राष्ट्र बैंक भन्छ – ब्याजदर घट्यो, बैंक भन्छन् – बढ्दैछ, खास कुरा के हो ?

लोकपथ
0
Shares

काठमाडौँ – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको जनाएकोछ ।

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिना (माघ) सम्मको वर्तमान आर्थिक अवस्थाको विवरणले वाणिज्य बैंकहरुको ब्याजदर घटेको देखाएको छ । यस अवधिमा वाणिज्य बैंकहरुको औसत आधार ब्याजदर निकै घटेको देखिएको छ ।

राष्ट्र बैंकका अनुसार गत वर्षको तुलनामा २.४८ प्रतिशत बिन्दुले आधार दर घटेको छ । अघिल्लो वर्षको माघमा आधारब्याज दर ९.४५ प्रतिशत थियो । यसपाली ६.९७ प्रतिशतमा झरेको छ । लकडाउनपछि बैंकिङ प्रणालीमा २०० अर्ब भन्दा बढी तरलता थियो । तरलता फालाफाल भएका कारण बैंकहरुले निक्षेपको ब्याज निकै घटाएका थिए । जसका कारण बैंकहरुको आधार दर कम भएको हो ।

यस अवधीमा निक्षेपको औषत भारित दर ४.८६ प्रतिशत कायम भएको छ । ऋणको औषत दर ८.८९ प्रतिशत कायम भएको छ । अघिल्लो बर्ष माघमा निक्षेप ६.७८ प्रतिशत थियो भने ऋण ११.९४ प्रतिशत थियो ।

एकातिर राष्ट्र बैंकले ब्याजदर घटेको देखाएको छ । अर्कातिर अहिले प्रणालीमा तरलता कम हुँदा बैंकहरुले ब्याजदर बढाइरहेका छन् । केही वाणिज्य बैंकहरुले चैत १ (आइतबार) देखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरिसकेका छन् भने कतिपय बैंकहरु ब्याजदर सार्वजनिक गर्ने तयारीमा छन् । प्रणालीमा तरलता कम हुन थालेपछि बैंकहरुले आकर्षक ब्याजदरमा निक्षेप तान्न थालेका हुन् । विगतका वर्षहरुमा पनि बैंकहरुले पुस-माघ ताका तरलता कम भएका बेला आकर्षक ब्याजकदरमा निक्षेप तानातान गर्थे । यस वर्ष पनि प्रणालीमा तरलता कम हुँदै गएपछि बैंकहरुले निक्षेप तान्न आकर्षक ब्याजदर सार्वजनिक गरिरहेका छन् ।

हालै मात्रै नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नबिलको नयाँ ब्याचजदर अनुसार ब्यक्तिगत मुद्दति खाताको ब्याज दर बढेको छ । बैंकले ६ महिनाभन्दा माथिको मुद्दति खातामा बार्षिक ७.५१ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । बैंकले यसअघि मुद्धति निक्षेपमा ७ प्रतिशत ब्याज दिएको थियो । छोटो अवधिको निक्षेपमा यो प्रचलित ब्याजदरमा अधिकत ब्याज हो ।

केही बैंकले एक बर्षे मुद्दतिमा साढे चार प्रतिशत ब्याज दिइरहेका बेला नबिलले साढे ७ प्रतिशतभन्दा बढि दिने घोषणा गरेको हो ।

त्यस्तै,कुमारी र नेपाल एसबिआई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरिसकेका छन् । कुमारी बैंकले मुद्दतिको ब्याज दर बढाएको छ । बैंकले तीन महिनादेखि एक वर्षसम्म अवधिको मुद्दति निक्षेपको ब्याज आधा प्रतिशत बिन्दुले बढाएको छ । ६ प्रतिशतको ब्याजलाई बैंकले साढे ६ प्रतिशत पु-याएको छ । यो व्यक्तिगत मुद्दतिकर्तालाई दिने ब्याज हो ।

बैंकले संस्थागत मुद्धतिको ब्याजदर अझै बढीले बढाएको छ। बैंकको नयाँ ब्याजदर अनुसार तीन महिनाभन्दा माथिका सबै संस्थागत मुद्दति निक्षेपको ब्याज ७ प्रतिशत पु-याएको छ।

यसअघि बैंकले ३ महिनादेखि ६ महिनासम्मको ब्याज ४.७५ प्रतिशत, ६ महिनादेखि एक बर्षसम्म ५.२५ प्रतिशत, पाँच बर्षसम्मकोमा ६.७५ प्रतिशतसम्म ब्याज थियो । बैंकले बचत खाताको र ऋणको ब्याजदर भने बढाएको छैन । त्यसैगरी नेपाल एसबीआई बैंकले बचत खातामा न्यूनतम ०.२५ प्रतशितदेखि अधिकतम ३.१६ प्रतिशतसम्म ब्याजदर घोषणा गरेको छ । माघ महिनामा बैंकको आधारदर ७.३१ प्रतिशत छ । कर्जा लगानी गर्दा सो आधारदरमा १.२५ प्रतिशतदेखि ५ प्रतिशतसम्म लिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?