काठमाडौं । इंग्लिस क्लब चेल्सी सात वर्षपछि च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधवार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई २-० ले पराजित गर्दै चेल्सीले अन्तिम आठमा प्रवेश गरेको हो ।
चेल्सी समग्रमा ३-० को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा चेल्सीले एट्लेटिकोलाई १-० ले पराजित गरेको थियो ।
घरेलु मैदानमा भएको दोस्रो लेगमा चेल्सीलाई जित दिलाउन हाकिम जिएच र इमर्सनले एक एक गोल गरे । खेलको ३४ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । ८२ औं मिनेटमा स्टेफान साभिकले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको ।
त्यसपछि खेलको इन्जुरी समयमा इमर्सनले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए । उनको यो च्याम्पियन्स लिगमा पहिलो गोल हो ।
यससँगै चेल्सी सात वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । चेल्सी सन् २०१३-१४ को सिजनपछि पहिलो पटक क्वाटरफाइनलमा पुगेको हो ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया