घरको भित्ता भत्काएर सुतिरहेकी चौधरीमाथि छुरा प्रहार, २ जना प्रहरी नियन्त्रणमा

लोकपथ
0
Shares

काठमाडौं । वीरगंज जिल्लाको पर्सागढी नगरपालिका–३ पकडिया बडनिहारको मुशहर टोलमा एक महिलामाथि छुरा प्रहार भएको छ । घरमा सुतिरहेको बेला ४५ वर्षीया लक्ष्मीनियादेवी चौधरीमाथि छुरा प्रहार भएको हो ।

दुई जनामा आएको समूहले खर र माटोले बनेको घरको भित्ता भत्काएर घरभित्र छिरि चौधरीमाथि छुरा प्रहार गरेका जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक (डीएसपी)ओम प्रकाश खनालले लोकपथलाई बताए ।

‘छुरा प्रहारबाट चौधरीको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।’ उनलाई उपचारको लागि नारायणी अस्पताल पठाइएको डीएसपी खनालले बताए ।

‘घाइते चौधरीको स्वास्थ्य अवस्था मध्यम रहेको छ । नारायणी अस्पतालमा उहाँको उपचार भइरहेको छ । सामान्य बोल्न सक्ने अवस्था हुनुहुन्छ ।’ उनले भने ।

प्रहरीले छुरा प्रहार गरेको कसूरमा एकजना नाबालकसहित दुई जनालाई शंकाको आधारमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साले एकजना १७ वर्षीय नाबालक र अर्का २१ वर्षीय एक जनालाई आधारमा पक्राउ गरिएको र अनुसन्धान भइरहेको जनाएको छ ।

घटना किन भयो भन्ने बारे कारण नखुलिसकेको खनालले बताए ।

‘घाइते चौधरीको बयान लिएपछि घटनाको कारण खुल्छ । घाइते अहिले अस्पतालमा हुनुहुन्छ । उपचार भइरहेको छ छिट्टै अपराधिलाई सार्वजनिक गर्छौँ ।’ डीएसपी खनालले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?