विद्यालयको भवन नहुँदा विद्यार्थीहरु भुइंमा बसेर पढ्न बाध्य

लोकपथ
0
Shares

चितवन – एक सरकारी विद्यालयमा कक्षाकोठा अभावका कारण विद्यार्थीहरु भुइ्र्रंमा बसेर पढ्नु पर्ने बाध्यता रहेको छ । भरतपुर महानगरपालिका–४ को श्री राष्ट्रिय आधारभूत विद्यालयमा नर्सरीमा पढ्ने बालबालिकालाई भुइंमा नै राखेर पढाउने गरिएको हो । विद्यालयमा २ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् तर नर्सरीमा पढ्ने बालबालिकालाई भुइंमै राखेर पढाउन बाध्य भएको विद्यालयका प्रधानाध्यापक धीरबहादुर थापाले जानकारी दिनुभएको छ ।

नर्सरीका विद्यार्थीलाई चौरमा नै राखेर पढाएका छौँ”, उहाँले भन्नुभयो, “कोठा नै पुग्दैन, भुइंमा राख्न बाध्य छौं । विसं २०२४ मा बनाइएको विद्यालय भवन जीर्ण भइसकेको छ । भवनको छतबाट प्लास्टर उप्किएको छ । कक्षाकोठाका भित्ता चिराचिरा परेका छन् । शिक्षक वा विद्यार्थी को–को घाइते हुने हुन् भनेर सधैं मनमा त्रास भइरहन्छ”, प्रअ थापाले भन्नुभयो ।

विसं २०१९ मा स्थापना भएको यो विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ भइरहेको छ । विद्यालयमा तीन जनाको मात्रै सरकारी दरबन्दी छ । चार निजी स्रोतका शिक्षक छन् । आन्तरिक स्रोत नहुंदा उनीहरुलाई तलब दिन धौधौ छ । विद्यार्थीसँग उठाउने सामान्य रकम, विभिन्न दाताको सहयोगबाटै शिक्षकलाई जति सकिन्छ उति तलव दिने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम सापकोटाले बताउनुभयो । शिक्षकहरुलाई भनेजति तलव दिने स्रोत नै छैन, सहयोग गर्नुस् भनेर अत्यन्तै कम रकममा काम लगाएका छौँ, यसोभन्दा मलाई निकै दुःख लाग्छ”, अध्यक्ष सापकोटाले भन्नुभयो ।

गत वर्ष भरतपुर महानगरपालिकाले दरबन्दी विद्यार्थी कम भएको भनेर दुई जनाको कटौती गरेको थियो । काटेको दरबन्दी विद्यार्थी सङ्ख्याका आधारमा फिर्ता गर्न भनेर आग्रह गर्दा पनि महानगरको शिक्षा शाखाले नसुनेको गुनासो विद्यालयको छ । भरतपुर महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलले विद्यालयको समस्याबारे जानकार रहेको र आगामी वर्षको बजेटमा भवन बनाउने रकम राखिने बताउनुभयो । विद्यालयको एक विघा नौ धुर जग्गा छ । यसको उपयोग गरेर आन्तरिक आम्दानी हुन थालेपछि विद्यालयमा नेतृत्व हत्याउन भने तंछाडमछाड हुने गरेको अध्यक्ष सापकोटा बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?