काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको हेडबक्स’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पानी सुरुङमा पथान्तरण गर्नुअघि पानीको प्रारम्भिक प्रशोधनका लागि हेडबक्सको निर्माण भइरहेको छ । अहिले नदीको पानीलाई सीधै सुरुङमा हालिएको छ ।
हेडबक्सको निर्माण लगभग दुई महिनामा तयार हुनेछ । हेडबक्स तयार नभए पनि चैत १५ देखि परीक्षणको काम भने जारी नै रहने छ । आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले डिसेम्बरमै हेडबक्स’ निर्माण सम्पन्न गर्ने अन्तिम समयावधि रहे तर कोभिड–१९ को महामारीका कारण काम सम्पन्न हुन नसकेको र छ महिना थप गरिएको जानकारी दिए ।
अहिले हेडबक्सको भौतिक काम पूरा भइसकेको छ, त्यहाँ जडान गर्नुपर्ने कतिपय हाइड्रो मेकानिकल उपकरण, स्वचालित यन्त्र तथा विद्युतीकरणसम्बन्धी उपकरण विदेशबाट आउने क्रममा छन् । आउने बित्तिक्कै जडान कार्यसँगै हेडबक्सको सम्पूर्ण काम सम्पन्न हुनेछ । हेडबक्समा सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन (स्काडा) प्रणाली जडानको कामसमेत भइरहेको छ । यो खबर गोरखापत्र दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया