मुठभेडको अवस्थामा नेकपा एमाले

लोकपथ
0
Shares

काठमाडौं- एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र माधवकुमार नेपाल समूहलाई पूर्णतः निषेध गरेर अघि बढ्ने तयारी थालेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो आफू निकट केन्द्रीय सदस्यहरूलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएर केन्द्रीय कमिटी बैठक राखेका थिए।सोही बैठकले नेपाल समूहका नेताहरूलाई जिम्मेवारीविहीन बनाउँदै विभिन्न विभागमा हेरफेर समेत गरेको छ ।

ओली पक्षले नेता नेपाल समूहलाई निषेध गर्न थालेपछि एमालेभित्र मुठभेडको अवस्था देखिएको छ । ओलीको यस्तो रबैयाविरुद्ध नेपाल पक्षले राष्ट्रिय भेला बोलाउने अवस्थामा पुगेको छ ।

नेपाल समूहमा रहेका एमाले सचिव योगेश भट्टराईले ओली पक्षको निषेधविरुद्ध विचलित नभई दृढतापूर्वक अघि बढ्ने बताएका छन् । उनले ओली पक्षले पार्टीभित्र गरेको निषेधको राजनीतिको सशक्त प्रतिवाद हुने बताए । ‘विचलित नहौं, धैर्य र संयम नगुमाऔं, सही र सशक्त ढंगले प्रतिवाद गरौं, पार्टीभित्र एकताको विकल्प छैन, अतिवादको अन्त्य हुनेछ नेता भट्टराईले बताए ।

नेपाल पक्ष ओलीको मनपरीविरुद्ध पार्टीभित्रै बसेर संघर्ष गर्ने तर हार नखाने मनस्थितिमा छ । ओली पक्षले गरेको एकलौटी निर्णय नमान्ने पनि नेपाल पक्षले जनाएको छ । ओली पक्षले बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएपछि नेता नेपालले पनि आफू निकट नेताहरूसँग छलफल गरे ।

छलफलमा सहभागी नेताहरूले पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने र ओली पक्षले एकलौटी गर्न खोजे प्रतिवाद गर्नुपर्ने धारणा राखेको स्रोतले बतायो । नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको साँझ बसेको बैठकले ओलीबाट एकलौटी गरिएको जिम्मेवारी हेरफेर अस्वीकार गर्दै सशक्त प्रतिवाद गर्न राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?