काठमाडौं- जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । पछिल्लो राजनीतिक अवस्थामा सत्ता समीकरणका लागि संसदमा सानो तर महत्वपूर्ण संख्या रहेको दल जनता समाजवादी पार्टीको आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । बिहान ११ बजेका लागि जसपाले बैठक डाकेको छ । उक्त बैठकले नेकपा एमाले नेतृत्वको वर्तमान सरकारलाई सघाउने अथवा तीन दलीय गठबन्धन बनाएर नयाँ सरकार बनाउने भन्ने विषयमा निर्णय हुने राजपाका एक नेताले बताएका छन् ।
तर, जसपामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नरम र विरोधी गरी प्रष्ट दुई धार रहेको छ । तत्कालीन संघीय समाजवादी तर्फका नेताहरु ओलीविरोधी कित्तामा रहेका छन् भने तत्कालीन राजपा तर्फका नेताहरु ओलीको समर्थनको पक्षमा रहेका छन् ।
संसदमा संख्या थोरै भएपनि अहिले ओलीलाई सरकार टिकाउन अथवा कांग्रेस माओवादीलाई नयाँ सरकार बनाउनका लागि जसपाको मुख्य भूमिका रहन्छ । त्यसैले जसपाको आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया