बारा- जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ का १४ वर्षीय किशोर शाहीद हुसेन अन्सारीको हत्या गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ।छिमेकीको विवाह भोजमा गएका किशोर फागुन ११ गतेदेखि हराइरहेका थिए। फागुन २८ गते गाउँमै उद्योगले फ्याँकेको कालो छाइमा उनको हत्या गरि फालिएको थियो। शव भेटिएको ५ दिनपछि प्रहरीले किशोरको योजनाबद्ध ढंगले हत्या भएको दावीसहित ३ जनालाई पक्राउ गरेको हो। हत्यामा संलग्न ३ जना नै सोही गाउँका हुन्।
प्रहरीले जीतपुरसिमरा–२३ भलुही टोलका २५ वर्षीय कियामुद्दिन मन्सुरी, २१ वर्षीय अफसान भनिने अमर हुसेन मियाँ हजाम र १९ वर्षीय आवेदिन मियाँ अन्सारीलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ। प्रहरीका अनुसार शाहीद हराएको अघिल्लो दिन नै अभियुक्तले हत्या योजना बनाएको र फागुन ११ गते नै उनको हत्या भएको खुलेको छ।
पक्राउ परेका ३ जना शाहीदसँगै लागूऔषध सेवन गर्ने साथी भएको पनि प्रहरीले बताएको छ। पारिवारिक र जग्गा जमिनसम्बन्धी विवादको रिसइबी र लागुपदार्थ सेवनपछि निम्तिएको आपसी विवाद, प्रेम सम्बन्ध तथा आर्थिक लाभका लागिसमेत हत्या भएको देखिएको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जनाएका छन्। हत्यापछि अभियुक्तहरूले शाहीदको शवलाई घिसार्दै नजिकै फोहोर थुपारिएको खाडलमा फालेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया