माओवादी केन्द्रको बैठक ११ बजे बस्दै, यी विषयमा छलफल हुने

लोकपथ
0
Shares

काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक आज ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्‍न लागेको स्थायी समिति सदस्य लिलामणि पोखरेलले जानकारी दिए ।

बैठकमा एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको आगामी रणनीतिबारे छलफल हुने स्थायी समिति सदस्य पोखरेलले जानकारी दिए ।

संसद्, सरकार, पार्टी विभाजन, अदालतको फैसला, कतिपय अवस्थामा पार्टी नेताहरूलाई गर्ने कारबाही गर्ने एजेण्डा तय भएका छन्,’ स्थायी समिति सदस्य पोखरेलले भने, ‘अन्य एजेण्डाहरूमा पनि छलफल हुन्छ ।माओवादीको शनिवार बसेको स्थायी समिति बैठकले आज केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

स्थायी समिति बैठकले सरकारमा रहेका ७ मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । पोखरेलले व्यक्तिगत रूपमा नेताहरूलाई सोधिएको स्पष्टिकरणको पत्र पठाइसकिएको र सरकारी कार्यालय शनिवार भएकाले बन्द रहेको हुँदा आज पठाइने जानकारी दिए ।

माओवादीबाट अहिले गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्यमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापासहित २३ नेतालाई शुक्रवार केन्द्रीय सदस्य मनोनित गरेका थिए ।

एमाले केन्द्रीय सदस्यमा मनोनित भएका ती नेताहरूलाई दल त्याग गरेका हुन् वा होइनन् स्पष्ट पार्न स्पष्टिकरण पत्रमा भनिएको केन्द्रीय कार्यालयले जानकारी दिएको छ । माओवादीले कारबाही गर्‍यो भने उनीहरुको सांसद पद पनि स्वतः जाने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?