सुनको आपूर्ति बढाउन राष्ट्र बैंक सकारात्मक

काठमाडौं । सुनको आपूर्ति बढाउन नेपाल राष्ट्र बैंक सकारात्मक भएको छ ।

बजारमा सुनको चरम अभाव देखिन थालेपछि कोटा वृद्धि गर्न राष्ट्र बैंक तयार भएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरुसँग बुधवार भएको भेट कार्यक्रममा राष्ट्र बैंकका बरिष्ठ डेपुटी गभर्नर डा.नीलम ढुंगाना (तिम्सिना)ले सुनको आपूर्ति बढाउन राष्ट्र बैंक सकारात्मक रहेको बताइन् ।

उनले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भैरहेको जनाउँदै केही दिन भित्रै यस विषयमा निर्णय हुने जानकारी दिइन् । माग र आपूर्तिवीच चरम असन्तुलन देखिएको भन्दै अहिलेको बजारको वास्तविक मागका बिषयमा ब्यवसायीहरुसँग चासो राखेकी थिइन् ।

व्यवसायीले अहिले बजारमा दैनिक ३० किलोको हाराहारीमा सुनको माग रहेकोले सोही परिमाणमा सुन उपलब्ध गराउन माग गरे । पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?