काठमाडौं- नयाँ सरकार गठनका विषयमा नेकपा माओवादी केन्द्र र जसपाबीच छलफल सुरु भएको छ। माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बैठक सुरु भएको हो । यसअघि शुक्रवार जसपा र एमाले तथा जसपा र कांग्रेसबीच पनि छलफल भएको छ। ओली सरकार टिकाउन तथा नयाँ गठबन्धनका लागि जसपा निर्णयक जस्तै भूमिकामा रहेको छ । तर जसपाले कसलाई सहयोग गर्ने भन्नेमा अहिलेसम्म स्पष्ट भइसकेको छैन ।
जसपामा एक समूहले ओली सरकारमा जानुपर्ने धारणा राख्दै आएको छ भने अर्को समूह विशेषगरी उपेन्द्र यादव र बाबुराम भट्टराई लगायतले ओली सरकारमा जान नहुने धारणा राख्दै आएको छ । साथै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न जनता समाजवादीका नेता महन्थ ठाकुर र डा. बाबुराम भट्टराई पेरिसडाँडा पुगेका छन् ।
शनिवार बिहानै दाहाललाई भेट्न उनीहरू पेरिसडाँडा पुगेका हुन् । उनीहरूबीच सत्ता समीकरणलगायतका विषयमा छलफल हुने बताइएको छ । जसपाले शुक्रवार नेपाली कांग्रेससँग पनि छलफल गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया