काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशकहरुको विभाग हेरफेर गरेको छ ।
राष्ट्र बैंकले ९ जना कार्यकारी निर्देशकको विभाग हेरफेर गरेको हो । सरकारले राष्ट्र बैंकमा रिक्त रहेका दुई जना डेपुटी गभर्नरको नियुक्ति गरेर उनीहरुले कार्यभार सम्हालेपछि राष्ट्र बैंकले कार्यकारी निर्देशकहरुको विभाग हेरपफेर गरेको हो ।
बम बहादुर मिश्र र निलम ढुङगाना डेपुटी गभर्नर भएपछि २ जना निर्देशकलाई कायम मुकाय निर्देशक बनाइएको छ । राष्ट्र बैंकका अनुसार कार्यकारी निर्देशक डा.प्रकाश श्रेष्ठ आर्थिक अनुसन्धान विभागमा सरुवा भएका छन् । श्रेष्ठ यसअघि लघुवित्त वित्तीय संस्था सुपरिवेक्षणका प्रमुख थिए । श्रेष्ठ काजमा अर्थमन्त्रालय गएका थिए । उनी डेपुटी गभर्नरमा पक्का हुने चर्चा थियो ।
त्यस्तै,सोही विभागमा रहेका राष्ट्र बैंकका प्रवक्ता समेत रहेका डा.गुणाकर भट्ट बैंक सुपरिवेक्षण विभागमा सरुवा भएका छन् । त्यस्तै, बैंक सुपरिवेक्षण विभागमा रहेका कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीको वित्त व्यवस्थापन विभागमा गएका छन् । त्यस्तै, यसअघि विकास बैंक सुपरिवेक्षणमा रहेका कार्यकारी निर्देशक ऋषिकेश भट्टको सम्पती तथा सेवा व्यवस्थापन विभागमा सरुवा भएको छ । साथै, वित्त व्यवस्थापन विभागीय प्रमुख रहेका कार्यकारी निर्देशक प्रदीपराज पौड्यालको विकास बैंक सुपरिवेक्षण विभागकोे जिम्मेवारी पाएका छन् ।
यसैगरी कार्यकारी निर्देशक नरेश शाक्य राष्ट्र ऋण व्यवस्थापन विभागमा सरुवा भएका छन् । यसअघि उनी बैंकिङ विभागमा कार्यरत थिए । अहिले बैंकिङ विभागमा रामबहादुर मानन्धरलाई ल्याइएको छ । त्यस्तै,सम्पती तथा सेवा व्यवस्थापन विभागमा रहेका कार्यकारी निर्देशक सुमन कुमार अधिकारीको लघुवित्त संस्था सुपरिवेक्षणमा तथा जनशक्ति विभागमा रहेका कार्यकारी निर्देशक रामु पौडेल विदेशी विनिमय व्यवस्थापन विभागमा सरुवा भएका छन् ।
त्यस्तै, मुद्रा व्यवस्थापनमा रहेका निर्देशक दयाराम शर्मा पंगेनीलाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा कायम मुकायम कार्यकारी निर्देशक तथा जनशक्ति व्यवस्थापन विभागमा रहेका निर्देशक तुलसीप्रसाद घिमिरेलाई जनशक्ति विभागमा कामु कार्यकारी निर्देशकमा सरुवा गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया