मोरङ- विराटनगर उपमहानगरपालिकाका संस्थापक मेयर एवं कांग्रेस नेता अशोक कोइरालाको निधन भएको छ। कोइराला परिवारका हस्तीमध्येका एक मानिने उनको ७७ वर्षको उमेरमा बिहीबार बिहान १ बजे न्युरो अस्पतालमा निधन भएको कांग्रेस मोरङ क्षेत्र नम्बर ४ का सचिव सन्तनु रेग्मीले जानकारी दिए । उनका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि कोइरालालाई उपचारका लागि बुधबार बिहान २ बजेतिर अस्पताल लगिएको थियो। तर अस्पताल भर्ना गरिएको २४ घण्टा पुग्न नपाउँदै कोइरालाको मृत्यु भएको हो।
रेग्मीले उपचारमा संलग्न चिकित्सकले बिहान १ बजेतिर कोइरालालाई मृत घोषित गरेको जानकारी दिए। ‘स्वास्थ्यमा समस्या देखिनसाथ उपचारका लागि अस्पताल पुर्याइएको थियो,’ उनले भने, ‘चिकित्सकले धेरै प्रयास गर्दा पनि बचाउन सम्भव नहुँदा कांग्रेसको एउटा धरोहर ढल्यो।’ सचिव रेग्मीका अनुसार यसअघिसम्म स्वास्थ्यमा त्यस्तो कुनै समस्या नदेखिएका कोइरालामा पछिल्लो समय निमोनियाको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
नेपाली कांग्रेस मोरङका पूर्वसभापतिसमेत रहेका कोइराला संविधानसभा सदस्य एवं राष्ट्रिसभाका पूर्वउपाध्यक्ष पनि हुन्। नेपाली कांग्रेस महासमिति सदस्य रहेका कोइराला २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको पहिलो मेयरमा विजयी थएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया