवार राति ट्वीट गर्दै भट्टराईले फरक प्रतिकृया दिएका हुन् ।

बिहीवार बालुवाटार पुगेर प्रधानमन्त्रीसँग नयाँ सत्ता समीकरणबारे छलफल गरेका जसपाका नेताहरुले कांग्रेस र नेकपा माओवादी केन्द्रसँग पनि सत्ता साझेदारीका लागि छलफल गरिरहेका छन् । तर भट्टराईले भने सत्ता समीकरणको खेललाई ‘मुसादौड’ भन्दै पार्टीका अन्य नेताहरुको दौडधुपप्रति असन्तुष्टि जनाएका हुन् ।

अदालतको कृपाले अलिकति लाज बचेको बेला पुन: उही ‘म्युजीकल चेयर’को खेलमा लागेको भन्दै उनले राजनीतिक दल र नेताहरुको भूमिका अपेक्षित नभएको टिप्पणी गरेका छन् ।

“देश यति गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन है! अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुन:उही म्युजीकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने,आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त!जसपा त्यो मुसादौडमा छैन है!” भट्टराईले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?