ईपीएस परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेकाको म्याद ६ महिना थप्ने विभागको तयारी

लोकपथ
0
Shares

काठमाडौं । वैदेशिक रोजगार विभागले कोरियन भाषा (ईपीएस) परीक्षा उत्तीर्ण गरी कोरिया जान रोस्टरमा नाम दर्ता भएकाहरुको ६ महिना म्याद थप्ने तयारी गरेको छ । विभागले कोभिड १९ का कारण कोरिया जान नपाएका रोस्टरमा नाम दर्ता भएकाहरुको ६ महिना म्याद थप्ने तयारी गरेको हो ।

कोभिड १९ पछि श्रम सम्झौता भएरपनि जान नपाएका साढे ७ हजार कामदारलाई पठाउने गरी तयारी थालेको पनि वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले जनाएको छ । जसमध्ये साढे पाँच हजार नियमिततर्फका छन् भने विगत तीन वर्षमा भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा नाम चढेर पनि कोरिया जान नपाएका करिब १५ सय जना छन् । ६ महिना समय थप रोकिएका सबै जान पाउने विभागले जनाएको छ ।

ईपीएस परीक्षा उत्तीर्ण गरेको दुई वर्षसम्म मात्र रोस्टरमा नाम रहने व्यवस्था छ । दुई वर्ष नाघेमा फेरि भाषा परीक्षा दिएर उत्तीर्ण हुनुपर्ने हुन्छ ।

सन् २०१९ देखि कोरियन भाषा उत्तीर्ण गरेका कामदार जान पाएका छैनन् । कामदार पठाउन कोरियाको श्रम मन्त्रालयसँग छलफल भइरहेको पनि विभागले जनाएको छ । कोरोनाका कारण कोरियाले अरु मुलुकबाट श्रमिक लगेको छैन । यता नेपाल सरकारले पनि वैदेशिक रोजगारीमा जाने कामदारका हकमा गत वर्षको फागुनको अन्तिम सातादेखि नै श्रम स्वीकृति जारी गर्न बन्द गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?