काठमाडौं । सिरहाको जिल्ला मालपोत कार्यलय लहानमा बम विस्फोटमा गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।
बम विस्फोटमा गम्भीर घाइते भएका दिनेश कुमार भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं रिफर गरिएको हो ।
बम विस्फोटमा ८ जना घाइते भएका छन् । घटनास्थलमा जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) लेखिएको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।
आज बिहानमात्र गोइत समूहका नेता रामविलाश यादवले आत्मसमर्पण गरेका थिए । यादव गोइत समूहका सेकेण्ड म्यान (नाइके) रहेका थिए । यादवले साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाउँदै आत्मसमर्पण गरेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राजभण्डारीले बताए ।
यादवको आत्मसमर्पणलाई लिएर नै समूहका असन्तुष्ट पक्षले विस्फोट गराएको हुनसक्ने प्रहरीको आशंका गरेको छ ।
मध्यान्न करिब १२:४० बजे मालपोत कार्यालयको दोस्रो तलामा अज्ञात समुहले बम विष्फोट गराएको र विष्फोटपछि आगलागी हुँदा कार्यालयको कागजात जेलेको प्रहरीले बताएको छ ।
प्रारम्भिक अनुसन्धानबाट प्रेशर कुकर बम विष्फोट गराएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया